Comments Add Comment

‘त्यसपछि नेपालमा बस्नै मन लागेन’

'गैरआवासीय नेपालीका कारण लेखक-कलाकार बाँचेका छन्- महेश्वर पन्त

१६ चैत, काठमाडौं । महेश्वर पन्त गीत, कथा र कवितामा नयाँ शैली भित्र्याउने साहित्यकार हुन् । गायन र संगीतमा पनि उनले आफ्नो पहिचान बनाएका छन् । नेपाली कांग्रेसका लागि निर्वाचन गीत पनि महेश्वरले नै तयार पारेका हुन् । उनकै श्वर र संगीतमा ‘नेवि संघ देशको कर्णधार हो’ गीत लामो समयसम्म लोकप्रिय रह्यो ।

‘नेपाल भ्रमण वर्ष १९९८’ र २००० कार्यान्वयनका लागि देश-विदेशमा पन्तको खटाइ स्मरण गर्नेहरु धेरै छन् । तर, आफूले जन्माएको पर्यटन साम्राज्य छाडेर अचानक अमेरिका पलायन भएपछि नेपालमा उनी बिरानो बन्दै गए । सन् २००२ देखि अमेरिका बसाइ सरेका पन्त गैरआवासीय नेपालीहरुको संघठनअन्तरगतको भाषा साहित्य विभागमा कार्यरत छन् ।

पन्त गैरआवासीय नेपालीका कारण नेपाली संगीतकर्मी र  साहित्यकारमा परेको आर्थिक प्रभावका विषयमा अध्ययन गरिरहेका छन् । प्रस्तुत छ, आफ्नो कथा संग्रह ‘नबोल्नेहरु’ विमोचनका लागि नेपाल आएको बखत अनलाइनखबरले नेपाली साहित्य र संगीतका विषयमा गरेको कुराकानी ।

तपाईं नेपालमा राम्रो पर्यटन व्यवसायीका रुपमा गनिनुहुन्थ्यो, अचानक देश छाडेर हिँड्नुभयो । त्यस्तो के कारण थियो ?

माओवादी द्वन्द्व उत्कर्षमा पुगेको थियो । पिसकोरसहित केही अमेरिकी संस्थाहरुलाई माओवादीले टार्गेटमा राखेका थिए । ंयो देखेपछि अमेरिकाले पनि माओवादीलाई आतंकवादी संस्थाका रुपमा आफ्नो वेभसाइटमा राख्दै नेपाल भ्रमणमा नजान ट्राभल एड्भाइजर जारी गर्‍यो ।

म नेपाल भ्रमण वर्ष १९९८ सफल बनाउन संसारका विभिन्न देश विशेषगरि अमेरिका कुदिरहेको थिएँ । मेरा धेरैजसो ग्राहक अमेरिकी थिए । अमेरिकाले यस्तो सुचना जारी गरेपछि अचानक मेरो व्यवशाय सुक्न थाल्यो ।

बिजनेस कम भयो भन्दैमा म आत्तिने खालको मान्छे होइन । तर, ०५८ साल जेठ १९ गते राति मेरा केही टुरिस्टलाई ठमेलको होटलमा राखेर फकर्ंदै थिएँ । ठमेलबाट राजदरवारअघि आउँदा पटका जस्तो गटट लगातार केही पड्केको सुनेँ । ठूलो होहल्ला हुन थाल्यो । म त्यो बाटो सधैं हिँड्थेँ, तर त्यस किसिमको आवाज मैले यसअघि सुनेको थिइनँ । शुक्रबारको दिन पार्टी हुने गरेको थाहा थियो, त्यस्तै केही होला भन्ने लागेर अघि बढेँ । भोलिपल्ट बिहान पो त्यो पटका नभएर बन्दुक पड्केको र राज परिवारका सारा सदस्य मारिएको खबर आयो । यो घटनापछि भने छोराछोरीको भविश्य सुरक्षित छैन भन्ने महसुस भयो । त्यसपछि भने नेपालमा बस्नै मनलागेन ।

नेपाली कांग्रेसको राजनीति पनि गर्नुहुन्थ्यो, त्यो पनि छाडिदिनुभयो, किन ?

मैले कहिल्यै पदका लागि राजनीति गरिनँ । समाजसेवा र राजनीति मेरा लागि परिपूरक हुन् । मेरा हजुरबुबा कालीभन्त पन्त २००७ सालअघि  वीपी कोइराला दाहिने हात भएर पश्चिम नेपालमा सक्रिय हुनुहुन्थ्यो । तर, वीपीसहित तत्कालीन नेताहरुले भारत सरकारको नीतिअन्तरगत दिल्ली सम्झौता गरे, जुन उहाँलाई सहन भएन । दिल्लीसम्झौताको विरोध गर्दै उहाँले पार्टी छाड्नुभयो ।

बुवा गोविन्दप्रसाद पन्तलाई हजुरबुवाले दिएको योगदानका आधारमा नेपाली कांग्रेसको माया थियो । मेरो अवस्था पनि त्यस्तै हो । मैले नेपाली कांग्रेसलाई आवयक पर्ने गीतहरु बनाउने गरेको थिएँ । चुनावी गीत पनि यसैभित्र पर्दछन् । तर, हजुरबुवा र बुवाजस्तै म पनि पार्टीमा कहिल्यै सक्रिय भएर लागिनँ । हजुरबुवा र बुवा जस्तै म पारिवारिक लिगेसीका कारण मात्र जोडिएको थिएँ ।

यतिबेला विदेशमा ४० लाख नेपालीहरु छन्, । तीमध्ये कतिले नेपाली साहित्य र संगीतको रस लिन्छन् ? केही अध्ययन गर्नुभएको छ ?

पहिलो पुस्ताका ४० लाख नेपालीहरु नै कुनै न कुनै रुपमा नेपाली साहित्य र संगीतसंग जोडिएका  छन् । मैले ससर्ती हेर्दा विदेश बस्ने सबैजसो नेपालीहरु समाचारका लागि नेपाली टेलिभिजन हेर्छन् ।  धेरै जसो देशमा त्यसका लागि टेलिभिजनलाई कुनै न कुनै रुपमा पैसा तिर्नुपर्छ । उनीहरु मनोरञ्जनका लागि नेपाली युटुब च्यानल हेर्छन् । यसरी हेरिने प्रत्येक युटुबले गर्ने आम्दानी भनेको विदेशमा बस्ने नेपालीहरु नै हुन् । हामीले सुन्ने प्रत्येक संगीतले पनि नेपाली कलाकारहरुले पैसा पाइरहेका हुन्छन् । त्यसबाहेक नेपालबाट आउँदा चलेको पुस्तक ल्याइदिनू भन्ने यहाँको फेसन नै छ । यी हरेक काम गर्दा हामीले नेपाली कला-साहित्यलाई कुनै न कुनै रुपमा पैसा बुझाइरहेका हुन्छौं ।

नेपाली पुस्तकहरुको अवस्था के छ ?

म गैरआवासीय नेपालीअन्तरर्गत भाषा साहित्य विभागमा छु । संस्थाले आधिकारिकरुममा नेपालबाट कति पुस्तक आउँछ भनेर गणना गरेको त छैन । तर, हरेक व्यक्ति नेपालबाट र्फकंदा ब्यागभरि आफ्ना र साथीभाइहरुका लागि पुस्तक बोकेर आइरहेका देखिन्छन् । युरोप-अमेरिकादेखि जापानजस्ता विकसित मुलुकमा रेल, बस जस्ता यात्रामा पुस्तक पढ्नु फेसनजस्तै छ । यो उतातिरको पुरानो संस्कार हो । यसैको देखासेखीमा नेपाली विद्यार्थी र कामकाजीहरु प्ानि यसैगरी पुस्तक मगाएर पढ्ने गरेका छन् ।

मेरो विचारमा नेपालमा नियमित पुस्तक एक दुई हजार बिक्री होलान् । जुन पुस्तकले राम्रो नाम कमाउँछन् । विभिन्न पुरस्कार पाउँछन् र ती पुस्तक हजारौं हजारमा बिक्री हुन्छन् । यसरी बिक्री हुनुमा गैरआवासीय नेपालीहरुको योगदान छ । यो कसैले भनेर होइन, नेपाली पुस्तक पढ्नुपर्ने रहेछ भनेर स्वतः स्फूतरुपमा पुस्तक किन्ने गरिएको छ ।

यसको अर्को पाटो पनि उत्तिकै सशक्त छ ।

कुन पाटो ?

धेेरै संगीतकर्मीहरु आफ्नो गीत सुनाउन विदेश आउने गर्नुहुन्छ । यस्ता संंगीतकर्मीहरुको आम्दानी स्रोत पनि गैरआवासीय नेपालीहरु नै हुन् । उहाँहरुलाई आउने-जाने मात्र होइन, फकर्ंदा एउटा ठूलै रकम दिएर पठाउने गर्दछौं । आजभोलि कविता पनि टिकटमा हेर्न थालिएको छ । यसले साहित्यका विभिन्न विधामा पनि व्यवसायिकता सुरु भएको छ ।

यसरी हामीले उताबाट किनेर पनि नेपाली कला-साहित्यलाई बचाएका छौं र यहाँ बोलाएर पनि साहित्य-कलाको व्यवशायिकताको रक्षा गरेका छौं ।

विदेशमा बस्ने हामी जस्ता कलाप्रेमीकै कारण नेपाली साहित्यकारहरुको  आम्दानी बढेको छ । युटुबका भ्युज बढेका छन् । टेलिभिजन र पत्रपत्रिकाका भिजिट बढिरहेका छन् । यो व्यवसायिक युगमा हाम्रो प्रेमको कदर गर्नुपर्छ

प्रवासमा पहिलो पुस्ताले साहित्य कलालाई जति माया गरेका छन्, छोरा-नातिको पुस्तामा गएर त्यो हराएको पाइन्छ । नेपाली भाषा र साहित्यको अवस्था पनि त्यता जाँदैन ?

गैरआवासीय नेपाली संस्थाले त्यही चिन्ताको आधारमा नेपाली भाषाको कक्षा लिने व्यवस्था गरिरहेको छ । यसमा सम्बन्धित देशहरुको दुतावासको पनि सहयोग भइरहेको छ । आफ्नो भाषा र संस्कृति हराएर नजाओस् भनेर साना नानीहरुका लागि पाठ्यक्रमहरु बनाएका छौं । स-साना भए पनि नेपाली विद्यालय चलाउन थालेका छौं ।

जहाँसम्म पछिल्लो पुस्तामा भाषा संस्कृति हराउने कुरा छ, त्यो सम्भव छैन । मेरो विचारमा त्यो अझै बढेर जान्छ । उदाहरणका लागि अमेरिकामा अहिले आइरिस संगीत निकै लोकप्रिय छ । आयरल्याण्डबाट अमेरिका छिरेका आइरिसहरुका छोरा नातिहरुले आफ्ना पिता पुर्खाले घरमा गाउने गरेका गीतलाई आफ्नो शैलीमा गाएपछि यसले समग्र अमेरिकी समाजलाई नै प्रभाव पार्‍यो ।

लोकगायक पनि भएको नाताले मलाई लाग्छ, हाम्रा छोरानातिले हाम्रो लोकगीतलाई लोकप्रिय बनाउने छन् । अमेरिकी नागरिक भएर पनि डा. आना स्टिरले नेपाली संगीतमा विद्यावारिधि गर्दा यो कुरा आँकलन गरेकी छन्  । नेपाली संगीतमा त्यो शक्ति देखिन्छ ।

तपाईंहरु नेपाल आएर गीत गाउनुहुन्छ, पुस्तक छपाउनुहुन्छ । यसले पनि ठूलो पैसा नेपाल आइरहेको छ । यसलाई के भन्नुहुन्छ ?

नेपालको कति माया हुन्छ भन्ने कुरा बाहिर पुगेपछि मात्र थाहा हुन्छ । यो स्नेह कसैले गीतमार्फत, कसैले पुस्तकमार्फत व्यक्त गर्छन् । तर, यसरी गीत रेकर्ड गर्ने र पुस्तक छपाउने व्यक्तिलाई यहाँ लाहुरेको रुपमा हेर्ने गरिन्छ । विदेशमा पैसा कमाउन सजिलो छैन । साह्रै दुःख गरेर कमाएको पैसा कसैले पनि खर्च गर्दैन । उभित्र कुनै कला प्रस्फुटन हुन खोजिरहेको हुन्छ । त्यसका लागि उसले पैसा लगाउँछ । नेपालमा भने यसलाई पैसा भएकाले पुस्तक, संगीत र सिनेमामा लगानी गर्‍यो भन्ने रुपमा लिइन्छ । यस्तो देख्दा निकै पीडा हुन्छ ।

मैले केही एल्बम निकाल्दा धेरैपल्ट ठगिएको छु । त्यस्ता व्यक्तिलाई बताउन चाहन्छु, भित्र संगीत र साहित्य मडारिरहेका छन्, त्यो कलाका लागि आफूले दुःख गरेको पैसा लगाएका हौं । कुनै पनि कला प्रस्तुत गर्नु सजिलो छैन, विशेषगरी विदेशमा धेरै समस्या हुन्छ । त्यहि पनि हामी काम गरिरहेका छौं, यो निके ठूलो कुरा हो । यो मर्मलाई तपाईंहरुले बुझ्नुपर्छ ।

विदेशमा बस्ने हामी जस्ता कलाप्रेमीकै कारण नेपाली साहित्यकारहरुको  आम्दानी बढेको छ । युटुबका भ्युज बढेका छन् । टेलिभिजन र पत्रपत्रिकाका भिजिट बढिरहेका छन् । यो व्यवसायिक युगमा हाम्रो प्रेमको कदर गर्नुपर्छ ।

विदेशमा लेखिने साहित्य र संगीतको कदर नेपालभित्रका मानिसले कत्तिको गरेजस्तो लाग्छ ?

अधिकांश त हामीलाई लाहुरे नै सम्झन्छन् । यिनीहरुले पनि स्तरीय रचना लेख्छन् भन्ने विश्वास गरिदैन । तर निलम जस्ता केही साहित्यकारहरुको पुस्तकको चर्चा, विक्रीको मानक र मदन पुरस्कार जस्ता उत्कृष्ट सम्मानले त्यो भ्रम चिरिन थालेको छ । हाम्रा पुस्तकको अब मूल्यांकन होला भन्ने विश्वास छ ।

नेपालीबाट कस्तो सहयोग चाहनुहुन्छ ?

जनताबाट  सहयोग छ । अब प्रज्ञा प्रतिष्ठानबाट सहयोग हुनुपर्छ । हामीले लेखेकेा रचनालाई अंग्रेजीमा परिवर्तन गर्ने र अन्तर्राष्ट्रिय मञ्चहरुमा हाम्रो उपस्थिति हुने व्यवस्था मिलाउनु पर्छ । हामी विदेशमा कला र साहित्यका दूत पनि हौं । हामीमार्फत नेपाली कला र साहित्यलाई अन्तर्राष्ट्रिय मञ्चहरुमा उभ्याउन सकिन्छ ।

यसपल्ट नेपाल आउनुको उद्देश्य के थियो ?

‘नबोल्नेहरु’ कथा संग्रह प्रकाशन गर्न नेपाल आएको हुँ । त्यसबाहेक हजुरबुकाको नाममा दुई लाख रुपैंयाको कालीभक्त पन्त लोकसंस्कृति पुरस्कार वितरण गर्ने उद्देश्य थियो । यसपटक शताब्दीपुरुष सत्यमोहन जोशीलाई यो पुरस्कार प्रदान गरियो । प्रज्ञा प्रतिष्ठानसँग मिलेर गैरआवासीय नेपालीहरुले लेखेको नेपाली कथा अनुवादको काम पनि भइरहेको छ । त्यसका लागि पनि आएको हुँ । पहिले पनि समाजसेवाको उद्देश्य गरेर राजनीति गरेँ । अहिले साहित्यमार्फत सेवा गर्ने प्रयास गरिरहेको छु । त्यसको वातावरण बनाउन पनि यहाँ आएको हुँ ।

तपाईंले लेख्ने गीत, कविताको उद्देश्य के हो ?

साहित्य कुनै निश्चित उद्देश्यका लागि लेखिन्छ भन्ने म मान्दिनँ । साहित्य साहित्यका लागि हुन्छ, न कि अरु कुनै उद्देश्यका लागि । साहित्य उद्देश्यका लागि भयो भने त्यो साहित्य नभएर राजनीति हुन्छ । यसकारण म उद्देश्यविहीन लेख्छु । तर, छापिसकेपछि मेरो कुरा कसैले पढिदिउन्, कसैले मेरा गीत सुनिदेऊन् भन्ने लाग्दोरहेछ । तर, बाहिर बसेको मान्छे, मलाई रहरले लेख्ने लेखक र रहरले गाउने गायक मान्दा रहेछन् । यो दुःखलाग्दो कुरा हो ।

धेरैजसो त त्यस्तै देखिन्छ ?

यो नेपालभित्रको बुझाइ हो । हामी विभिन्न बाध्यताले र परिस्थितिले विदेसिएका मात्र हौँ । विदेशमा नेपाल जस्तो लेखनको वातावरण नहुँदा साहित्य केही कमजोर हुन सक्ला । तर, साहित्य कदापि रहरले लेखिदैन । हामीलाई लाहुरे ठान्ने जुन प्रवृत्ति छ, त्यसले नेपाली साहित्यलाई निकै हानी गरिरहेको छ । यो कुरा बुझ्न जरुरी छ ।

अर्को कुरा, रहरले लेख्ने भए त निलम कार्की निहारिकाले लगातार मदन पुरस्कार र पद्मश्री पुरस्कार नपाउनु पर्ने थियो । अमेरिका बसेरै उनले लगातार पुस्तक लेखिरहेकी छन् । लेखेरै नाम र दाम दुबै कमाइरहेकी छन्  । यस अर्थमा अब पुरानो सोच बदल्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment