Comments Add Comment

कथा: प्रेमको आदिदेखि आदिसम्म

मान्छेहरु बूढाबूढीको ठाकठुक परालको आगो हो भन्छन् । तर, यो प्रेमी-प्रेमिकाको ठाकठुकलाई के भन्दा हुन्, कहिलेकाहीँ सोच्ने गर्छु ।

ऊ मसँग रिसाएकी छे । सम्बन्धलाई मजबुत बनाउन कहिलेकाहीँ रिसाउनुपर्छ, झगडा गर्नुपर्छ भनेर कसले भन्दिएछ ?

यस कारण मेरो फेसबुक शान्त छ, मोबाइलले आराम पाएको छ ।

बिना काममा रिसाउनेहरुलाई रिसाउन दिने हो । पछि आफैं ठाउँमा आउँछन् ! फकाउने बानी पनि छैन ! इमानदारीका साथ भन्नुपर्दा मलाई फकाउन आउँदैन । मेरो यो कमजोरी हो ।

रिसले आफ्नो आफ्नो धर्म छोडेपछि ‘ओए घमण्डी, ट्विटर र फेसबुकको आईडी चाहियो’ भन्दै ऊ मलाई भेट्न आई । उसले मसँग यसरी मागी, मेरो एकाउन्ट मानौं उसको आफ्नै खल्तीको पैसा हो र मैले चोरेर राखेको छु ।

आईडी दिएँ ।

फेरि झोक्किई- ‘अनि पासवर्ड खै ?’

रुझेको बिरालोको आवाजमा भनेँ- ‘आईडी भन्या हैन त ?’

‘दिने कि नदिने?’ उ झन् आगो भई ।

दुनियाँ यतिसम्म भर्चुअल भइसक्यो, प्रेमको विश्वास दिलाउन आईडी र पासवर्ड दिनुपर्ने !

‘पासवर्ड तिम्रो मुस्कान राखेको छु । आफैं हान्नू’,  मैले सिरियस जोक मारेँ ।

ऊ हाँसी । हासो आँखासम्म पुगेन ।

पुतलीसडकको लुम्बिनी तन्दुरीमा उसलाई मैले पहिलो चोटि कलेज ड्रेसमा देखेको हुँ । मेरो अफिसको खाजा खाने समय र उसको कलेजको ब्रेक टाइम एउटै रै’छ । ऊ साथीहरुसँग आएकी थिई ।

धेरै दिनसम्म यही घटना दोहोरियो । एकदिन चार आँखा गाभिए । म लाजले रातो हुँदै निहुरिएँ । सायद ऊ पनि निहुरिएकी थिई वा अरु केही गरी, मैले मेसो पाइनँ ।

संयोगले उसैसित अर्को घटना भयो । साँझ अफिसको काम सकेर कीर्तिपुर जान बसपार्क पुगेँ । मलाई कोलाहलमय वातावरण एकदमै मन पर्छ । मान्छेहरु हतारमा देखिन्छन्, चरा गुडँमा फर्किन हतार गरे झैं । उसो त मान्छेको संख्याभन्दा कीर्तिपुर जाने गाडीहरु एकदमै कम छन्  ।

मान्छेहरु गाडी चढ्न यसरी हानथाप गर्छन्, मानौं यो अन्तिम गाडी हो, जुन कीर्तिपुर नगरी हुँदै अमेरिका जाँदै छ !

किसान

मान्छेको रमिता हेर्दै गर्दा त्यही भिडमा देखेँ उसलाई, जोसँग मेरो आँखा फ्रिज भएको थियो र म चाहिँ पग्लिएको थिएँ । नजिक हुँदा राम्ररी नियाल्ने मौका पाएँ । उसको निधार ठूलो थियो । सोचेँ, भाग्यमानीको निधार ठूलो हुन्छ । नाक पनि लामै थियो, बाहुनी रै’छे केटी ।

मान्छे राम्रै थिई । तर, आँखा ठूलो भइदिएको भए…!

आ होस् ! भगवान्‌ले सबैलाई सबै कुरा कहाँ दिन सक्छन् र ! अलिअलि एडजस्ट गर्नुपर्छ जिन्दगीमा । संयोगवश ऊ म नजिक आई । मलाई पिसाब आउला जस्तो भो !

‘यति धेरै मान्छे छन्, गाडी किन कम होला के !’, ऊ फुसफुसाउन थाली ।

‘बाटो जाम होला, गाडी आउँदै पो छन् कि ? के गर्नु, सबैका आफ्नै समस्या छन्’,  मैले आदर्शको खेती गरेँ ।

कहीँ कतै नदेखेको मान्छेसँग कुराको सुरुवात गर्न गाह्रो लाग्छ मलाई । तर, एक-दुई पल्ट कतै देखेकोसँग बोल्न उति कठिन लाग्दैन । त्यसमाथि ऊसँग त मेरो आँखा जुधेको छ ।

मन दह्रो बनाएर सोधेँ, ‘यदि म गल्ती छैन भने पुतलीसडकमा हजुरलाई धेरै पटक देखेको छु ।’

‘होला, म जस्तो यो दुनियाँमा सात जना छन्’, उसले भाउ खाई । तर, मैले उसलाई भाउ दिन छोडिनँ ।

‘हजुर पनि कीर्तिपुर जान लाग्नु भाको ?’ मैले नरम स्वरमा भनेँ ।

‘म नयाँबजार बस्छु’, मेरो बोली खस्न नपाउँदै उसले जवाफ दिई ।

‘हजुरसँग बोल्न पाउँदा खुशी लाग्यो’, मैले औपचारिकता निर्वाह गरेँ ।

‘म पनि दु:खी त कहाँ भाकी छु र !’ तात्तातो जवाफ फर्काई ।

बोल्नमा चाहिँ केटी जब्बर रै’छे ।

‘अनि तपाईं कुन ठाउँ बस्नुहुन्छ ?’, शून्यतालाई चिर्दै उसले सोधी ।

‘म ट्याङ्ला चोक ।’

‘ए ए एकै ठाउँमा रै’छ’, उसले ओठ लेप्य्राई ।

‘पुग्नुपर्ने एकै ठाउँ रै’छ, सँगै जाउँला सिटमा बसेर’, मैले दुक्का तुरुप फालेँ । उसले नाइँनास्ती गरिन ।

बस चढियो । खाली गाडी चढ्न पाउँदा किन-किन ठूलै युद्ध जिते जस्तो महसुस हुन्छ ।

सिटमा बसेपछि उसलाई सोधे- ‘कुन लेभल पढ्नुहुन्छ ?’

‘बीबीए फस्ट सेमेस्टर ।’

‘कुन कलेज … ?’

उसले यसरी मेरो प्रश्नको जवाफ दिई, मानौं यो कुनै हाजिरीजवाफ प्रतियोगिता हो, फटाफट जवाफ नदिए अर्कैले मेडल उछिट्याउँछ ।

उसले पनि मेरो परिचय सोधी । मेरो नाम सुनेर ऊ एकछिन मौन बसी । फेरि सोधी- ‘अनि थर ?’

मैले पौडेल भनिदिएँ ।

उसका अभिव्यक्तिले उसका रुचि र भावना थाहा हुँदै गयो । पोखरा उसलाई मन पर्ने ठाउँ रै’छ । मैले कसैगरी पनि उसको नाम सोध्ने आँट भने गर्न सकिनँ ।

हामीबीच बोल्ने शब्द सकिएको थियो । अब के सोध्ने भन्ने दुविधा भयो मलाई । एक मनले भन्यो, धेरै बोल्दा मन नपर्ने हो कि ! ‘फस्ट इम्प्रेसन इज लास्ट इम्प्रेसन’ भन्ने कुरामा सचेत रहेँ ।

गाडीमा गीत घन्कियो-

पछ्यौरी ले बैना,
आजै टुङ्गो लगाइदेमाया छ कि छैन

मैले चुपचाप गीतको आनन्द लुटेँ । गीतकारले सही गीत लेखेछ । ड्राइभरले टाइममा गीत बजायो । मनमनै दुवैलाई धन्यवाद दिएँ ।

यहीबीचमा उसले फेसबुक खोली । खै के-के गर्दै थिई । मैले फेसबुक र ट्विटर सम्बन्धी आफूले भ्याएसम्मको फाइदा-बेफाइदाको कुरा गरेँ । फेसबुकमा मलाई सर्च गरेर प्रोफाइल हेरी ।

फोटो हेरी । मेरो स्टाटस पढी । एकैछिनमा डाटा बन्द गरेर मोबाइल लक गरी । मलाई झोक चल्यो ।

गाडी कुलेश्वर आइपुगेको थियो । एकलट गणेश मन्दिरको दर्शन गरेँ । उसले फेरि फेसबुक खोली अनि मलाई फ्रेन्ड रिक्वेस्ट पठाउँदै भनी- ‘मिल्छ भने एक्सेप्ट गर्नुहोला है !’

बल्ल शान्ति मिल्यो । खुसीका बाछिटाले मनको क्यानभास रङ्गीन भयो । मन मादक बने पनि अनुहारको भाव उस्तै राखेँ । बस नयाँबजार आइपुग्यो । उसले भाडा तिर्दै भनी, ‘कुनै दिन तपाईंको पालो ल ?’

म खुसीले हैरान भएँ । कुनैदिन भाडा तिर्ने शर्तमा हामी छुट्टियौं । मन चङ्गा भयो । रुम पुगेँ ।  फेसबुक खोलेँ । नाम- अम्नोसिस खरेल ।

वाह, कस्तो गजब नाम !

घरमा बिहेको प्रेसर दिन थालेपछि मलाई कुनै केटीको नामभन्दा थर जान्ने उत्सुकता बढ्छ । हिन्दू धर्म त्यसमाथि परम्परागत परिवारमा गोत्र मिलाउनुपर्ने झन्झ टजो छ ।

फेसबुकको रिक्वेस्ट एक्सेप्ट गरेँ । गुगलमा उसको नामको अर्थ धुइँधुइँती खोजेँ । तर, केही पत्तो लागेन । केही छैन, अम्नोसिसको अर्थ ‘पौडेलकी बुहारी’ बनाइदिएँ !

ओ हेल्लो, के छ खबर ? भाडा तिरिदिने हैन ?

एक सातापछि फेसबुकमा म्यासेजको सिग्नल देखा पर्‍यो । आएको कुन ठाउँबाट हो कुन्नि, मेसेन्जरको बाटो हुँदै मेरो मनसम्म पुग्यो ।

अरु मलापुगेकै छ सानू, तिमी छैनौ तिम्रै कमी 

यति टाइप गरिसकेको थिएँ, मेटाएँ । बरु रिप्लाई गरेँ- मौका नै कहाँ दिनुभयो  ?’

मिल्छ भने आज सँगै जाऔंला नि हुन्छ ? उसले आफ्नो मनसाय व्यक्त गरी ।

अफिसको कामले म भ्यालीबाहिर रहेको कुरा उसलाई बताइदिएँ । उसले थम्सअप को बटन थिची र अफलाइन गई ।

त्यसपछिका दिन नम्बरको आदानप्रदान गर्‍यौं । फोनमा उसले कलेजका हरेक घटना सुनाउँथी । जिन्दगी कुरा गर्थी । सपनाको कुरा गर्थी । आफ्नो रहर र सोखका कुरा गर्थी । जीवन-दर्शनका कुरा गर्थी ।

मलाई एकदम मन पर्थे उसका कुरा । मैले आफ्नो जिन्दगीमा भएका उतारचढावहरुलाई फिक्सनाइज्ड गरेर सुनाउँथेँ । अधुरा प्रेम-कहानी सुनाउँथेँ ।

म कसैसँग यसरी पहिलो पटक खुलेको थिएँ । (सायद मैले मेरो मनको कुनै कुनामा उसलाई आफ्नो ठान्न सुरु गरेको थिएँ ।)

‘साँच्ची म कतिऔं मा परेँ होला ?’ ऊ जिस्किन्थी ।

एकदिन उसले सोधी- ‘हजुरले मलाई प्रेम गर्नुहुन्छ हो ?’

उसको यस्तो अनपेक्षित प्रश्नले धन्नै दिमाग पड्किएन ! कसैकी छोरीलाई म तिमीलाइ प्रेम गर्छु भनेर भन्ने आधार के ? प्रेम गर्दिनँ भनेर पनि भन्ने कारण चाहिँ के ?

म रन्थनिएँ भित्रभित्रै । मानौं शान्त तलाउमा ढुङ्गा फाल्यो कसैले । मेरो वाक्य फुटेन । मौन बस्नुको अर्थ सहमति जनाउनु हैन । फेरि असहमति जनाउनु पनि त हैन नि !

मैले लजाउँदै ‘अँ त मन पराउँछु’ भनिदिएँ । ऊ लाजले गुजुल्टो पर्दै मुस्कुराई । उछिट्टिएका दाँत बिछट्टै मन पर्‍यो मलाई, जुन यसअघि कहिल्यै महसुस भएको थिएन ।

जिस्किँदै भनेँ, ‘मन पर्नु र प्रेम गर्नुको अर्थ एउटै हैन नि । फेरि यो दुनियाँमा मन पर्ने सबै चिजलाई प्रेम गरिँदैन !

‘पागल !’ उसले भनी ।

म ‘तपाईं’ बाट ‘तिमी’ मा झरेको थिएँ । ऊ ‘तपाईं’ मै अडिग थिई ।

शनिबारको दिन म एक्लै जाने गरेको कीर्तिपुर चियापसलमा उसलाई लिएर गएँ । चियाको अर्डर गरेँ ।

साहु बडो जान्ने भएर चियासँगै चुरोट लिएर आयो । मलाई भाउन्न भयो ।

ऊ आधाकप चिया नपिउँदै ‘काम छ’ भनेर निस्की ।

मैले चियापसलेलाई थर्काएँ । उसले गल्ती भएको सम्झ्यो र नीलो भयो ।

एक-दुई दिन ऊ बोल्न आइन । मेरो नैतिकताले उसलाई बोलाउन दिएन । तेस्रो दिन लामो म्यासेज पठाई, चुरोट छोड्नुस् भन्ने आशयको ।

‘म चुरोट छोड्छु’, कसम खाएँ । तर, उसले पत्याए पो !

‘भयो-भयो, कसम खाएर नाटक नदेखाउनू । कसम तोडिनको लागि खाइन्छ ! म भन्दा पहिले हजुरको जिन्दगीमा चुरोट आएको हो । के उसलाई यति सजिलै कसम खाएर  माया मार्नुहुन्छ ?’ उसले पूरै दिमाग भुट्ने प्रश्नगरी !

बोली मेरो ओठबाट सुरेली खेलिहाल्यो- ‘प्रेमको  लत लागेपछि यस्ता स-साना कुरा छोड्नु सामान्य हो ! चुरोट मेरो जिन्दगीको किस्सा हो,

तिमी हिस्सा !’

‘पागल !’ उसले स्माइली स्टिकर पठाई ।

‘यदि कुनै दिन बाध्यतावश हाम्रो सम्बन्धमा पूर्णविराम लाग्यो या सम्बन्धको डोरी चुँडियो भने के गर्नुहुन्छ ?’ उसको यस्तो प्रश्नले मेरो रिस उच्चतम बिन्दुमा पुग्यो ।

‘पहिले तिमीलाई मार्छु अनि म मर्छु !’

‘यस्तो आर्टिफिसियल जवाफ नदिनू ! भन्नु न के गर्नुहुन्छ ?’ ऊ मेरो आशय बुझ्न चाहान्थी ।

‘प्रेमको अन्तिम लक्ष्य बिहे हैन । सम्बन्ध भन्ने चिजमा पूर्णविराम लाग्छ भन्ने कुरामा मलाई विश्वास लाग्दैन । तर, आजको हाम्रो सम्बन्ध भोलि केही दूरीमा रहनेछ । हाम्रो सम्बन्ध फूल जस्तै पवित्र र कोमल छ । तिमीलाई थाहा छ, फूल चुँडियो भने कि कसैको शिरमा सजिन्छ कि त मन्दिरमा ।’

धेरै बेरसम्म उसको जवाफ आएन । सायद मेरो कुरामा के-के सोचिरही । सायद मेरो कुरामा मौन सहमति थियो कि उसको ! मैले मोबाइलको मौन स्क्रिनमा उसको चालचुल पर्खिरहेँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment