Comments Add Comment
ओली र नेपाल पक्षको वार्ता : :

जेठ २ मा फर्किने कि नफर्किने ? कुन स्थायी कमिटीलाई मान्ने ?

२४ वैशाख, काठमाडौं । सत्तारुढ नेकपा एमालेका दोस्रो तहका नेताहरुले सहमतिका सम्भावित विकल्पहरुबारे छलफल शुरु गरेका छन् । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल आ-आफ्नो अडानमा रहेका बेला दुवै पक्षका दोस्रो तहका नेताहरुले भने सहमतिका आधार खोजी गर्न थालेका हुन् ।

शुक्रबार दुवै पक्षका तीन-तीन नेताले करीब दुई घण्टा बालुवाटारमा वार्ता गरेका छन् । दुवै पक्ष आफ्नो अडानमा केही लचिलो देखिएका छन् तर, जेठ २ २०७५ मा फर्किनुपर्ने नेपाल समूहको अडानमा ओली पक्ष सहमत भइसकेको छैन ।

वार्तामा ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल र विष्णु रिमाल तथा नेपाल पक्षबाट घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्ट सहभागी भएका थिए ।

वार्तामा सहभागी एक नेताका अनुसार पार्टी एकता जोगाउनुपर्छ भन्नेमा दुवै पक्ष सहमत छ । कसरी बचाउने भन्दा नेपाल पक्षले सर्वोच्च अदालतको २३ फागुनको फैसलाअनुसार २ जेठमा फर्किनुपर्ने पुरानै अडान राखेको छ । ‘उहाँहरुले हुँदैन पनि भन्नुभएको छैन, मान्नु पनि भएको छैन’ एक नेता भन्छन् ।

छलफलका क्रममा ओली पक्षका नेताहरुले पहिलाेकाे स्थायी कमिटी बैठक बस्ने प्रस्ताव गरेका छन् । नेपाल पक्षका नेताहरुले पहिलो स्थायी कमिटी भनेको कुन हो ? भनेर सोधेका थिए । उनीहरुको प्रश्न छ, नेकपा एमालेको नवाैं महाधिवेशनबाट निर्वाचित कि साविकको नेपाल कम्युनिष्ट पार्टीको नेकपाको स्थायी कमिटी ?

माओवादी केन्द्रसँग एकता गरेर नेकपा बनाउँदा एमालेको तर्फबाट नवाैं महाधिवेशनबाट निर्वाचित स्थायी कमिटीमा चार जना थपिएका छन् । नेकपाको स्थायी कमिटीमा रहेका माओवादी केन्द्रका चार नेता रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, मणि थापा र लेखराज भट्ट पनि अहिले एमालेमा नै छन् । वार्तामा सहभागी नेपाल समूहका एक नेता भन्छन्, ‘नवाैं महाधिवेशनबाट निर्वाचित पदाधिकारीसहितको स्थायी कमिटी भन्दा बादलजीहरुलाई पनि समावेश गरौं भन्दा हामीले हुँदैन भन्न सक्दैनौं ।’

तर त्यसका लागि पनि २ जेठ २०७५ मा फर्किनुपर्ने माधव नेपाल समूहका नेताहरुको अडान छ ।

वार्ताका क्रममा २८ फागुन र त्यसयता ओली पक्षले गरेका निर्णयहरु के गर्ने भन्ने पनि छलफल भएको थियो । साविकको नेकपा दुई समूहमा विभाजित हुँदा ओलीले केन्द्रदेखि जिल्लासम्म आफ्नो अनुकूल कमिटीहरु बनाएका थिए । एमाले पुनर्जीवित भएपछि पनि उनले नवाैं महाधिवेशनबाट निर्वाचित नेपाल समूहका नेताहरुलाई हटाएर आफूले बनाएको कमिटीलाई मान्यता दिएका छन् ।

यसमा कार्यदल बनाउने प्रस्ताव आएको र त्यसलाई अन्यथा मान्न नसकिने एक नेताले बताए । नेपाल समूहका अर्का नेता भन्छन्, ‘स्थायी कमिटीमा बादलहरुलाई थप्ने कि नथप्ने जस्ता प्राविधिक विषयहरुमा सहमति गरेर जान सकिन्छ, मूल प्रश्न सैद्धान्तिक रुपमा २ जेठमा फर्किने हो कि होइन भन्ने नै छ ।’

उनका अनुसार शुक्रबार भएको छलफलबारे दुवै पक्षले आआफ्नेा समूहका नेतालाई जानकारी गराउनेछन् र आपसी सहमतिका आधारमा फेरि संवाद हुनसक्छ ।

बालुवाटार बैठकमा सहभागी माधव समूहका नेता योगेश भट्टराईले भने संवाद शुरु भएको अनलाइनखबरलाई प्रतिक्रिया दिए । ‘एकताको भावना दुवैतिर देखिएको छ, तर त्यसले ठोस आकार दिएको छैन’ उनले भनेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment