Comments Add Comment

बालुवाटारको भित्री कुरोः उपेन्द्रको भविश्यवाणी, गच्छदारको गुनासो

एमालेको आश्वासन- मोर्चासँग कुरा गर्नोस्, हामी २ मिनेटमा आउँछौं

६ बैशाख, काठमाडौं । बुधवार बिहान बालुवाटारमा प्रधानमन्त्रीले डाकेको एमालेसहित ५ दलको बैठकमा शीर्ष नेताहरुबीच घोचपेच र हाँसो ठट्टामात्रै चलेन, केही पात्रका विषयमा पनि कुरा भए । जुन पात्र आसन्न स्थानीय चुनाव बिथोल्न सबै प्रकारका गतिबिधिहरु गर्दैछन् ।

बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री बिमलेन्द्र निधीको उपस्थिति अर्थपूर्ण बन्यो । यस अर्थमा कि, उनी पछिल्लो समय आफ्ना अभिव्यक्ति र मनस्थितिका कारण चुनाव गराउन नचाहेको आरोप खेपिरहेका छन् ।

पछिल्लो समय मन्त्रिपरिषद बैठकमा समेत उपस्थित हुन छाडेका निधी चुनाव पक्षधर दलहरुको शीर्ष बैठकमा भने चुनाव गर्न सकिने ब्रिफिङसहित उपस्थित भए ।

विमलेन्द्रको ब्रिफिङ

गृहमन्त्री निधीले बैठकमा तीन पटकसम्म ‘म गृहमन्त्रीको नाताले भन्छु’ भन्दै चुनाव गराउन सकिने राय पेश गरेको बैठकका एक सहभागीले सुनाए । उनले चुनावका दिन ५/७ हजार मान्छेलाई पक्राउ गरेर हिरासतमा राख्नेसम्मको क्षमता गृह प्रशासनसँग रहेको शीर्ष नेतालाई सुनाए ।

चुनावको सुरक्षा थ्रेट विश्लेषण गर्ने क्रममा निधीले सिके राउत र विप्लबका गतिबिधिहरु पनि निगरानीमा राखिएको सुनाए ।

पछिल्लो समय विप्लबका कार्यकर्ताले अपराधिक घटना गराउने तर बिगतमा जस्तो जिम्मेवारी नलिने रणनीति अख्तियार गरेको चर्चा बालुवाटारमा चल्यो ।

कार्यकर्ता जोगाउन घटनाको जिम्मेवारी नलिने रणनीति अख्तियार गरेको आशंका त्यहाँ व्यक्त भयो । पछिल्लो पटक धनगढीमा कांग्रेस कार्यालयमा भएको आगजनी विप्लब माओवादीले नै गरेको जानकारी समेत गृहमन्त्रीबाट नेताहरुले पाए ।

एमाले नेताको वचन !

बैठकमा एमाले संसदीय दलका कार्यवाहक नेता सुवास नेम्वाङले धनगढीमा कांग्रेस कार्यालयमा भएको आगजनी र केही ठाउँमा मधेसी मोर्चाले कांग्रेसको सभा हुन नदिएको घटनामा एमालेले भत्र्सना गरेको बताए ।

सँगसँगै उनले शेरवहावहादुर देउवातिर फर्किएर सोधे- तर सप्तरीमा हामीमाथि हिंसात्मक आक्रमण हुँदा, मधेसमा हामीलाई निषेध गर्दा कांग्रेस जस्तो लोकतान्त्रिक पार्टी किन मौन समर्थन गरेर बस्यो ?

अझ संसदमा कांग्रेसका आधिकारिक तहका नेताले मोर्चाले बिरोध गर्दा गर्दै एमाले मधेस पसेको भनेर खुच्चिङ मार्ने भाषण किन गरे ?

नेम्वाङको चासोमा देउवाले हामीले बिरोध गरेकै हो भन्दै छोटो प्रतिक्रिया दिए ।

माओवादी नेता वर्षमान पुनले एमालेलाई पनि लचिलो बन्न आग्रह गर्दा उनको र सुवास नेम्वाङको एकछिन सवाल-जवाफ चल्यो ।

बैशाख ३१ मै चुनाव जसरी पनि गराउने निष्कर्षमा पुग्दै गर्दा मधेसी मोर्चालाई के गर्ने ? भन्ने प्रश्न एमालेतिरै सोझियो ।

एमाले नेताले जवाफ दिए- ‘तपाईहरु मधेसी मोर्चा र गठबन्धनलाई चुनावमा सहभागी गराउन अधिकतम प्रयास गर्नुस् । एमालेको तर्फबाट पूरापूर समर्थन हुन्छ । मोर्चा आउँछु भन्यो हामीलाई खबर गर्नुस, हामी २ मिनेटमै हामी आइपुग्छौं ।’

उपेन्द्र यादवको भविश्यवाणी !

पाँच दलको बैठक त्यसपछि उपेन्द्र यादवतिर केन्दि्रत भयो । प्रधानमन्त्री प्रचण्डले बीचबीचमा प्रष्टीकरण दिदै उपेन्द्र यादवले भन्ने गरेका कुराहरु भविष्यवाणी जस्तै मिलेका केही दृष्टान्त पेश गरे र नेताहरुलाई गम्भीर हुन आग्रह गरे ।

केही समयअघि उपेन्द्रले प्रचण्डसँगको भेटमा उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ हुँदैछन् भनेका रहेछन् । तर, प्रचण्डले पत्याएका थिएनन्, किनकि राजनाथ सिंह नै मुख्यमन्त्री हुने चर्चा चलिरहेको प्रचण्डले भारतीय अधिकारीहरुबाट जानकारी पाइरहेका थिए । तर, उपेन्द्र यादवले भनेजस्तै आदित्यनाथ नै मुख्यमन्त्री बनेपछि प्रचण्ड चकित परेछन्, जुन कुरा बालुवाटार बैठकमा चर्चा भयो ।

पछिल्लो पटक सरकार र मधेसी मोर्चाबीच सहमतिमा हस्ताक्षर हुने भनिएको बिहानै प्रचण्ड र उपेन्द्रबीच कुरा भएको रहेछ । उपेन्द्रले प्रचण्डलाई भनेछन्- वैशाख महिनामा आन्दोलनको आँधीहुरी उठ्छ, तपाईहरुले चुनाव गराउने भन्दै हुनुहु्न्छ, यहाँ राजावादी- हिन्दूवादीदेखि सबै सडकमा आउनेछन् ।

सहमतिका लागि हस्ताक्षर हुने भनिएकै बेला उपेन्द्रले आँधीहुरीको संकेत दिएपछि प्रचण्डले योगी आदित्यनाथवाला भविष्यवाणी सम्भिmए । नभन्दै साँझ मोर्चा सहमतिबाट पछि हट्यो । कमल थापादेखि बाबुराम भट्टराईसम्म सबै आन्दोलनमा उत्रिनु र मोर्चाले चुनाव बिथोल्न आन्दोलन घोषणा गर्नुले प्रचण्डलाई उपेन्द्र यादवको भविष्यवाणीप्रति विश्वास लाग्न थालेको अनुभुति बालुवाटतारमा उपस्थित नेताहरुले गरे ।

यद्यपि प्रचण्डले आफू उपेन्द्रको भविष्यवाणीबाट नआत्तिएको नेताहरुलाई बैठकमा बताए । बीचमै प्रचण्डलाई थप आश्वस्त पार्दै राप्रपा उपाध्यक्ष तथा मन्त्री दीपक बोहोराले निर्वाचन आयोगका कारण राप्रपा आन्दोलित भए पनि वैशाख ३१ को चुनावलाई असर पार्ने वा चुनावबाट भाग्ने कुनै गतिविधि राप्रपाले नगर्ने वचन दिए ।

विजय गच्छदारसँग रोचक सम्वाद !

बुधबारको बैठकमा प्रचण्ड र बिजय गच्छदारबीच रोचक सवाल -जवाफ चल्यो ।

पाँच दलको बैठकमा गच्छदारले प्रधानमन्त्रीसँग गुनासो पोख्दै भने- ‘आज ठीक एक महिना १४ दिन भयो, सम्भिmनुस् एक महिना १४ दिन । प्रधानमन्त्रीज्यू, तपाईले मलाई भेटसमेत गर्नुभएन । आज सम्झिनुभयो मलाई । तपाईहरु तीन दललाई एक ठाउँमा ल्याउने र १६ बुँदे सहमति गराउने मै हुँ, मेरो भूमिकालाई नभुल्नुस् ।’

गच्छदारको आशय प्रचण्डले बुझिहाले । उनलाई उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी गराउन नसकेका प्रचण्डले चलाखीपूर्वक जवाफ फर्काए- वास्तवमै हो, मैले त अझ बढी समय भयो होलाजस्तो सोचेको थिएँ । मैले तपाईलाई केही भनेको थिएँ, त्यो पूरा गर्न नसकेपछि डराएर नबोलाएको हुँ ।’

प्रचण्डको सो जवाफबाट नेताहरुवीच हाँसो चल्यो । एकजना एमालेका नेताले गच्छदारलाई भने- प्रचण्डसमेत डराउने नेता त तपाई पो हुनुहुँदो रहेछ ! गच्छदारले थपे- ‘यस्तो कुरा उहाँले जति कसैले जानेको छैन, यस्तै कुराले त आजसम्म खाइराख्नुभएको छ ।’

स्थानीय चुनाव र मधेसी मोर्चाको कुरा

पाँच दलको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीले जे भन्नुभयो, त्यही नै मेरो कुरा हो भन्दै मधेसी मोर्चा चुनावमा आउने अवस्थामा मात्रै दुई चरणमा चुनाव गराउनुपर्ने बताए । अन्यथा बैशाख ३१ मा एकै चरणमा चुनाव गर्नुपर्ने देउवाले बताए ।

बैठकको शुरुमै प्रधानमन्त्री प्रचण्डले मोर्चाकै सहमतिमा दर्ता भएको संविधान संशोधनको दोस्रो प्रस्ताव अस्वीकार गरेर मोर्चाले धोका दिएको गुनासो गरेका थिए ।

मोर्चालाई सहमतिमा ल्याउन अझै पनि प्रयास भइरहेको तर उनीहरु नआए पनि बैशाख ३१ को चुनाव नसर्ने प्रधानमन्त्रीले सबैलाई आश्वस्त पार्ने प्रयास गरेको बैठकमा सहभागी एक एमाले नेताले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment