
News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले अझै पनि देशको बलियो शक्ति भएको दाबी गर्नुभएको छ।
- ओलीले एकीकृत समाजवादीका नेता–कार्यकर्तालाई एमालेमा फर्किन आह्वान गर्नुभएको छ।
- ओलीले समाजवादी पार्टीका नेताहरूलाई आश्रय खोज्न नजान र एमालेलाई मजबुत पार्टी भएको बताउनुभएको छ।
२९ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सांगठनिकरूपमा एमाले अझै पनि देशको बलियो शक्ति भएको दाबी गरेका छन् ।
बुधबारदेखि सुरु भएको एमाले केन्द्रीय कमिटीको बैठकमा ओलीले एमाले फुटेर बनेको एकीकृत समाजवादीका नेता–कार्यकर्तालाई लक्षित गर्दै पार्टीमा फर्किन आह्वान गरेका हुन् ।
एमाले निर्माणमा एकीकृत समाजवादीमा रहेका नेता-कार्यकर्ताको पनि उत्तिकै भूमिका रहेको भन्दै उनले मूल घर फर्किन आग्रह गरे ।
माधव नेपाल नेतृत्व समाजवादीका नेता-कार्यकर्ता छहारी खोज्दै हिँडिरहेको टिप्पणी गर्दै ओलीले आश्रय खोज्दै अन्यत्र नभौतारिन आग्रह गरे ।
‘आज समाजवादी पार्टीका नेताहरू छहारी खोज्दै कसका पिँढीमा बास बसँु भनेर झोलीतुम्बा बोकेर कुद्दै छन्, म कार्यकर्ता साथीहरुलाई भन्न चाहन्छु, तपाईं आफैंले बनाएको पार्टी यहाँ छ, आश्रय खोज्न नजानुस् कुनै चौपारी खोज्न नजानुस्, कसैका बलेसीबाट भित्र छिरेर ओत लाग्ने कुरा नखोज्नुस् । यो मजबुत घर छ, यसलाई कसैले डग्मगाउन सक्दैन यो मजबुत पार्टी हो,’ उनले भने ।
ओलीको सम्बोधनको अंश :
विभिन्न कालखण्डमा कतिपय कारणले कतिपय साथीहरूले गल्ती गर्नु भएको छ । तर अब तिनै गल्तीमा अल्झिएर बस्ने बेला होइन ।
कतिले पार्टीले विभाजन गरे गराए । संगतले होला सम्पर्कले होला । अरु कारणले होला, साथीहरू भ्रममा पर्नु होला । भूलवस अनेक संगत परिस्थितिले पार्टी परित्याग गरेर पनिजानुभयो होला, विभाजनमा पनि अर्कोतिर कुद्नु भयो होला ।
तर नेकपा एमाले एउटा फराकिलो छाती भएको विशाल अभिभारा काँधमा बोकेर हिँडेको पार्टी हो यसको मनमा, यसको हृदयमा संकिर्णता छैन । त्यसकारण म साथीहरुलाई आग्रह गर्न चाहन्छु, हिजो जो घर छोडेर अन्यत्र जानु भएको थियो घर फर्किनका लागि म आग्रह गर्न चाहन्छु ।
हिजो उहाँहरुसँगै भएर पनि हामीले यो पार्टी निर्माण गरेको हो । उहाँहरुको पनि यो पार्टी निर्माण गर्नमा योगदान छ, विभिन्न कारणले जानुभो होला कुनै समय कतै, त्यसैमा नअल्झिनु ।
आज समाजवादी पार्टीका नेताहरु छहारी खोज्दै कसका पिँढीमा बास बसँु भनेर झोलीतुम्बा बोकेर कुद्दै छन्, म कार्यकर्ता साथीहरुलाई भन्न चाहन्छु, तपाईं आफैंले बनाएको पार्टी यहाँ छ, आश्रय खोज्न नजानुस् कुनै चौपारी खोज्न नजानुस् । कसैका बलेसीबाट भित्र छिरेर ओत लाग्ने कुरा नखोज्नुस् । यो मजबुत घर छ, यसलाई कसैले डग्मगाउन सक्दैन यो मजबुत पार्टी हो ।
प्रतिक्रिया 4