Comments Add Comment

कारबाही भोग्छु, कांग्रेसलाई साथ दिन सक्दिनँ : थापा

२८ वैशाख, पोखरा । २०५१ सालदेखि संसदीय राजनीतिमा आएको राष्ट्रिय जनमोर्चालाई पार्टीगत नीति र अनुशासनप्रति निकै कट्टर मानिन्छ । तर पार्टीको इतिहासमै पहिलो पटक पार्टी नीति क्रस हुने अवस्था आएको छ ।

गण्डकी प्रदेशमा सरकार गठनको खेल चलिरहँदा जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापाले पार्टी केन्द्रको निर्णय विपरीत उभिएका छन् । जनमोर्चाले नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनको पक्षमा निर्णय गरेको छ, तर दलका नेता थापाले त्यसका लागि हस्ताक्षर दिन अस्वीकार गरेका छन् ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई दिएको समर्थन फिर्ता लिएर अविश्वास प्रस्तावको पक्षमा उभिने केन्द्रको निर्णयप्रति गण्डकीका तीन जना प्रदेशसभा सदस्य खुसी थिएनन् । तीनमध्ये एक प्रदेशसभा सदस्य खिमविक्रम शाही मतदानकै दिन अस्पताल भर्ना भएपछि प्रदेशसभामा मुख्यमन्त्रीको छिनोफानो गर्न मत हुन सकेन । पछिल्लो पटक मुख्यमन्त्री गुरुङले राजीनामा दिएपछि नयाँ सरकार गठनमा समर्थन गर्नुपर्ने अवस्था आयो ।

तर संसदीय दलका नेता थापाले कांग्रेस-माओवादी गठबन्धनका पक्षमा हस्ताक्षर गर्न मानेनन् । कांग्रेसकै कारण वर्षौंदेखि  दुःख पाएको र मुद्दा खेपेकाले कांग्रेसलाई साथ दिन नसक्ने उनको अडान छ । मुख्यमन्त्री गुरुङसँग नजिक थापाको यो निर्णयले पृथ्वीसुब्बालाई फेरि मुख्यमन्त्री बन्ने बाटो खोलेको छ ।

जनमोर्चाका राष्ट्रिय अध्यक्ष चित्रबहादुर केसीले थापा बिकेकाले कारबाही गर्ने चेतावनी दिन्छन् ।

सांसद थापाले भने कारबाही भोग्ने, तर कांग्रेसको पक्षमा नउभिने बताएका छन् । ८ वर्ष जनमोर्चा बागलुङ जिल्ला कमिटीको कार्यालय सचिव भएर काम गरेका थापाले जिल्ला अध्यक्षको जिम्मेवारी पनि सम्हाले । गत चैत २६ गते बुटवलमा भएको महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित थापा कांग्रेसले दिएको दुःख र स्थानीय जनताको दबाबका कारण यस्तो निर्णयमा पुगेको बताए ।

अध्यक्ष केसीले यसको खण्डन गरे । ‘वनको कुखुरो के बास्छ, के बास्दैन, बाहिरतिरका मान्छेले केके भन्छन् भनेर पार्टी चल्छ र ?’ केसीले भने, ‘गाउँ, टोलले के भन्यो भन्ने कुरा लाए, अहृयाएर भन्ने हो । जनमोर्चाले सधैं एउटैसँग कार्यगत एकता पनि गर्दैन । बेग्लाबेग्लै इस्यूमा राजनीतिक सहकार्य हुन्छ ।’

थापाले पार्टी नीतिबिपरीत काम गरेको भन्दै कारबाही प्रक्रिया अगाडि बढिसकेको अध्यक्ष केसीले बताए । ‘पार्टीबाट सांसद हुने अनि जता नाफा हुन्छ, उतै लाग्ने सांसदलाई के गर्ने त ? कारबाही हुन्छ नि’ केसीले अनलाइनखबसँग भने, ‘पार्टीले नेता बनाउँछ तर भ्रष्ट भयो, विक्री भयो र यताउति गयो भने त्यसलाई पार्टीले फूलमाला लगाउँछ त ? कारबाही गर्छ नि ।’

१५ गते अविश्वासको प्रस्तावमा मतदान गर्ने दिन प्रदेशसभा सदस्य शाही हराउनु र अहिले दलका नेताले नै पार्टीको हृवीप उल्लंघन हुनुलाई शंकाको नजरले हेर्नेहरु पनि छन् । गण्डकीको संसदीय समिति प्रदेश मामिलाको सभापतिसमेत रहेका थापा यसअघि नै मन्त्री हुन चाहेको पार्टीका नेताहरुले नै बताएका छन् ।

बुटवलमा २६ गते सकिएको महाधिवेशनमा अहिलेको सरकारमा सहभागी नहुने पार्टीले निर्णय नै गरिदिएपछि थापाको दाँतमा ढुंगा लागेको एक केन्द्रीय सदस्यले बताए । ‘थापाले मन्त्री खाने तयारी थालेका थिए तर अध्यक्षज्यूले रोक्नुभयो’ एक केन्द्रीय सदस्यले भने । अहिले मुख्यमन्त्रीसँगकै ‘सेटिङ’ आधारमा थापाको निर्णय गरेको जनमोर्चाका असन्तुष्ट समूहका नेताहरुको आरोप छ ।

थापा चाहिँ त्यो मान्न तयार छैनन् । पार्टी निर्देशनविपरीत उभिनुपर्ने के चाहिं कारण आइलाग्यो त ? प्रदेशसभा सदस्य थापासँग गरेको संक्षिप्त कुराकानी :

पार्टीले नयाँ सरकारको गठबन्धनलाई सहयोग गर्ने बताइरहँदा तपाईंले हस्ताक्षर गर्न किन अस्वीकार गर्नुभयो ?

कांग्रेसबाट देशको विकास हुन्छ, समृद्धि आउँछ, जनताको मुक्ति हुन्छ, राष्ट्रियता संरक्षण हुन्छ भन्ने सपना देख्नु दिवा स्वप्न हो । म जुन निर्वाचन क्षेत्रबाट विजयी भएँ, त्यहाँ कांग्रेसको शासनकालमा अत्यन्तै ठूलो अन्याय र पीडा खेपेको छु । दर्जनौं घटना घटेका छन् । सयौं झुठा मुद्दा छन् । कति साथीहरुले कांग्रेसको यातनाबाट अहिले पनि कष्ठकर जीवन बिताइरहनुभएको छ ।

ती कस्ता घटना हुन्, जसले पार्टीको निर्देशन उल्लघंन गर्नुपर्‍यो ?

२०४२ सालमा जैमिनीको जनता माविको घटना, २०४८ सालको जैमिनीको घटना बागलुङको राजनीतिक इतिहासमा कालो दिन हो । जुन दिनले अहिले पनि हामीलाई तर्साइरहन्छ । जैमिनी मेला, माघे सक्रान्तिमा लाग्ने धार्मिक मेला हो । त्यो मेलामा ज्ञानेश्वर वैद्यको हत्या भएको थियो । हत्या कसले गरेको भन्ने अज्ञात थियो । त्यही घटनालाई जोडेर मसाल सखाप अभियान चलाइयो । मसालको ४८/४९ जनालाई झुटा मुद्दा लगाइएको थियो । त्यो मुद्दामा पक्राउ परेका हाम्रा साथीहरुलाई ठूलो यातना दिइयो । पैंतालामा पिन घाेपियो । कांग्रेसकै कारण हामीले त्यो मुद्दा वर्षौं खेप्नुपर्‍यो । अहिले पनि कति साथीहरुले दुःख खेपिरहेकै छन् । यस्ता दर्जनौं घटना छन् ।

जनमोर्चाकै अध्यक्ष चित्रबहादुर केसी बागलुङकै हुनुहुन्छ, यो कुराको ज्ञात उहाँलाई पनि होला ? तर पार्टी नीति नै क्रस गर्नुपर्ने अवस्था तपाईंलाई मात्र किन आयो ?

यो अध्यक्षज्यूलाई पनि थाहा छ । तर, उहाँले अहिले स्थानीय जनताले के भन्छन् ? हामीले खेपेका पीडा के छन् ? हामी के चाहन्छौं भन्ने हेरिदिनुभएन । हाम्रा आवाज र वाध्यतालाई पनि सुन्नुहुन्छ भन्ने लागेको थियो । तर पार्टी नेतृत्वको निर्णय जनता र कार्यकर्तासँग जोडिएन । हाम्रा माग अर्कै छन् । हामीलाई समस्या अर्कै छन् । नेतृत्वले लाद्न मात्रै खोज्नुहुन्न ।

५१ सालदेखि संसद छिरेको जनमोर्चामा पहिलो पटक हृवीप उल्लंघन भएको छ, तपाईंको स्वार्थमा ठेस लाग्यो भन्छन् नि पार्टीकै नेताहरु ?

पार्टीको नीतिविपरीत काम भएको यो पहिलो घटना होइन, जनमोर्चामा अन्य घटना पनि छन् । यसको अर्थ पार्टीको निर्देशन र नीतिविपरीत जाने मेरो रहर होइन । म पनि लामो समय त्याग र योगदान गरेरै यहाँसम्म आइपुगेको व्यक्ति हुँ । यो अवस्था किन आयो भन्ने कुरा पक्कै नेतृत्वले बुझ्ने छ ।

पार्टी नीतिविपरीत निर्णय गर्दा त सबैभन्दा ठूलो असर त तपाईंलाई नै होला नि ?

एकाध घटनाले राजनीतिक जीवन समाप्त हुन्छ भन्ने लाग्दैन । जसका निम्ति राजनीति जीवन समर्पण गरें, एउटा घटनाले त्यही जीवन सकिएला भन्ने मलाई लाग्दैन ।

तर, पार्टीले अब कारबाही गर्ला नि ?

कुनै पार्टीमा प्रवेश गर्ने योजना पनि होइन, भोलि मैले केही पाउने पनि होइन । केवल मेरो मन नमानेको हो र गठबन्धनमा समर्थन नगर्न मलाई स्थानीय दबाब पनि छ । त्यसैले यो कदम चाल्न बाध्य भएको हुँ । पार्टीले कारबाही गरे भाेग्नै पर्ला ।

सत्ता पक्षसँग साँठगाँठ गर्‍यो, तपाई बिक्नुभयोसम्म पनि भन्न थालेको सुनियो नि ?

औंला उठाउन पाइयो, तर न्यायोचित ढंगले हेनुपर्छ । हामीले तीन वर्षसम्म पृथ्वीसुब्बाको सरकारलाई समर्थन गर्दा औंला नउठ्ने, अस्ति २६ गते राजीनामा दिएपछि औंला उठ्नुपर्ने कारण छ जस्तो लाग्दैन । यो लाभसँग होइन, सिद्धान्तसँग सम्बन्धित छ । हामी कांग्रेसलाई कम्तीमा २० वर्षसम्म सत्ताभन्दा बाहिर राख्न चाहन्छौं । कम्तीमा कम्युनिस्टहरुको सरकार बनोस् भन्ने चाहन्छौं ।

१५ गते मतदान गर्ने तयारी हुँदा खिमविक्रम शाही सम्पर्कबिहीन हुनुभयो, अहिले तपाईंले पार्टीको निर्णय मान्नु भएन । यसले ‘सेटिङ’को आरोपलाई बल पुग्दैन र ?

बिरामी भएर हस्पिटलमा जाँदा पनि नियोजित हुने, अर्को निर्णय गर्दा पनि नियोजित नै हुने, यो खास शंका मात्र हो । राजनीतिक भ्रष्टीकरण भएको मुलुकमा शंका गर्नु अस्वाभाविक होइन । तर त्यस्तो कुनै कारण होइन, मेरो विवेक नमानेको हो ।

पृथ्वीसुब्बालाई नै मुख्यमन्त्री बनाउनुपर्छ हो कि कांग्रेसलाई बनाउनुहुन्न भन्ने हो तपाईंको मत ?

मूल समस्या कांग्रेसकै हो । कांग्रेसलाई समर्थन गर्न मनले मानेन ।

कांग्रेसको ठाउँमा माओवादी केन्द्रको नेतृत्व भए मान्नुहुन्थ्यो ?

उधारो कुरा किन गरौं र ? त्यतातिर कुरा नगर्दै राम्रो होला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

ट्रेन्डिङ

Advertisment