
६ असोज, काठमाडौं । जेनजी आन्दोलन सकिएको १५ दिन बितिसकेको छ । यो बीचमा सुशीला कार्की नेतृत्त्वको आन्तरिम सरकार गठन भएको छ । अहिलेसम्म विस्तारित मन्त्रिपरिषद्मा आन्दोलन गर्ने पुस्ताको उपस्थिति देखिँदैन ।
कतिपयले यो सरकार समावेशी भएन भनेर पनि प्रश्न उठाइरहेका छन् । अहिलेको सरकारका बारेमा आन्दोलनमा प्रत्यक्ष संलग्न व्यक्तिहरू चाहिँ के भन्छन् त ? अनलाइनखबरले ६ जनासँग कुराकानी गरेको छ ।
‘पपुलर अनुहार’ बढी देखिए
– समय खड्का
मन्त्री पदका लागि सही व्यक्ति सही ठाउँमा हुनुपर्छ भन्ने हाम्रो मूल सरोकार हो । तर अहिलेको मन्त्रिपरिषद् हेर्दा ‘पपुलर’ अनुहार बढी देखिएका छन् ।
विजय कुमारको एउटा पुस्तकमा लेखिएको छ- डाक्टरलाई डाक्टरकै र इन्जिनियरलाई इन्जिनियरकै काम गर्न दिनुपर्छ; उनीहरूलाई राजनीतिमा ल्याउँदा सफल नहुन सक्छन् । तर अहिले त्यसको उल्टो देखिन्छ ।
उदाहरणका लागि, महावीर पुन राम्रा वैज्ञानिक भए पनि शिक्षा मन्त्रालय हाँक्न सक्ने राम्रो राजनीतिज्ञ वा नेता नहुन सक्छन् । यद्यपि, उनी असल सल्लाहकार बन्न सक्नेमा भने कुनै शङ्का थिएन ।
अहिलेको सरकार अन्तरिम भएकाले यसको मुख्य काम देशलाई चुनावसम्म लगेर कार्यसञ्चालन गर्नु हो । अब जति समय छ, त्यति छोटो अवधिमा मन्त्रालयको कार्यप्रणाली नै नबुझेको व्यक्तिलाई मन्त्री बनाउँदा कुनै परिणाम आउन सक्दैन ।
सिधै भन्नुपर्दा यो सरकारलाई ‘ट्रायल एन्ड एरर’ को छुट छैन । यहाँ सिधै विज्ञता र अनुभव भएका व्यक्ति चाहिन्छन् ।
त्यसकारण मैले अहिले जेनजीहरू मन्त्रालय सम्हाल्न जानु हुँदैन भनिरहेको छु । अनुभव नहुँदा हामीलाई उनीहरूले सजिलै घुमाइदिन सक्छन् ।
जनचाहनालाई प्राथमिकता
-रक्षा बम
हामी जेनजीहरूले श्रीमान् सुशीला कार्कीलाई आफ्नो सहजताअनुसार मन्त्री छनोट गर्ने पूर्ण अधिकार दिएका छौं । को मन्त्री बनाउनुपर्छ भन्नेमा हाम्रो कुनै हात छैन । भन्नुको अर्थ सरकारको नेतृत्वलाई आफ्नो ६ महिना कार्यकालको लागि सहज हुने टिम बनाउन पूर्ण स्वतन्त्रता दिइएको छ । उहाँले जोसँग काम गर्दा आफूलाई सहज हुन्छ, उहाँहरूलाई नै मन्त्री बनाउनु हुनेछ ।
सडकबाट बनेको सरकार भएकाले जनचाहना अनुसारका लोकप्रिय र सक्षम व्यक्तिहरू सामेल हुनुपर्छ भन्ने हाम्रो जोड छ । तर यो बीचमा प्रस्तावित स्वास्थ्यमन्त्रीको पृष्ठभूमिबारे विवाद बाहिर आयो । त्यस्तो खबर आउने बित्तिकै त्यो पद होल्डमा राखिएको छ । उहाँलाई पनि होल्डमा राखिएको छ । यस विषयमा पूर्ण छानबिन गरेर मात्रै अघि बढ्ने सरकारको तयारी रहेको जानकारी प्राप्त भएको छ ।
अहिले मन्त्रिपरिषद्मा जेनजीको प्रतिनिधित्वबारे पनि चर्चा चलेको छ । हामीलाई श्रीमान् सुशीलाजीले ‘तिमीहरूको पनि सहयोग चाहिन्छ’ भन्नुभएको थियो । त्यो बीचमा जेनजीलाई दुईवटा मन्त्रालय दिने चर्चा पनि चलेको थियो । यदि त्यस्तो प्रस्ताव आएमा सरकारमा जान हामीहरू तयार छौं । यद्यपि, हालसम्म यसबारे कुनै ठोस निर्णय भइसकेको छैन ।
समग्रमा अहिले जनताले रुचाएका पात्रहरू मन्त्री बन्नुभएको छ । देश र जनतालाई कस्तो बाटोमा डोऱ्याउँदा ठिक हुन्छ भन्ने ख्याल राखेर काम गर्नसक्ने अनुहार आउनु स्वागतयोग्य छ ।
‘फेक न्युज’मार्फत सरकारको छवि बिगार्ने प्रयास
-युजन राजभण्डारी
व्यक्तिगत रूपमा म गठन भइरहेको मन्त्रिपरिषद्प्रति आशावादी छु । जेनजीले सुशीला कार्कीलाई आफूलाई सहज हुने टिम गठन गर्न पूर्ण म्यान्डेट दिइसकेको छ । सोहीअनुसार उहाँले मन्त्रिपरिषद् विस्तार गरिरहनुभएको छ ।
नयाँ मन्त्रिपरिषद्को हालसम्मको संरचना हेर्दा समावेशिताले पनि प्राथमिकता पाएको छ । त्यहाँ जेनजीको प्रतिनिधित्व हुने/नहुने अहिले नै प्रष्ट छैन । तर प्रतिनिधित्व हुनेमा विश्वास छ । किनकि, प्रधानमन्त्रीले जेनजीको साथ र सहयोग आवश्यक रहेको र यो पुस्तालाई पनि पनि समेट्ने बताउनुभएको थियो ।
यद्यपि, मन्त्रिपरिषद् गठन प्रक्रिया विवादरहित भने बन्न सकेको छैन । स्वास्थ्यमन्त्रीको रूपमा चर्चामा आएकी संगीता कौशल मिश्राको नाम विवादमा तानियो । यसैगरी गृहमन्त्री लक्षित एक दैनिक पत्रिकाले समाचार छाप्यो । जुन ‘फेक न्युज’ हो । त्यो भनेको यस्ता समाचारहरू छापेर सरकारको छवि बिगार्ने र बदनाम गर्ने प्रयास हो ।
अब ढिला भयो भन्ने प्रश्न उठ्ला । तर मन्त्रिपरिषद् विस्तारमा भएको ढिलाइलाई कमजोरीको रूपमा नभई उम्मेदवारहरूको पृष्ठभूमिमाथिको अनुसन्धानको रूपमा हेर्नुपर्छ । किनकि, यति ठूलो आन्दोलनलाई कुनै पनि प्रभाव नपार्ने गरी उपयुक्त व्यक्तिलाई जिम्मेवारी दिनुपर्ने छ ।
विवादित व्यक्ति मन्त्री सिफारिस हुनु गैरजिम्मेवार
-तनुजा पाण्डे
अहिलेको सरकार संकट समाधान गर्न बनेको हो । यस्तो अवस्थामा युवाभन्दा पनि विज्ञता र अनुभव भएका व्यक्तिको आवश्यकता बढी हुन्छ । किनकि, जति विज्ञ आउनुहुन्छ, त्यति सहज कार्यप्रणालीमा जान सक्छौँ ।
सरकारको मुख्य लक्ष्य चुनाव गराउनु हो । यस्तोमा सक्षम र अनुभवी नेतृत्व आवश्यक पर्छ । तर युवाहरूलाई पूर्ण रूपमा पन्छाउन भने हुँदैन । यदि कोही जेनजीमा कुनै विषयमा विज्ञता छ भने अवसर दिनुपर्छ ।
अहिले मन्त्रीका लागि जेनजीले नाम सिफारिस गरेको हल्ला फैलिरहेको सुनिन्छ । जुन गलत हो । मन्त्रिपरिषद्मा कसलाई राख्ने, त्यसको सबै जिम्मा प्रधानमन्त्रीलाई दिइसकेका छौं ।
त्यस्तै सिफारिस गरिएको स्वास्थ्यमन्त्रीको विवादास्पद पृष्ठभूमि बाहिर आयो । त्यो प्रधानमन्त्री कार्यालयको गैरजिम्मेवारपूर्ण कदम हो । भ्रष्टाचारको आरोप लागेका व्यक्तिलाई मन्त्री बनाउँदा व्यक्तिसँगै स्वयं सरकारका लागि पनि हानिकारक हुन्छ ।
मन्त्रिपरिषद्को गतिविधि नियाल्न ‘वाचडग कम्युनिटी’
-संविधान प्रसाईं
मन्त्रिपरिषद् गठनलाई नजिकबाट नियालिरहेको छु । यहाँसम्म आइपुग्दा नयाँ मन्त्रिपरिषद्लाई लिएर विभिन्न विवाद सिर्जना भएको छ । जस्तै, स्वास्थ्यमन्त्रीको नियुक्ति हुनुअघि नै रोकिएको घटना । मन्त्रिपरिषद्मा महावीर पुनलाई समावेश गर्ने विषयमा पनि केही आलोचना भएका छन् ।
अहिले युवाहरूकै पनि विभिन्न समितिहरूको गठन प्रक्रिया अघि बढेको सुन्छु । ती सबैले अहिले धेरै जना अस्पष्ट र ‘झुलिरहेको’ छन् जस्तो लाग्छ । नयाँ मन्त्रिपरिषद्मा नयाँ पुस्ताको प्रतिनिधित्व नभएको विषयमा पनि मेरो चासो छ ।
चाँडै नै हाम्रो समूहले एउटा प्रेस विज्ञप्ति जारी गर्ने तयारी गरिरहेको छ । तर हामी सरकारमा प्रत्यक्ष सहभागी नभए पनि सरकारको काम कारबाहीलाई निगरानी गर्न एउटा ‘वाचडग कम्युनिटी’ गठन गर्नेबारे छलफल भइरहेको छ । यो सरकारका काम नजिकबाट नियालिरहने समूह हो ।
विज्ञताको नाममा समावेशितामाथि प्रश्न
-अर्णव चौधरी
मन्त्रिपरिषद् विस्तारको क्रममा अहिले ‘विज्ञ’ भनिएको सुनिन्छ । तर ‘विज्ञता’ को नाममा भइरहेको मन्त्री छनोट पुरानै सोच र विचारधाराबाट निर्देशित जस्तो पनि देखिन्छ, जसले समावेशlताको सिद्धान्तलाई उपेक्षा गरेको छ ।
‘मेरिटोक्रेसी’ (योग्यता प्रणाली) को नाममा समावेशितालाई पन्छाउने प्रपञ्च भइरहेको भान हुन्छ । किनकि, विज्ञहरू कहिल्यै पनि एउटै समुदाय र लिङ्गमा सीमित हुँदैनन् ।
त्यसबारे कुरा गर्दा जातिवादीको आरोप लाग्छ । तर म प्रश्न गर्छु- जब एउटै समुदायका व्यक्तिलाई मात्र स्थान दिइन्छ भने के चाहिँ जातिवाद नहुने हो ?
हालसम्म नियुक्त भएका मन्त्रीहरूमा लुम्बिनी प्रदेशभन्दा पश्चिमको कुनै पनि प्रतिनिधित्व छैन । त्यसो हुँदा स्रोत-साधनको बाँडफाँटमा जोखिम बढ्छ । सरकारप्रति मान्छेले अपनत्व महसुस गर्दैनन् ।
यो सरकार सडक आन्दोलनबाट बनेको हुनाले अझ बढी वैधता र अपनत्व खोज्नुपर्ने हुन्छ । सरकारमा जान कतिपयले जेनजीहरूलाई ‘अनुभवहीन’ र ‘अपरिपक्व’ भनेको सुनिन्छ । तर जुन युवाहरूले ‘हाम्रो कुरा सुनिएन’ भनेर यत्रो आन्दोलन गरे, उनीहरूलाई नै विज्ञताको नाममा पन्छाउन खोजिँदैछ ।
प्रतिक्रिया 4