Comments Add Comment

अक्सिजन नपाएर अस्पतालमै ८ संक्रमितको मृत्यु

२९ वैशाख, बुटवल । रुपन्देहीका अस्पतालमा उपचाररत ८ जना कोरोना संक्रमितको अक्सिजन नपाएर मृत्यु भएको छ । बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा आईसीयूमा उपचाररत पाँच जना र भीम अस्पतालमा उपचाररत तीन जना संक्रमितको मृत्यु भएको हो ।

कोरोना विशेष अस्पतालको आईसीयूमा १६ जना कोरोना संक्रमित उपचाररत थिए । अस्पतालमा भएको अक्सिजन बुधबार दिउँसो सकियो, आउनुपर्ने आइपुगेन । त्यही कारण आईसीयूमा उपचाररत रुपन्देहीका चार र नवलपरासीका एक संक्रमितको मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए । ‘आउनुपर्ने अक्सिजन आउन आधा घण्टा ढिला हुँदा अक्सिजन सप्लाई रोकिएर संक्रमितको मृत्यु हुन पुग्यो’ प्रवक्ता डा. गौतमले भने ।

अक्सिजनको अभावका कारण बचाउन सकिने बिरामीलाई समेत गुमाउनु परेको उनले बताए ।

भीम अस्पतालमा लुम्बिनी सांस्कृतिक नगरपालिका–११ का ३९ वर्षीय पुरुष, ओमसतिया गाउँपालिका–२ की ७० वर्षीया महिला र सिद्धार्थनगर नगरपालिका–४ की ४४ वर्षीया महिलाको मृत्यु भएको हो । संक्रमितले प्रयोग गरेका सिलिण्डरमा अक्सिजन सकिएर करिब ८ मिनेटसम्म अक्सिजन सप्लाई हुन नसक्दा उनीहरुले ज्यान गुमाएका हुन् ।

अस्पतालका सूचना अधिकारी डा. नारायण पोखरेलका अनुसार बिहान हावाहुरीले विद्युत अवरुद्ध हुँदा अस्पतालमा अक्सिजन आपूर्ति हुन ढिला भयो । संक्रमितले प्रयोग गरिरहेको सिलिण्डरको अक्सिजन सकियो, अर्को सिलिण्डर दिन नपाउँदा संक्रमितको ज्यान गयो ।

‘एकैछिन अक्सिजन सप्लाई रोकिएको थियो, अन्यत्रबाट सापटी ल्याइएको अक्सिजन जडान गर्दागर्दै तीनजनाको ज्यान गयो’ पोखरेलले भने, ‘अक्सिजन अभाव छ भनेर भर्ना नलिन पनि नसक्ने, बचाउन पनि नसक्ने अवस्था आयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
टोपराज शर्मा

ट्रेन्डिङ

Advertisment