Comments Add Comment

गाउँपालिका अध्यक्ष सीतालाई अष्ट्रेलिया यहीँ, इजरायल पनि यहीँ !

इजरायल र अष्ट्रेलियाबाट फर्केकी सीताको नयाँ यात्रा

१ असार, काठमाडौं । पहिलो चरणको स्थानीय चुनावमा २८३ स्थानीय तहमध्ये जम्मा १२ स्थानमा महिलाले प्रमुख जित्दा सीता अधिकारी (पौडेल)ले हिमाली जिल्ला रसुवामा बिजयको झण्डा फहराइन् । यो यस्तो संयोग बन्यो कि रसुवाको इतिहासमा महिलाले प्रमुख जितेको पहिलो पटक हो ।

अष्ट्रेलियाबाट फर्के लगत्तै उम्मेदवार

तीन महिनाअघि अष्टे्रलियाबाट नेपाल फर्किदासम्म उनी आफैंले पनि सोचेकी थिइनन्, गाउँपालिकाको अध्यक्ष बन्ने कुरा । तर राजनीति धेरैखाले सम्भावनाहरुको खेल हो भन्ने तीन महिनाबीचमा उनी आफैंले देखिन् र भोगिन् ।

४५ वर्षीया सीताका लागि एमाले पार्टी, गाउँपालिका अध्यक्ष र अहिलेको माहौल यी सबै बिल्कुल नयाँ हुन् । ‘सबै कुरा एकाएक भयो, आफैंलाई अचम्म पनि लागिरहेको छ र बेकारमा २ दशकको उर्जाशील समय अन्यत्र लगाइएछ भन्ने पश्चाताप पनि’ सीताले अनलाइनखबरसँग भनिन् ।

२३ वर्षसम्म उनले कांग्रेसको राजनीति गरिन् । बैदेशिक रोजगारीका लागि ५ वर्ष इजरायल बस्दा पनि उनी कांग्रेसबाट टाढिएकी थिइनन् । तर पछिल्लो अष्टे्रेलिया बसाई छोट्याएर रसुवा फर्किदा उनले काँग्रेससँग दुई दशक लामो सहयात्रा अन्त गरिन् ।

महिला उपाध्यक्षमात्रै उठ्ने कुन कानुनमा छ ?

रसुवाका एमाले सांसद जनार्दन ढकाल लगायतसँगको छलफलपछि उनले पार्टी प्रवेशमात्र गरिनन्,गाउँपालिका अध्यक्षको टिकट समेत हात पारिन् । उनलाई गाउँपालिका उपाध्यक्ष उठाउने कुरा थियो,तर महिलाले उपाध्यक्षमात्रै उठ्नुपर्ने कुन कानुनमा छ ? भन्दै उनले नेतृत्वलाई निरुत्तर बनाइन् ।

उनले भनिन्-महिलालाई उपप्रमुखमा मात्र राख्ने भनेर संविधान र कानुनले त भनेको छैन । मलाई गाउँपालिका अध्यक्षको टिकट दिनुस रसुवामा नमूना काम गरौं भने । पार्टी नेताहरुले पनि मेरो क्षमता पहिचान गर्नुभयो । जनताले मलाई जिताए ।

एमालेका प्रभावशाली नेता भवानीप्रसाद न्यौपाने गाउँपालिका अध्यक्षका स्वभाविक दाबेदार थिए । उनले पनि महिलालाई अध्यक्ष बनाउने अवसर आउँछ भने उपाध्यक्ष बस्न तयार छु भने । चुनावमा सीताले १४५८ मत प्राप्त गरेर बिजय हासिल गर्दा कांग्रेसका साधुराम पौडेलले १२२५ मत पाए ।

इजरायल र अष्ट्रेलियापछिको नयाँ गन्तव्य एमाले

उनले २३ वर्षसम्म नेपाली कांग्रेसमा बिभिन्न पदमा बसेर काम गरिन् । यसबीचमा घरपरिवार धान्न उनी बैदेशिक रोजगारीका क्रममा इजरायल पुगिन् । त्यहाँ ५ वर्ष काम गरेर फर्किएपछि गाउँमै सक्रिय थिइन् । ‘पछिल्लो समय चाहिँ राजनीतिक भन्दा सामाजिक काममा बढी सक्रिय भएँ’ उनले भनिन् ।

उनका छोरा बुहारी तथा परिवारका अन्य सदस्य अष्ट्रेलिया भएकाले पछिल्लो समय अष्ट्रेलियमा बस्दै थिइन् । अष्ट्रेलियाबाट फर्केपछि उनले एमालेको राजनीतिमा सक्रिय हुने निधो गरिन् । ‘जहाँ महिलाको सम्मान हुन्छ त्यहीँ काम गरौं भन्ने लागेर एमाले रोजेँ’ एमाले प्रवेशबारे उनको स्पष्टीकरण यही हो ।

शिक्षिकादेखि वैदेशिक रोजगारसम्म

सीता एमाले भए पनि उनको माइती र घरतिरका अधिकांश सदस्य कांग्रेसमै छन् । भाइ कांग्रेसको जिल्ला सचिव नै भइसकेका हुन् । जनताले अनुमोदन गरेपछि परिवारका सदस्यको शुभेच्छामात्रै पनि पर्याप्त छ उनलाई ।

सीताले ११ वर्ष स्थानीय विद्यालयमै शिक्षिकका रुपमा काम गरिन् । त्यसपछि उनी वैदेशिक रोजगारीका लागि इजरायल गएकी थिइन् । उनको माइती र घर दुवै कालिका गाउँपालिकाभित्रै पर्छ । परिवारका सदस्य अष्ट्रेलिया भएका कारण उनी पनि उतै बस्न थालेकी थिइन् ।

अष्ट्रेलियाको पिआर छैन

कतिपयले चुनाव लड्नका लागि नेपाल आएको टिप्पणी पनि गरे । त्यसबारे सीताको जवाफ यस्तो छ-मलाई कतिपयले यस्तो टिप्पणी पनि गरे । अष्टे्रेलियाको पीआरवाला हो पनि भने । तर मेरो पासपोर्टमा १ वर्षको भिसा थियो,त्यो पनि सकिन लागेको छ ।

अष्ट्रेलियाको सम्वृद्ध जीवन छाडेर गाउँपालिका अध्यक्ष हुने रहे किन ? यो प्रश्नमा सीताले भनिन्-इजरायलमा पनि काम गरेँ । अष्टे्रेलियाको लाइफ पनि बिताएँ । तर, आफ्नो गाउँ जस्तो कतै लागेन । मनैदेखि भनेकी हुँ- मेरा लागि अष्टे्रलिया यही, इजरायल पनि यहीँ । अर्थात कालिका गाउँपालिका ।

जम्मा ७ महिनामात्र अष्ट्रेलिया बसिन् सीता । गाउँ फर्किँदा चुनावी महौल देखेपछि उनलाई पनि जोस पलायो । ‘अष्ट्रेलिया भन्दा त आफ्नै गाउँको विकास गरौं भन्ने लाग्यो’ उनले भनिन् ।

पहिलो निर्णय भिलेज प्रोफाइल

चुनाव जितेपछि के गर्ने ? गाउँपालिकाको अध्यक्ष महिला भएपछि महिलाका लागि त केही गर्नैपर्ला ? यस्ता प्रश्नको जवाफ उनीसँग तयार छ । उनले चुनाव जित्नासाथ कुनै महत्वाकांक्षी निर्णय गरिनन् बरु ‘भिलेज प्रोफाइल उतार्ने’ निर्णयमा पहिलो हस्ताक्षर गरिन् ।

सीताले भनिन्- अध्यक्ष महिला हुँदैमा महिलाका लागि फरक गर्ने कुरा होइन । महिलालाई क्षमता विकास गर्दै अवसर दिनुपर्छ । मेरो काम त्यता केन्दि्रत हुनेछ । पहिले गाउँको भिलेज प्रोफाइल बनाउँछु । त्यसपछि ५ वर्षको योजना बनाएर काम गर्ने हो । जुन प्रोफाइलका आधारमा ५ वर्षअघि र पछिको विकासको इन्डिकेटर थाहा हुनेछ ।

चुनाव जित्नका लागि उम्मेदवारले नपुग्ने आश्वासन बाँडेका हुन्छन् । पैसाको त खोलै बगाउने प्रचलन आइसकेको छ । तर, आफूले चुनावमा आश्वासन नबाँडेको सीताले बताइन् । उनले भनिन्-मैले आश्वासन बाँडेको छैन । नेतृत्व वर्गले केही काम गरेनन् भन्ने जनतामा रहेछ, मैले गाउँको विकास गर्छु, सामुहिक अवसरहरु सिर्जना गर्छु, तर व्यक्तिगत स्वार्थका काम नहुन सक्छन् भनेर चुनावमै भनेकी छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment