Comments Add Comment

डोटी जिल्ला अस्पताल : बजेट छ, अक्सिजन छैन, मेसिन छ, जनशक्ति छैन

२५ वैशाख, डोटी । डोटी जिल्ला अस्पतालमा उपचाररत एक जना संक्रमितको शुक्रबार निधन भयो । सप्तरी जिल्ला घर भई रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र, दिपायलमा इन्जिनियर पदमा कार्यरत ३३ वर्षीय ती युवकमा २० गते कोरोना संक्रमण देखिएको थियो । उनलाई स्वास्थ्य समस्या भएपछि बुधबार जिल्ला अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा अक्सिजन दिँदादिँदै अवस्था बिग्रिएपछि उनलाई शुक्रबार बिहानै रिफर गरिएको थियो । एम्बुलेन्समा राखेर अस्पतालको गेट नकट्दै उनको ज्यान गयो ।

उनलाई भेण्टिलेटरमा राख्नु पर्ने थियो, अस्पतालमा भेण्टिलेटर सुविधा नभएका कारण बाहिर रिफर गर्नुपरेको अस्पतालले जनाएको छ । ‘अस्पताल भर्ना गरेकै दिन उनको अवस्था गम्भिर थियो, हामीले हामीसँग आइसियू र भेन्टिलेटर नभएकाले अन्यत्र लग्न सुझाव दिएका थियौं,’ जिल्ला अस्पताल डोटीका कोभिड फोकल पर्सन डा. राजेन्द्र फुलारा भन्छन्, ‘अन्य ठाउँमा उपचारका लागि बेड नपाइने अवस्था भएपछि यतै राखिएको थियो ।’

गत बुधवारमात्रै जिल्ला अस्पतालमा उपचाररत डोटी आदर्श गाउँपालिकाका ६२ वर्षीय एक पुरुषले पनि कोरोना संक्रमणकै कारण ज्यान गुमाएका थिए ।

जिल्ला अस्पताल डोटीमा हाल १४ जना कोभिड संक्रमितहरु उपचाररत छन् । उनीहरुमध्ये पाँच जनालाई अक्सिसन दिएर उपचार भइरहेको डा. फुलाराले बताए । ‘उहाँहरु पाँचै जनालाई कोभिड निमोनिया भएको छ, अक्सिजन सेचुरेसन ९० भन्दा तल छ,’ डा फुलाराले भने, ‘त्यसैले नियमित अक्सिजन दिएर राखेका छौं ।’

जोडिएन अक्सिजन प्लाण्ट

अस्पतालमा एक सिलिण्डर मात्र अक्सिजन बचेको डा. फुलाराले बताए । ‘यो सिलिण्डरले एक जनाका लागि चार घण्टासम्म काम गर्छ,’ डा. फुलाराले भने, ‘धनगढीबाट केही थान सिलिण्डर आइरहेका छन् भन्ने खवर आएको छ, साँझसम्म पुग्छ कि !’

अक्सिजन प्लाण्ट जडानका लागि प्रदेश सरकारले गत चैतमै जिल्ला अस्पताललाई ८० लाख रुपैयाँ बजेट पठाएको थियो । तर हालसम्म अक्सिजन प्लाण्ट भने जडान भएको छैन । किन ढिलाइ भयो त अक्सिजन प्लाण्ट जडानमा ? अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज जोशी भन्छन्, ‘सरकारी कामकाज बिभिन्न प्रक्रिया पुर्याएर गर्नुपर्ने भएका कारण ढिलो भएको हो ।’

प्रक्रिया पुरा नगरी काम गरे बेरुजु आउने डर भएको अध्यक्ष जोशी बताउँछन् । उनले अब जेठको दोस्रो या तेस्रो सातासम्म अक्सिजन प्लाण्ट जडान हुन सक्ने बताए ।

पाँच महिनासम्म थन्कियो आइसियूको सामग्री 

सुदूरपश्चिम प्रदेश सरकारले अस्पतालमा दुई सेट भेन्टिलेटर र दुई बेडको आइसियू सञ्चालनको लागि आवश्यक सामाग्री गत मंसिरमा पठाइसकेको थियो । तर जनशक्ति अभावमा आइसियू जडान हुन सकेको छैन । आएका सामानहरु अस्पतालको एक कोठामा थन्किएका छन् ।

आइसियु र भेन्टिलेटर सञ्चालन गर्न तालिम प्राप्त दक्ष जनशक्तिको आवश्यकता पर्ने जुन अस्पतालमा नरहेको डा. फुलारा बताउँछन् । ‘आइसियु र भेण्टिलेर सञ्चालनका लागि कम्तीमा एक जना एमडि एनएसथेसिया, एकजना इन्टरनल मेडिसनबाट एमडि, तालिम प्राप्त मेडिकल अधिृकतहरु, नर्सिङ्ग स्टाफहरु र पारामेडिसियनहरु चाहिन्छ,’ डा. फुलाराले भने, ‘त्यसका लागि २४ घण्टा अक्सिजनको ब्यवस्थापन हुनु पर्ने हुन्छ र अन्य आवश्यक उपकरण पनि चाहिन्छ ।’ डा. फुलाराले अस्पतालसँग अहिले भएको जनशक्तिले भेण्टिलेटर नचल्ने बताए ।

तर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जोशी अक्सिजन प्लाण्ट जडान नभएकै कारण आइसियू सञ्चालनमा नआएको बताउँछन् । उनी भन्छन्, ‘आइसियू सञ्चालनका लागि स्वास्थ्यकर्मीहरुले तालिम लिएर आइसकेका छन् ।’

दुवै एम्वुलेन्स थन्किए

जिल्ला अस्पतालसँग भएका दुबै एम्वुलेन्स थन्किएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले उपलव्ध गराएको ‘सी’ मोडेलको सुविधा सम्पन्न भनिएको एम्बुलेन्स अस्पतालले प्रदेश सरकारलाई फिर्ता पठाएको छ ।

‘खर्चिलो धेरै भयो, बिग्रिने भयो अनि कच्चीमा पनि नजाने, तेल धेरै खाने भएका कारण उतै धनगढीमै छ,’ व्यवस्थापन समिति अध्यक्ष जोशी भन्छन्, ‘अर्को पुरानो एम्बुलेन्स थियो, त्यो पनि बिग्रिएको छ, मर्मत भइरहेको छ, एक–दुई दिनमा चल्ने अवस्था हुन्छ ।’

एकातिर कोरोनाको संक्रमण बढ्दो, अर्कोतिर अस्पतालको अवस्था यस्तो, स्थानीयवासीहरु चिन्तित भएका छन् । अस्पताल व्यवस्थापन समिति र कर्मचारी, कर्मचारी–कर्मचारीबीचको द्वन्द्वले अस्पतालको यो अवस्था आएको एक कर्मचारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment