Comments Add Comment

फोहोर सङ्कलन नहुँदा ताप्लेजुङ सदरमुकाम दुर्गन्धित

७ वैशाख, ताप्लेजुङ । नियमितरुपमा फोहोर सङ्कलन नहुँदा ताप्लेजुङ सदरमुकाम दुर्गन्धित बन्दै गएको छ । सदरमुकामभित्रका घर, पसलअगाडि फोहोरका थुप्रा बढ्दै गएका छन् भने सार्वजनिक ठाँउमा समेत फोहोर वस्तु थुपिँदै गएको छ ।

बजार क्षेत्रका तरकारी तथा फलफूल पसलमा बेच्न राखिएका खाद्य वस्तुसँगै जोडेर फोहोरले भरिएका बोरा राख्न थालिएको छ भने जिल्ला समन्वय समितिको कार्यालयकै अघि पर्ने सडक छेउमा फोहोर सडेर दुर्गन्ध नै आउन थालेको छ ।

दैनिक दर्जनौँ सवारीसाधन पार्किङ गरिँदै आएको तोक्मेस्थित बसपार्क फोहोरले भरिएको छ । वरिपरिबाट फोहोर वस्तु फालिएको पाइएको छ भने यात्रुले प्रयोग गरेका प्लास्टिकजन्य वस्तु यत्रतत्र छरिएर रहेका पाइन्छन् । सडकका पेटीमा वारपार फोहोर भरिएका बोरालाई नै राखिएको छ भने बजार बीचमा नै फोहोर जलाउने गरिएकाले धुवाँधुलोसमेत बढ्दै गएको छ ।

करिब तीन महिनादेखि फोहोर सङ्कलन नभएको गुनासो गर्दै तोक्मे बजारका व्यापारी घनश्याम तिमल्सिनाले फोहोरले आफ्नै पसलको स्टोर भरिएपछि नजिकै लगेर जलाएको बताए ।

यसरी बढ्दै गएको फोहोरका कारण स्थानीयवासी त मारमा परेका छन् नै दैनिक सयौँको सङ्ख्यामा आउने पाथीभरा जाने तीर्थयात्री एवम् पर्यटकले समेत फोहोरको समस्या बेहोर्न बाध्य बनेका छन् । महिनैपिच्छे फरक फरक मान्छे फोहोर सङ्कलन गरेको पैसा भन्दै माग्न आउँछन् तर नियमित फोहोर सङ्कलन नहुने गरेको स्थानीयवासीको भनाइ छ ।

फोहोर सङ्कलनका लागि एउटा टिपर थन्क्याएर बसेको नगरपालिकाको कार्यालयले भने स्थानीयवासीले पैसा नदिएर समस्या भएको बताएको छ । नगरपालिकाका सूचना अधिकारी बिमला थापाले फोहोर सङ्कलनका लागि जिम्मा दिएर खटाएको मान्छेलाई स्थानीयवासीले पैसा नै नतिरेपछि समस्या भएको बताए ।

विभिन्न समयमा केही मान्छेलाई ठेक्का दिएको तर मासिकरुपमा फोहोर सङ्कलन गरेबापत बुझाउनुपर्ने शुल्क स्थानीयवासीले नबुझाएपछि नियमित फोहोर सङ्कलन नभएको थापाको भनाइ छ । अहिले पनि एक स्थानीयवासीलाई तीन दिनदेखि फोहोर सङ्कलनका लागि जिम्मा दिएको थापाले बताए पनि बजार क्षेत्रमा फोहोर उठ्न सकेको छैन ।

नगरपालिकाको कार्यालयसँग फोहोर सङ्कलनका लागि एउटा टिपर भए पनि टुविल मात्रै भएकाले कच्चीमा गुडाउन समस्या भएको बताइएको छ । कच्ची रोडमा नजाने भएपछि सो टिपर पनि कमै मात्र प्रयोग हुने गरको छ ।

अर्कातिर ड्राइभर नहुँदा थप समस्या भएको छ । एक वर्षअघि नै सो टिपर फोहोर सङ्कलनका लागि खरिद गरिएको थापाले बताए । तर यता फोहोरकै थुप्रोअघि बस्न बाध्य बनेका स्थानीयवासीले भने नगरपालिकाको कार्यालयले फोहोर सङ्कलन तथा व्यवस्थापनमा गम्भीरता नदेखाएकाले समस्या बढ्दै गएको आरोप लगाएका छन् ।
रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment