Comments Add Comment

प्रदेश २ तनावग्रस्त : शिक्षामन्त्रीको पुत्ला जलाइयो, राज्यमन्त्रीको गाडी तोडफोड

१६ चैत, जनकपुरधाम । लगातार प्रश्नपत्र आउट हुँदा परीक्षा नै स्थगित गरिएपछि आक्रोशित बनेका प्रदेश २ का  परीक्षार्थीहरुले बिभिन्न ठाउँमा प्रदर्शन गरेका छन् । बिज्ञान र सामाजिक विषयको प्रश्नपत्र आउट भएपछि यी दुवै विषयको परीक्षा रद्द गरिएको थियो ।

शनिबार हुने स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षाको समेत प्रश्नपत्र एक दिन अगावै बाहिरिएपछि शिक्षा मन्त्रालयले प्रदेश २ को एसईई परीक्षा स्थगित गरेपछि विद्यार्थी आन्दोलित भएका छन् ।

विद्यार्थीहरुले सप्तरीमा बिहानैदेखि प्रदर्शन गर्दै पूर्वपश्चिम राजमार्गमा चक्काजाम समेत गरेका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत जिल्लाको खड्ग नगरपालिकास्थित कल्याणपुर र खरचुहियामा चक्काजाम गर्दा सयौं सवारी साधन रोकिँदा हजारौं यात्रु अलपत्र परेका छन् ।

बिहान ८ बजेदेखि नै यी दुई ठाउँमा चक्काजाम गरिएपनि कल्याणपुरको चक्काजाम प्रहरीले खुलाएको छ । खरचुहियामा निरन्तर चक्काजाम रहेका कारण यात्रुहरुलाई सास्ती भोग्नुपरिरहेको छ ।

आक्रोशित परीक्षार्थीहरुले सप्तरी सदरमुकाम राजविराजमा संघीय शिक्षा मन्त्री गिरिराजमणी पोखरेलको पुत्ला जलाएका छन् । शिक्षा मन्त्रीले राजिनामा दिनुपर्ने मुख्य माग राख्दै उनीहरुले पुत्ला जलाएका हुन् ।

राजविराजबाट पनि विद्यार्थीहरुले सवारी चल्न दिएका छैनन् । ठाउँ-ठाउँमा टायर बालिएका कारण लामो तथा छोटो दूरीका सवारीसाधन चल्न सकेको छैनन् ।

धनुषामा राज्यमन्त्रीको गाडी तोडफोड

परीक्षा स्थगित गरिएको बिरोधमा आन्दोलनरत परीक्षार्थीले प्रदेश २ सरकारका राज्यमन्त्री चढेको गाडीमा तोडफोड गरेका छन् ।

धनुषाको सपहीमा प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्रराय यादव चढेको गाडीमा ढुंगामुडा गरिएको छ । ढुंगामुढाबाट राज्यमन्त्री यादव चढेको गाडीको सिसा फुटेको प्रदेश २ प्रहरी कार्यालयले जनाएको छ ।

जनकपुरधामको पनि बिभिन्न चोकमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । चोकहरुमा टायर बालेर उनीहरुले प्रदर्शन गर्दै शिक्षा मन्त्रीबिरुद्ध नाराबाजी गरेका छन् ।

बारामा झडप, अश्रुग्यास प्रहार

एसईई परीक्षा स्थगित गरिएपछि बाराका विद्यार्थी पनि आन्दोलनमा उत्रेका छन् । आन्दोलनमा उत्रेका विद्यार्थीहरु तोडफोड गर्न खोज्दा प्रहरीसँग झडप पनि भएको छ । झडपमा एक प्रहरी जवान र केही विद्यार्थीहरु घाइते भएका छन् ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका-७ जीतपुरमा एसईई परीक्षा दिने विद्यार्थी र प्रहरीबीच झडप भएको हो । झडपमा प्रहरी जवान निरु श्रेष्ठ र केही विद्यार्थीहरु घाइते भएका छन् । विद्यार्थीहरुले केही सवारी साधनमा आगजनी र तोडफोड गरेका छन् । विद्यार्थीहरुले प्रहरीको ना १ झ ७१२ नम्बरको गाडीमा आगजनी गरेका छन् ।

परीक्षा स्थगित भएको विरोधमा विद्यार्थीले वीरगञ्ज पथलैया सडक अवरुद्ध गर्न थालेपछि प्रहरीले सामान्य बल प्रयोग गरेको प्रदेश २ प्रहरी कार्यालयका प्रवक्ता एवं डिएसपी दानबहादुर थापाले बताए । प्रहरीमाथि नै ढुंगामुढा गरिएपछि प्रहरीले केही थान अश्रु ग्यास प्रहार गरेको उनको भनाई छ ।

विद्यार्थीहरुको प्रदर्शनका कारण बिहान ७ बजेदेखि नै राजमार्ग अवरुद्ध छ । अवरुद्ध सडकलाई खुलाउन प्रहरी संयमित भएर लागिपरेको बताउँँदै प्रवक्ता थापाले यसमा सबैले सहयोग गर्नुपर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment