Comments Add Comment

गन्धर्वबारे ‘सारङ्गी’

१६ बैशाख, काठमाडौं । अल्पसङ्ख्यक गन्धर्व जातिको सामाजिक र सांस्कृतिक विशेषतामा आधारित भएर लेखिएको भुवनहरि सिग्देलको उपन्यास ‘सारङ्गी’ सार्वजनिक भएको छ ।

शनिबार सर्वनाम थिएटरमा आयोजित कार्यक्रममा गन्धर्व समाज नेपालका अध्यक्ष कर्णबहादुर गन्धर्वको प्रमुख आतिथ्यमा साहित्यकार श्यामल, माया ठकुरी र नरनाथ लुइँटेलले उपन्यास लोकार्पण गरे ।

कृतिमाथि टिप्पणी गर्दै कवि तथा निबन्धकार श्यामलले बोल्न नसक्ने र कान नसुन्नेको समस्यालाई उपन्यासले उठाएको भन्दै यो उपन्यास गन्धर्व समाजको गाथा भएको बताए ।

‘उपन्यासले गन्धर्व समुदायको जीवनको विडम्बना प्रस्तुत त गरेको छ नै’, उनले भने, ‘उत्पीडित जातिमा पनि नसमेटिएको आख्यानुसन्धान गरेर समाजशास्त्रीय दृष्टिकोणले देखिएको छ ।’

यस्तै, कथाकार ठकुरीले सिग्देलले यो उपन्यास अनुसन्धान गरेर तयार गरेको भन्दै खुसी प्रकट गरिन् । उनले भनिन् ‘उपन्यासमा नारी र पुरुषको सामाजिक अवस्थाका साथै गन्धर्व जातिको जीवनशैली आएकाले साहित्यले नयाँ विषय पाएको छ ।’

अर्का वक्ता लुइँटेलले उपन्यासले श्रवण शक्ति नभएकाहरुको मनोविज्ञान समेट्नुका साथै नेपालको मौलिक बाजा सारङ्गीको संरक्षणको लागि सबैलाई झकझक्याएको उल्लेख गरे ।

कार्यक्रममा गन्धर्व जातिको प्रतिनिधि भएर उपस्थित भएका गन्धर्व समाज नेपालका अध्यक्ष कर्णबहादुरले आफूहरुको समस्या समेटेर किताब लेखिदिएकोमा लेखकलाई आभार प्रकट गरे । पुस्तक शिखा बुक्सले प्रकाशन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment