Comments Add Comment

वियोगका फूलहरुको क्राफ्ट: लज्जावती

कृति समीक्षा

उपन्यास आधुनिक युगको गद्य–महाकाव्य हो । पद्यात्मकताबाहेक यसमा अन्य महाकाव्यात्मक गुण हुनु आवश्यक मानिन्छ तापनि नवीन प्रयोग र अनुभूतिको आख्यानात्मक अभिव्यक्तिको माध्यम बन्दै जाँदा यसका विविध रूप, शैली र कला देखापरेका छन् । अतः आजका औपन्यासिक कृतिहरूलाई परम्परित निश्चित आयामभित्र समेट्न सम्भव छैन भन्ने एउटा दरिलो उदाहरणको रुपमा नेपाली साहित्य मञ्चमा ‘लज्जावती’ आएको छ ।

फरक अनुभूतिको आख्यानात्मक अभिव्यक्तिका रूपमा हालै बजारमा आएको उपन्यास हो यो । यसका रचनाकार हुन् जितेन्द्र रसिक । पत्रकारिताका क्षेत्रमा आवद्ध भएपनि गीत-गजल लेखनमा स्थापित रसिक कथाकार, बालसाहित्यकार र कवि पनि हुन् । झण्डै पौने दर्जन कृतिका लेखक रसिकको यो पहिलो औपन्यासिक कृति हो ।

अभिव्यक्ति कलामा आफ्नो राम्रो छवि बनाइसकेका उनले आख्यानका दृष्टिले वक्र जस्तो देखिने यस उपन्यासमा पूर्वस्मृति शैली (फ्ल्यास ब्याक) मा घटनालाई पुनःस्मरण गरी प्रस्तुत गरेका छन् ।


कृतिगत अध्ययन

उपन्यास नेपाली मूलको अमेरिकी साइमन आफ्नी प्रेमिका कम बिजनेस पार्टनर लुँजलाका खोजीमा नेपाल आएको घटनाबाट आरम्भ हुन्छ । अनुदान दिने उद्देश्यले लज्जावती बालकल्याण गृहमा पुग्दा उसले क्षितिजसँगको सम्पर्कको जानकारी पाउँछ । क्षितिजले आफ्ना सिर्जनाका पाण्डुलिपि मार्फत् उसलाई यी सबै अतीतका घटनाको जानकारी दिन्छ ।

चलचित्र शैलीमा उपन्यासको कथानक प्रारम्भ भएको छ । उपन्यासलाई साइमनको आगमन, लुँजला, सरप्राइज, भ्रम र छाया, भगवान् ईश्वर, अस्तित्व, फाँचल यात्रा, साक्षात् भगवान्, सानू साथी बुलू, षडयन्त्र, खोज आदि शीर्षक दिएर बाइस खण्डमा विभाजन गरी सङ्गठित गरिएको छ ।

मानव जीवनको प्रकृतिसँगको तादात्म्य देखाएर गुण धर्ममा साम्य राख्ने वनस्पतिलाई आधार बनाई कृतिको नाम ‘लज्जावती’ राखिएको छ । नायकका जीवनयात्राका क्रममा अभिन्न शृङ्खलाका अङ्ग बनेर आएका सामाजिक जीवनका आरोह-अवरोह करुणा, दया, मायाप्रेम, सङ्घर्ष र दायित्वसँग गाँसिएका अनेक घटना क्रमबद्ध भएर कृतिमा आएका छन् र उपन्यासकारले तिनका पक्ष विपक्षलाई उठाउँदै नकारात्मक कुराप्रति आलोचनात्मक दृष्टि प्रक्षेपण गर्दै सुधारको अपेक्षा गरेका छन् ।

अतः यो कृति सामाजिक आलोचनात्मक यथार्थवादी बन्न गएको छ । यसमा युवायुवतीका भावनात्मक सम्बन्ध, ईश्वरबारे भौतिकवादी दार्शनिक बहस, मातापिताप्रति अगाध श्रद्धा, सामाजिक दायित्व, अन्धविश्वास र कुरीतिप्रति घृणा अनि पहाडी जीवनको महिमा व्यक्त भएको छ ।

आधुनिक पश्चिमेली सभ्यताका प्रभावमा रङ्गिएका युवायुवतीको परस्पर आकर्षण र विकर्षणमा जीवनको उहापोह गतिशील छ यसमा । संयमको कठोरता र समर्पण अनि अगाडि पछाडि नहेरी गरिने अविवेकी प्रेमको दुष्परिणाम पनि यहाँ पाइन्छन् । हठात् प्रेमको आवेग र असमझदारीमा अकार्थमा जीवन उत्सर्ग गर्ने युवतीहरूको चित्र लज्जावती उपन्यासमा समावेश भएका छन् ।

भगवानचन्द्र ज्ञवाली

नेपालीहरूले साम्राज्यवादीहरूका राज्य विस्तारका क्रममा पहिलो र दोस्रो विश्वयुद्धमा दिएको बलिदान र त्यसका नकारात्मक पक्षको चर्चा तथा हिंसालाई अस्वीकार गर्दै गोर्खा भर्ती केन्द्रको अप्रत्यक्ष विरोध लाहुरे काकाका माध्यमबाट गरिएको छ । भारत-पाकिस्तान युद्धमा भारतका तर्फबाट लड्ने गोर्खालीहरूको पीडा र वेदना अनि जीवनका अन्त्यतिर हुने पछुतोको चर्चाले विदेशीका निमित्त विदेशी भूमिमा लड्न जानु नेपालीहरूमाथि थोपरिएको विडम्बनाको कारण हो भन्ने प्रष्ट हुन्छ ।

लज्जावतीको मिथकीय प्रसङ्गमा नायक पात्रमा सकारण भावनात्मक उद्वेलन उत्पन्न भएको छ । नेपालमा ६० को दशकमा चलेको सशस्त्र द्वन्द्वबाट प्राप्त नकारात्मक परिणामले युवा समुदायमा पारेको प्रभाव, निराशा, कुण्ठा र हीनतालाई देखाउँदै ब्रिगेड कमाण्डर प्रशान्तको विनष्ट परिवार र युद्धबाट अभिशप्त घाइते जीवनको करुणा र वेदनाका वर्णनले पाठकका मनमा समेत पीडा पैदा गर्छ ।

पुर्खाको रगत र पसिनाको मूल्य खोज्न र समाजमा समानताको हक स्थापित गर्न जनताले त्यत्रो त्याग र बलिदान दिएपछि पनि तुच्छ प्राप्ति सिवाय उपलब्धि नगण्य भएका कारण राष्ट्रिय चिन्तनशील युवाहरूमा नकारात्मक प्रभाव परेको देखाउँदै अब थप हिंसाको विरोध र नेतृत्वमा देखिएको बेइमानीको निन्दा गरिएको छ ।

विकृत पुँजीवादी उपभोक्तावादी चिन्तनका कारण वर्तमान सङ्क्रमणकालीन नेपाली समाजमा बढ्दै गएको क्रूरता, हिंसा, बालअपहरण, फिरौती र हत्या अनि फितलो प्रशासनिक अनुसन्धान र निर्दोष व्यक्तिले भोग्नुपर्ने अनाहक दण्डलाई उपन्यासकारले संवेदनशील ढङ्गले उठाएका छन् । यहाँ मानिसहरूलाई इमानदार, सरल, सहज सामाजिक जीवन यापन गर्न कति दुरुह छ भन्ने कुरा पनि यहाँ त्यत्तिकै प्रष्ट पारिएको छ ।

नेपाली जीवनका दैनिक भोगाइहरू, वैयक्तिक चरित्रका त्रुटिहरू, युवायुवतीहरूका भावना र आवेगहरू, प्रशासन, राजनीति र छिमेकीको व्यवहार, राष्ट्र र राष्ट्रियताको भावना, अन्तर्राष्ट्रिय परिवेशको सूक्ष्म वर्णन उपन्यासकारले कृतिमा गरेका छन् तथापि जीवन हार्नका लागि होइन आत्मबलशालीका लागि जित्नका लागि सबैथोक छ भन्ने आशय पनि यसबाट प्राप्त हुनसक्छ ।

आख्यानकार अमर न्यौपानेले भने जस्तै यो उपन्यास राष्ट्रिय तथा अन्तराष्ट्रिय राजनीतिक द्वन्द्व, युद्ध र त्यसको अर्थहीनताभित्र प्रेम, पीडा र वियोगका फूलहरुको क्राफ्ट नै उपन्यासको धरातल बनेको छ । लज्जावतीमा  देश र समाजभित्रको कुरीति विरुद्धको अवाज बुलन्द छ । काव्यात्मक भाषा, सरल शैली, अनि आख्यानमा कविता र गीतको कोलाजले उपन्यासलाई नौलो बनाएको छ ।

उपन्यासका केही अंश:

– ‘जीवनभर अरूको देशको रक्षा गरेर अहिले पुरानो कोट जस्तो जिन्दगी स्वदेशमा आएर बिताउँदा तपार्ईंका मनमा अलिकति पनि पश्चात्तापको भाव जागेन काका ?’

एउटा प्रश्न सन्सनाएर गयो । लाहुरे काका सरिक भएको युद्धमा चलेको गोली झैं र सीधै काकाको मर्ममै गएर ठोक्कियो । कस्तो जटिल प्रश्न गर्दै छ दोर्जे । यतिखेर भने काका अक्मकिए । अघिसम्म जोसिलो लाहुरे हुनमा गर्व गरेको झैं देखिने बूढाको आन्तरिक मनोबल सायद घाइते भयो दोर्जेका वचन वाणले । काकाले चाँदीको कुल्फीमा सिगरेट च्याप्दै लाइटर बाले । एक मुस्लो धूवाँ फुरूरूरू उडेर कोठा ढाक्न थाल्यो । काका दाह्री मुसार्दै गम्भीर हुँदै बोले,

‘हो बाबु ! तिमीले ठीक भन्यौ । म पुरानो कोट हुँ । यही पीडाले म जिउँदै जलेको हुन्छु (चुरोटतर्फ देखाउँदै) अनि मनलाई सान्त्वना दिन यो जलाउँछु । यसले पनि भएन भने गिलासको सहारा लिन्छु र निभाउँछु मनका आगो घट्घटी पिएर । तर, बिडम्बना झन् बलिदिन्छ यो मन चैत मासको जङ्गलमा डढेलो लागे जस्तै । त्यही पुरानो कोट जस्तो जिन्दगी । कसैले लगाउँदा लगाउँदै च्यातिएर फालिएको । त्यहीँभित्र एउटा सानो च्यातिएको मन छ । न टाल्नै सक्छु न फाल्नै । शून्यताको भारी बोकेर रित्तो जिन्दगी टकटक्याएर फेरि शून्यतामै फर्कें त यसमा मेरो के दोष ?

लाहुरे काका आफूलाई निर्दोष साबित गर्न आधारभूमि तयार पारिरहे जस्तो लाग्यो र मैले पनि थपिदिएँ ‘हो त नि काकाको के दोष ? जब राज्यले आफ्नै जनतालाई गाँस, बास र कपासको आधारभूमि तयार पार्न सकेको छैन । सरकारले युवाहरू विदेशिनु र अरु मुलुकको रक्षा गर्न जीवन समर्पित गर्नु जस्ता काममा विकल्प पनि त दिन सकेको छैन । जनताको रोजीरोटीको लागि रोजगारीको व्यवस्था र युवा शक्तिको व्यवस्थापन गर्न राज्यले सक्नु पर्थ्यो, तर त्यसो हुन सकेको छैन । जुन कारण हाम्रो पनि हालत त्यस्तै हुन्छ र भैरहेछ पनि । रहरले को विदेशिएका छन् र ? लाखौँ नेपालीहरू विदेशमा दास भई आफ्नो श्रम सस्तो मूल्यमा बेचिरहेका छन् । यस्तै तीतो यथार्थ हामीमाझ जिउँदै छ । हामी १२ वर्ष विद्यार्थीलाई पढाएर बौद्धिक शक्तीमा रुपान्तरण गर्न नपाउँदै युवाहरु विदेशमा पढ्न जान्छन् । हामीले १२ देखी १६ वर्ष शिक्षामा लगानी गरेको बौद्धिक युवा शक्ति विदेशीले दुई वर्ष पढाएको भरमा आफ्नो कब्जामा लिन्छन् र उतै प्रयोग गर्छन् रोजगारीको नाममा । अनि उतै पलायन हुन्छन् देशको सम्पती अथौत बौद्धिक युवाहरु ।

– पहाडको कोसेली बोकेर लुँजलाको ग्यालरी पुगेँ म । ग्यालरी बन्द थियो । वातावरण सुनसान थियो ।  विल्डिङ्गको द्वारमा टाँगिएको सुनजस्तै टलक्क टल्केर बस्ने पित्तलका ‘ग्यालरी अफ नेचर विट ह्यूमन’ अक्षरहरू मुख नधोएको बच्चा झैं देखिन्थ्यो । ‘ब्रासा’ दिने बेला भएछ मनमनै भनेँ । ग्यालरीको बाह्य दृश्यले केही भन्न खोजेझैँ सङ्केत गर्दै थियो । धित मरून्जेल ग्यालरीको उदास आवरण हेरेर फुत्त बाहिरिएँ । लुँजलाको ‘रेसिडेन्स’ तर्फ पुगेँ ।

बोगनबिला’ का झ्याङहरू पहिलेभन्दा निलाम्मे भएर फुलिसकेका थिए । गेट बन्द थियो । गेट्बेल’ दबाएँ । भित्र निजी ग्यारेजमा लुँजलाको आत्मा चिप्लिने उही पुरानो कार अडिएको थियो । सधैंजसो म त्यहाँ पुग्दा भुक्ने ‘लवी’ को स्वर चकमन्न थियो । पकेटबाट मोबाइल निकालेँ र फोन लगाएँ । मोबाइलले स्विच अफ भएको सङ्केत दियो । मोबाइलमा लुँजलाको फोटो धित मरून्जेल हेरेँ । करिब सवा घन्टासम्म पनि कुनै चालचुल नदेखिएपछि आङ ढक्क फुल्यो । म युद्धमा हारेको सिपाही झैं भइसकेको थिएँ । मनमनै आफूले आफैंलाई धेरैचोटि प्रश्न गरेँ । उत्तर पाइनँ र आफूलाई मोडेँ ।

– एम्वुलेन्सको साइरनका धुन चिच्याउँदा लाग्थ्यो हामी मृत्युको जंगलबाट उम्केर शंख फुक्दै चिच्याउँदै कतै भागिरहेछौँ वेतोडले । विस्तारै पृथ्वी लोकमार्ग हाम्रो अगाडी लम्पट परेर सुतिदियो । उनको ढाडमाथि हामी कुदिरहेछौँ । सडक सुनसान छ । काठमाडौबाट पूर्व गुडेका  गाडीहरू ठोक्किएला झैं हुत्तिएर आउँछन् । आङ नै सिरिङ्ग हुने गरी । जंगलका फाँटैफाँटका घुम्तीहरू छिचोल्दै अघि बढिरह्यौं मुगलिङ काटेर केही अघि बढ्दै थियौँ । सडकमा केही झुण्ड युवाहरू देखिए । घामले साँझको सङ्केत गर्दै थियो । एम्बुलेन्स आफ्नै रफ्तारमा कुँईय्…कुँईय्… गर्दै गुडिरह्यो मृत्यु-शङ्ख फुके जस्तै । युवाहरू सडकभरि कनिका छरिएझैं छरिए । ड्राइभरलाई ब्रेक दबाउन बाध्य बनाए । ‘हान्… हान्… फुटाइदे… साले… जलाइदे… बन्द भन्ने थाहा छैन ?’

माथिका अंशबाट पनि उपन्यासले विभिन्न कोणबाट नेपाली समाज र प्रणालीको गलत बाटोहरुको चिरफार गर्न लज्जावती उपन्यास सफल छ भन्ने देखाउँछ ।

निष्कर्ष

संयम, धैर्य र विवेकका अभावमा त्रिकोणात्मक प्रेमका भ्रमजालमा पर्दा नायिकाहरूका अन्त्यसँगै नायकको जीवन दुःखमय बन्न गएकाले कृति दुःखान्त ठहरिएको छ । समसामयिक यथार्थ जीवनका विविध पक्षमा निष्पक्ष दृष्टिकोण राख्दै विसङ्गतिको आलोचनाका माध्यमबाट सामाजिक परिवर्तनको चाहना राख्ने आलोचनात्मक यथार्थवादी उपन्यासकार नेपाली राष्ट्रिय जीवनका समग्र पक्षमा चिन्तनशील देखिन्छन् र स्वतन्त्र विचार राख्न सक्षम छन् भन्ने कुरा यसबाट बुझ्न सकिन्छ ।

कृतिको शीर्षक नारी जातिका लज्जाशील स्वभावको बिम्ब बनेर आएको छ । एकरसताका कारण पढ्दा हुने दिक्कलाग्दो अवस्था पनि यसमा पाइँदैन । दया, करुणा, क्रोध, वीर, शृङ्गार र आश्चर्य आदि बहुविध रसका आस्वादन गर्न रुचि राख्ने पाठकका लागि कृति सङ्ग्रहणीय छ । उपन्यासकारका प्रतिभा क्षमताबाट भविष्यमा अझ सुन्दर कृतिको सिर्जना हुने आशा सबल छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment