Comments Add Comment

ढोरपाटनका दलित मेयरः माओवादीबाट बार्इ, एमालेबाट हार्इहार्इ !

नवनिर्वाचित मेयरको सपना- दलित बस्तीमा शिक्षाको उज्यालो

७ जेठ, बाग्लुङ । ढोरपाटन नगरपालिकाबाट निर्वाचित देवकुमार नेपाली प्रदेश नम्बर चारका एक मात्र दलित मेयर हुन् । दलित समुदायलाई आरक्षणमा बाहेक खुल्ला प्रतिस्पर्धामा कम अवसर दिने गरेको गुनासो गरिरहँदा देवकुमार नेपालीले मेयरमा चुनाव जिते ।

बाग्लुङको ढोरपाटन नगरपालिका वडा नं.१ बुर्तिवाङका नेपालीले काँग्रेसका अर्जुन शेरचनलाई पराजित गर्दै मेयरमा निर्वाचित भएका छन् । उनको जितसँगै दलित समुदायमा थप उत्साह छाएको छ ।

माओवादी केन्द्र निकट मानिएका नेपाली चुनावको मुखमा नेकपा एमालेबाट मेयरको उम्मेदवार बनेका थिए । दलित, जनजाति बाहुल्य क्षेत्र रहेको ढोरपाटन नगरपालिका क्षेत्र शिक्षा क्षेत्रमा पछाडी परेकाले पहिलो प्राथमिकता शिक्षालाई लिएको नेपालीले बताए ।

नेपालीको जितसँगै दुई छाक टार्नका लागि आफ्ना छोराछोरीलाई भारतीय शहरमा मजदुरीका लागि पठाउनुपर्ने बाध्यता हट्नेमा स्थानीय आशावादी बनेका छन् ।

‘मुलुकमा धेरै परिवर्तन भए, तर उपल्लो ठाउँमा आफ्नो समुदायको व्यक्ति नपुग्दा स्थानीयको समस्या समाधानमा खासै चासो हुँदोरहेनछ, अब भने केही हदसम्म आशावादी बनेका छौं’ स्थानीय रुपमा बिकले भनिन् ।

ढोरपाटन नगरपालिकाका बोवाङ, अधिकारीचौर लगायतका क्षेत्रमा दलितको उल्लेख्य बसोवास छ । युवा अवस्थाबाटै बामपन्थी विचार राख्दै आएका नेपाली सामाजिक क्षेत्रमा बढी सक्रिय थिए ।

अभिभावकको आर्थिक समृद्धिबिना बालबालिका विद्यालयसम्म आउने वातावरण नबनेको भन्दै नेपालीले भने– ‘यस क्षेत्रमा आर्थिक समृद्धिका थुप्रै आधारहरु छन्,यहाँको उत्पादनलाई व्यवस्थित गर्ने हो भने मात्र स्थानीयको आयस्तरमा बृद्धि हुन सक्छ, त्यसतर्फ हामीले योजनावद्ध रुपमा योजना सहित काम गर्ने लक्ष्य राखेका छौं ।’

त्यहाँका विभिन्न विद्यालयमा निजी श्रोतमा शिक्षकहरु आफैले तलव खुवाएर राखेका र कम्प्युटर कक्षा सञ्चालनका लागि समेत सहयोग गर्दै आएका नेपालीलाईठूलो बाहुल्य रहेको त्यहाँको दलित समुदायले तपाई नै उठ्नुपर्छ भनेपछि आफूलेएमालेको तर्फबाट उमेदवारी दिएको बताउँछन् ।

उमेदवार हुनुअघि कुनैबेला यसरी मेयर बनुँला भन्ने सोच्नुभएको थियो ?अनलाइनखबरको प्रश्नमा उनले भने– ‘त्यस्तो त सोचेको थिइनँ, सामाजिक क्षेत्रमा मात्रै काम गर्छु, कुनै पदका पछाडि लाग्दिनँ भनेको, तर यसपालि यहाँका दलित समुदायले तपाई नै बन्नुपर्छ भनेर कर गरेपछि उठेको हुँ, जितियो पनि ।’

मेयर भएवापत आउने सम्पूर्ण राज्यकोषको रकम त्यहाँको शैक्षिक क्षेत्रमा खर्च गर्ने नेपालीले निर्वाचन अगाडि नै घोषणा गरेका थिए । ‘मैले निर्वाचन अगाडि गरेका प्रतिवद्धता पूरा गर्नतर्फ लाग्छु, सरकारी तलव शिक्षा क्षेत्रमा लगानी गर्छु ।’ नेपालीले भने ।

ढोरपाटन क्षेत्रको पर्यटन विकासमा र त्यहाँको हरेक टोलमा मोटरबाटो बनाउने र स्तरोन्नति गर्ने आफ्नो खास एजेण्डा रहेको उनको भनाइ छ । नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटन शिकार आरक्ष आफ्नै नगरपालिकाभित्र पर्ने भएकाले त्यहाँबाट हुने आम्दानीलाई स्थानीय विकासमा खर्च गर्ने नेपालीको योजना छ ।

‘नगरपालिका बने पनि अहिलेसम्म त्यहाँको विकास हुन सकेको छैन, धेरै गाउँमा सडक पुग्न सकेको छैन, आलु उत्पादनको पकेट क्षेत्र मानिएको ढोरपाटनबाट आलु निर्यात गर्न सकेका छैनौं’ उनी भन्छन्, ‘यी सबै काम पूरा गर्न आफूसामु ठूलो जिम्मेवारी थपिएकाले आजैका दिनदेखि त्यस क्षेत्रको विकासबारे योजना सहित अगाडि बढ्ने योजना बनाएको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment