Comments Add Comment

एमालेले भन्यो- चौतर्फी हमला रोक्न राप्रपासँग कार्यनीतिक तालमेल

मुद्दा र एजेण्डा मिल्नेसँग तालमेल स्वाभाविकः महासचिव पोखरेल

२१ बैशाख, काठमाडौं । नेकपा एमालेले कांग्रेस र माओवादीको योजनामा एमालेमाथि चौतर्फी आक्रमण रोक्न राप्रपासँग कतिपय स्थानमा चुनावी तालमेल गरिएको प्रष्ट पारेको छ ।

राप्रपासँग काठमाडौं र ललितपुर महानगरपालिकामा चुनावी तालमेल गरेसँगै कांग्रेस-माओवादी वृत्तबाट र एमालेभित्रै पनि कतिपयले प्रश्न उठाएपछि नेताहरुले यसलाई कार्यनीतिक तालमेल भनेका छन् ।

विहीबार केन्द्रीय कार्यालय धुम्बाराहीमा पत्रकारहरुसँग कुरा गर्दै एमाले महासचिव ईश्वर पोखरेलले स्थानीय चुनावमा मुद्दा मिल्ने र स्थानीय एजेण्डा मिल्नेहरुसँग तालमेल गर्नु स्वाभाविक रहेको बताए ।
महासचिव पोखरेलले भने- हाम्रो मुख्य प्रतिस्पर्धी कांग्रेस हो, उसले बैचारिक धरातल छाडेर अनैतिक साँठगाँठसहित हामीमाथि प्रहार गरेपछि त्यसको प्रतिवाद गर्न मुद्दा मिल्ने शक्तिहरुलाई आफूतिर ल्याउन खोजिएको हो ।’

राष्ट्रिय स्वाधीनता, सम्वृद्धि र भौगोलिक अखण्डताका सन्दर्भमा कांग्रेस र माओवादीभन्दा राप्रपा बढी राष्ट्रवादी शक्ति भएकाले कांग्रेस-माओवादी गठबन्धनबाट उसलाई आफ्नो पक्षमा तानिएको नेताहरुले बताए । ‘कांग्रेस सिद्धान्तच्यूत भएर जातीय क्षेत्रीय अतिवादी शक्तिहरुसँग लम्पसार परेको छ । हामीले देशभक्त लोकतान्त्रिक शक्तिहरुलाई समेत तालमेलमा ल्याएर लम्पसारवादीहरुलाई परास्त गर्न केही ठाउँमा राप्रपासँग मिलेका हौं’ पोखरेलले भने ।

एमाले सचिव तथा प्रचार-विभाग प्रमुख योगेश भट्टराईले सिन्धुपाल्चोक लगायत कतिपय जिल्लामा राप्रपा-माओवादी र राप्रपा-कांग्रेस तालमेल भएको उदाहरण दिँदै एमालेको तालमेल कार्यनीतिक रहेको बताए । उनले भने- ‘हामी मूलतः एक्लै चुनाव जित्छौं । तर, जहाँ हामीविरुद्ध मोर्चाबन्दी हुन्छ, त्यहाँ हामीले तुलनात्मक रुपमा देशभक्त शक्तिसँग तालमेल गरेर जान्छौं । यस्तो कुरा दुनियाँमा जहाँ पनि हुन्छ, माओत्सेतुङले च्याङकाइसेकसँग तालमेल गरेजस्तै हो ।’

स्थानीय आवश्यकता अनुसार माओवादी,राप्रपा जोसँग पनि तालमेल हुन सक्ने नेताहरुले बताए । कतिपय गाउँमा कांग्रेससँग समेत तालमेल भएको उदाहरण दिदै भट्टराईले भने-यो चुनाव एमालेले जित्ने हो । केही ठाउँमा स्थानीय सम्बन्धहरुले काम गर्छन् । तालमेल सम्बन्धी हाम्रो कुनै कडीकडाउ छैन ।

स्थानीय तहको प्रमुख वा उपप्रमुखमध्ये एक महिला उम्मेदवार बनाउनैपर्ने कानुन एमालेकै दबावमा बनेको सचिव भट्टराईले बताए । ‘हामीले एकाधबाहेक हरेक जिल्लामा कम्तिमा एक महिलालाई प्रमुखकै उम्मेदवार बनाएका छौं, एमाले सचिव भट्टराईले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment