Comments Add Comment

ललितपुर महानगरपालिकाः केन्द्रबाटै भागवण्डाको तयारी

भावी मेयरलाई पूर्वमेयरको प्रश्न- संस्कृतिको धनी महानगर बनाउन सक्नुहुन्छ ?'


१७ बैशाख, ललितपुर । पहिलो चरणको स्थानीय निर्वाचन आउन अब दुई हप्तामात्रै बाँकी छ । साना नगरपालिका र गाउँपालिकामा उम्मेदवार छनोट लगभग टुंगिए पनि ठूला उपमहानगरपालिका र महानगरपालिकामा भने प्रमुख दलले उम्मेदवारहरुको टुंगो लगाउन सकेका छैनन् ।

स्थानीय तहको निर्वाचनमा देशभपिरका ४ महानगरपालिकालाई मतदाता र दलहरुले बढी चासोका साथ हेरेका छन् । यसमा ललितपुर पनि सबैको चासोको महानगरपालिका हो ।

पुरानो वामपन्थी गढ भएकाले ललितपुरमा माओवादीले जित हात पार्ने दाबी गर्दै आएको छ । यसका लागि कांग्रेस वा एमालेसँग केन्द्रीय स्तरमा तालमेल गर्ने माओवादीको योजना छ ।

केन्द्रबाटै चारवटा महानगरपालिकाको लेनदेन गर्ने तयारी भइरहेको छ ।

यसका लागि माओवादीले भरतपुर र ललितपुर महानगरपालिकाको मेयर आफूले लिएर काठमाडौं र पोखरामा अरुलाई सघाउने संकेत कांग्रेस र एमाले दुबै दललाई दिएको छ ।

डेढ लाख मतदाता रहेको सांस्कृतिक शहर

ललितपुर महानगरपालिकामा २९ वटा वडा छन् । आगामी निर्वाचनमा ललितपुर महानगरपालिकाको विकासका लागि मतदाताले कुल १ सय ४७ जना जनप्रतिनिधि निर्वाचित गर्नेछन् ।

ललितपुर महानगरपालिकामा १ सय ३२ मतदान केन्द्र तोकिएको निर्वाचन आयोगले जनाएको छ ।

यी प्रतिनिधि छनोटका लागि महानगरपालिकामा कुल १ लाख १२ हजार ९ सय २३ जना मतदाता छन् । त्यसमध्ये पुरुषको संख्या ५४ हजार ५ सय ८९ छ भने महिला मतदाताको संख्या त्योभन्दा बढी अर्थात ५८ हजार ३ सय ३४ छ ।

ललितपुर महानगरपालिकालाई उत्तर-पूर्व, उत्तरी भाग, पश्चिम भाग र दक्षिण-पश्चिम भागमा बागमती नदीले घेरेको छ । दक्षिणतर्फ भैंसेपाटीसम्म फैलिएको छ । यो यस्तो महानगरपालिका कला नै कलाको सहर भएर पनि भद्रगोल छ । वातावरण असरल्ल छ । ढल फुटेर अधिकाशं भाग दुर्गन्धित बनेको छ । खाली जमिन पाउन करिब-करिब मुस्किल छ ।

तर, यहाँ सकारात्मक पक्षहरु धेरै छन् । ललितपुर महानगरपालिकाभित्र साना ठूला गरी २१५ वटा गुम्बाहरु छन् । हरेक चोक र गल्लीमा मन्दिर छन् । यस्तो ऐतिहासिक-सांस्कृतिक शहर रहेको महानगरपालिकाको मेयरमा को निर्वाचित होला भन्ने अहिलेको मुख्य चासो हो ।

तीन दलमा क-कसको चर्चा ?

ललितपुरमा नेपाली कांग्रेसले चिरिबाबु मर्हजनलाई मेयरको उम्मेदवार बनाउने चर्चा छ । उनी ०३८ सालदेखि लगातार वडा नम्बर ३ को वडा अध्यक्ष थिए । व्यवस्थापनका विद्यार्थी चिरिबाबुसँग विभिन्न विकाससँग सम्वन्धित कार्यक्रमको प्रमुख भएर काम गरेको अनुभव छ ।

कांग्रेसको तर्फबाट सुरुमा मेयरमा दावेदार ५ जना देखिएकोमा अहिले दुई जनामात्रै देखिएका छन् । त्यसमा पनि चिरिबाबुको सम्भावना बढी देखिएको बताइन्छ ।

उम्मेदवारका दाबेदार चिरिबाबुले आफु मेयरमा निर्वाचित भएमा स्थानीय तहको अधिकारलाई जनताले महसुस गर्ने गरी प्रयोग गर्नु नै आफ्नो पहिलो प्राथमिकता हुने बताए । उनले पूर्वाधार विकासको सवालमा ललितपुरको थापाथलीदेखि पुल्चोकसम्म फ्लाइ ओभर निर्माणका लागि प्रक्रिया अगाडि बढाउने बताए ।

माओवादी केन्द्रले ललितपुर महानगरपालिका आफुले जित्ने लक्ष राखेको छ । उसले स्थानीय नेता दिपेश महर्जनलाई उम्मेदवार बनाउने लगभग निश्चित गरिसकेको छ ।

अनलाइखबरसँग कुरा गर्दै महर्जनले आफु मेयरमा निर्वाचित भएमा ललितपुरको परम्परागत ऐतिहासिक संस्कृतिको संरक्षण, प्रवर्द्धन गरी पर्यटन विकासको केन्द्र बनाउने घोषणा गरेका छन् । उनले संस्कृतिको जगमा पर्यटन विकास गर्ने र त्यसको राजस्वबाट महानगरपालिकालाई देशकै एक नम्बरको समृद्ध महानगरपालिका बनाउने दाबी गरे ।

एमालेको तर्फबाट मेयरका दावेदार हरिकृष्ण व्यञ्जनकारले ललितपुर महानगरपालिकालाई ५ वर्षभित्र अन्र्तराष्ट्रिय स्तरको महानगरको बाटोमा पुर्‍याउने घोषणा गरेका छन् ।

व्यञ्जनकारले भने- ‘मेरो सपना स्मार्ट महानगरपालिका बनाउने हो । त्यसमा सबैकुरा पर्छ ।’

पूर्वमेयर बुद्धिराज बज्राचार्यको सुझाव

ललितपुर उपमहानगरपालिकामा २२ बर्ष मेयर भएर काम गरेका पाटनका बुद्धिराज बज्राचार्य अबको मेयरका लागि मुख्य चुनौती त्यहाँको सांस्कृतिक सम्पदाको संरक्षण गर्नु रहेको बताउँछन् ।

उनले अनलाइनखबरसँग भने, कला संस्कृतिको शहरलाई संरक्षण गर्नुपर्ने छ । तर, ढलेका पुरातात्विक सम्पदाको पुनर्निर्माण, जिर्णोद्धार र संरक्षण गर्न सजिलो छैन ।

बज्राचार्यका अनुसार मेयरको अर्को चुनौती भनेको ललितपुरलाई सफा राख्नु हो । अहिले ललितपुरका हरेक गल्लीहरु छिर्नै नसकिने गरी फोहोर छन् । यसलाई सफा राख्नु आवश्यक छ ।

यस्तै खाल्डाखुल्डी सडक निर्माणलाई पनि ध्यान दिनुपर्ने उनको सुझाव छ ।

नयाँ आउने मेयरलाई पूर्वमेयरको प्रश्न छ- ‘अस्तव्यस्त ललितपुर महानगरपालिकालाई व्यवस्थित बनाएर साँच्चै कला संस्कृतिको धनी महानगरपालिका बनाउन सक्नुहुन्छ ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment