Comments Add Comment

संशोधन बिधयेक अस्वीकार गर्नु मोर्चाको महाभूलः प्रधानमन्त्रीका सल्लाहकार

मोर्चाको निर्णय चुनावी हतियार मात्रै होः मन्त्री केसी

३० चैत, काठमाडौं । प्रधानमन्त्री प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले सहमतिमा सरकारले ल्याएको संशोधन विधयेक अस्वीकार गर्नु मधेसी मोर्चाको महाभूल भएको टिप्पणी गरेका छन् ।

बुधबार रिपोर्टर्स क्लवमा आयोजित साक्षात्कारमा मोर्चासँगको सहमतिमा नै पुरानो बिधयेक फिर्ता लिएर मंगलबार नयाँ संशोधन बिधयेक दर्ता गराएको प्रष्ट पार्दै खनालले मोर्चाको यो निर्णय उसैका लागि प्रत्युत्पादक हुने उद्घोष गरे ।

उनले भने, ‘अहिले नै सरकारको तर्फबाट प्रतिक्रिया दिन हतार होला, हामी बैठक बसेर एउटा निर्णयमा पुग्छौं ।, तर मोर्चाको निर्णय ठीक छैन ।’

मोर्चाले जे निर्णय गरेपनि घोषित मितिमै स्थानीय तहको निर्वाचन सम्पन्न हुने खनालको दाबी थियो । उनले भने, ‘तोकिएकै मितिमा मधेसमा पनि चुनाव हुन्छ ।’

खनालले सरकारले ल्याएको नयाँ संशोधन विद्येयकलाई राजनीतिक म्यण्डेट बनाएर अघि बढ्नुपर्नेमा मोर्चाले त्यो अवसर गुमाएको टिप्पणी गरे । जनमत आफ्नो पक्षमा नरहेको देखेर चुनावमा जान मोर्चाका नेताहरु डराइरहेको खनालले आरोप लगाए ।

उनले नयाँ संशोधन विद्येयक मोर्चाका नेताहरुसँग छलफल गरेर नै ल्याएको दाबी गरे । उनले भने, ‘प्रधानमन्त्रीसँगको छलफलमा राजेन्द्र महतो जी हुनुहुन्थ्यो।’ उनले प्रधानमन्त्रीले प्रस्ताव ल्याउनुअघि मोर्चाका शीर्ष नेताहरुसँग पटक/पटक छलफल गरेको समेत स्पष्ट पारे ।

कार्यक्रममा सहरी विकासमन्त्री अर्जुनरसिंह केसीले सरकारले ल्याएको नयाँ संशोधन विद्येयकलाई अस्वीकार गर्ने मधेसी मोर्चाको निर्णय चुनावको लागि बार्गेनिङ् गर्ने मसला भएको आरोप लगाएका छन् ।

मधेसी मोर्चासँगको सहमतिमै सरकारले नयाँ संशोधन विद्येयक ल्याएको जीकिर गर्दै नेता केसीले भने, ‘सहमतिमै ल्याइएको संशोधन प्रस्तावको बिरोध र अस्वीकार गर्नु उहाँहरुको लागि चुनावमा जाने बार्गेनिङ् अथवा मसला हो, यही निर्णयलाई उहाँहरुले चुनावी हतियार बनाएर निर्वाचनमा जानुहुन्छ ।’

तर मधेसी मोर्चाका नेता अनिल झाले नयाँ संशोधन विद्येयकले मोर्चाका मागहरु सम्बोधन नगर्ने भएकोले मोर्चाले प्रस्ताव अस्वीकार गर्ने निर्णय गरिसकेको बताए । उनले भने, ‘संविधान संशोधन नभएसम्म हामी निर्वाचन भाग लिँदैनौं ।’

उनले नयाँ संशोधन प्रस्ताव मोर्चाको सहमतिमा ड्रफ्ट नभएको दावी गरे । उनले भने, ‘मोर्चासँग यो प्रस्तावबारे कुनै सहमति भएको छैन, यदि व्यक्तिगत रुपमा कसैसँग भएको हो भने सरकारले यो नेतासँग कुरा भएको थियो भनेर भनिदिनुपर्‍यो नि Û’

झाले मोर्चाले निर्वाचनको विरोधमा आन्दोलनका कार्यक्रम समेत सार्वजनिक गरेको जनाउँदै भने, ‘चैत ३१ गते मधेशका सबै जिल्लाहरुको सदरमुकमामा जुलुस प्रर्दशन गर्ने निर्णय भएको छ, त्यस्तै ०७४ बैशाख ३ गते जिल्लास्थित् निर्वाचन कार्यालय घेराउ गर्ने निर्णय गरेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment