Comments Add Comment

विवाद मिलाउन सानु श्रेष्ठलाई काठमाडौं एमालेको नेतृत्व दिने प्रस्ताव !


३१ चैत, काठमाडौं । स्थानीय चुनावको मुखमा काठमाडौं जिल्ला कमिटीमा समानान्तर कमिटी बन्न लागेपछि नेकपा एमालेको उच्चस्तरीय समितिले दुई विकल्पमा छलफल अघि बढाएको छ ।

विवाद मिलाउन कार्यवाहक अध्यक्ष बामदेव गौतमको संयोजकत्वमा गठित समितिले दुवै पक्षसँग छलफल समेत गरेको छ ।

काठमाडौं एमालेमा कृष्ण राईले संस्थापन पक्षको नेतृत्व गरेका छन् भने बसन्त मानन्धरले माधव नेपाल पक्षको नेतृत्व गरेका छन् । जिल्ला इन्चार्ज साबित्रा भुसाल र सहइन्चार्ज सुरेन्द्र मानन्धर पनि बिभाजित छन् ।

चुनावको बेलाएकताका साथ अघि बढ्ने गरि निकास दिने प्रयास भइरहेको ३ नम्बर प्रदेश संयोजक तथा विवाद समाधान समितिकी सदस्य अष्टलक्ष्मी शाक्यले बताइन् । शाक्यले भनिन्-बिभिन्न विकल्पमा छलफल भइरहेको छ, अब उम्मेदवार सिफारिसमा समेत असर पर्ने भएकाले शुक्रवारसम्म निकास निस्कन्छ ।’

स्रोतका अनुसार उच्चस्तरीय समितिमा जिल्ला कमिटी बिघटन गरेर पोलिटव्यूरो सदस्य सानुकुमार श्रेष्ठको संयोजकत्वमा तदर्थ कमिटी बनाई दुवै पक्षको सहभागिता गराउने प्रस्ताव समेत पेश भएको छ । यो प्रस्तावमा रामेश्वर फुयाल लगायत संस्थापन पक्षकै नेताहरु पनि सकारात्मक देखिएको स्रोतले जनाएको छ ।

तर, कृष्ण राई पक्ष असन्तुष्ट हुने भन्दै शाक्यले प्रदेश कमिटीले गरेको प्रस्तावलाई नै कार्यन्वयनमा लैजान उपयुक्त हुने सुझाव दिएकी छन् । प्रदेश कमिटीले कृष्ण राई संयोजक, बसन्त मानन्धर सहसंयोजक, विद्यासुन्दर शाक्य सचिव र सरिता न्यौपाने उपसचिव रहेको कमिटी बनाएको थियो । यसमा अरु केही सदस्य समेत थपेर जानु उपयुक्त हुने शाक्यले बताइन् ।

काठमाडौंमा एमालेको जिल्ला अधिवेशन ७ वर्षदेखि हुन सकेको छैन । अघिल्लो अधिवेशनबाट निर्वाचित अध्यक्ष निर्मल कुँइकेल अहिले अध्यक्ष छैनन् ।

तत्कालिन उपाध्यक्ष कृष्ण राईले कार्यवाहक अध्यक्ष चलाए पनि अधिवेशन नगराएको र गुटभित्रको पनि उपगुटमात्र चलाएको भन्दै असन्तुष्ट पक्षले समानान्तर गतिबिधि गर्दै आएको छ ।

पछिल्लो पटक ३ नम्बर प्रदेश कमिटीले गठन गरेको कार्यदलको सिफारिसका आधारमा राईकै संयोजकत्वमा बसन्त मानन्धरलाई सहसंयोजक राखेर यसअघिकै पदाधिकारी कायम रहेको कमिटी गठन भएको थियो । तर, त्यसलाई राई पक्षले अश्वीकार गरेपछि मानन्धर पक्षले समानान्तर कमिटी गठन गर्न लाग्दा कार्यवाहक अध्यक्ष गौतमले हस्तक्षेप गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment