Comments Add Comment

चीनको प्राथमिक विद्यालयमा बम आक्रमण

२ असार, काठमाडौं ।  चीनमा रहेको एउटा पूर्व–प्राथमिक विद्यालयमा बिहीवार भएको विष्फोटमा बम प्रयोग भएको पुष्टि भएको छ ।

उक्त विस्फोटमा आठ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका स्थानीय प्रशासनले जनाएको छ । मारिनेमा स–साना नानीबाबुहरु परेका छन् । उक्त विद्यालयको बाहिरपट्टिको सार्वजनिक बाटोमा हिँडिरहेका व्यक्ति पनि घाइते भएका छन् ।

चिनियाँ प्रहरीले गरेको अनुसन्धानबाट उक्त आक्रमणमा बमको प्रयोग गरिएको पाइएको छ । प्रहरीले अनुसन्धानपछि उक्त विस्फोटक पदार्थ बम रहेको पत्ता लागेको जानकारी शुक्रबार दिएको छ ।

प्रहरीले भनेको छ– सो विस्फोटक पदार्थ घरैमा निर्माण गरिएको हाते बम थियो र त्यो निकै शक्तिशाली पनि थियो । जसले गर्दा त्यति धेरै क्षति पुगेको छ ।

शुक्रबार सार्वजनिक प्रहरी प्रतिवेदनमा भनिएको छ– उक्त पदार्थ बम रहेको थियो र एकजना २२ वर्षीय युवकले सो बम आत्मघाती रुपमा विस्फोट गराएको पाइएको छ । उसको पनि सोही बम विस्फोटमा परी ज्यान गएको छ ।

जियाङ्सु प्रान्तका फेङ्सियन प्रदेशमा रहेको एक नर्सरीका बालबालिका अध्ययन गरिरहेको कक्षाकोठा नजिकै बिहीबार अपरान्ह सो विस्फोट भएको थियो ।

चीनको सार्वजनिक सुरक्षा मन्त्रालयले शुक्रबार बिहान प्रकाशन गरेको विज्ञप्तिमा २२ वर्षीय एकजना युवकले सो विस्फोट गराएको र उसको पहिचान पनि भइसकेको जानकारी दिएको छ ।

उक्त युवा उक्त प्राथमिक विद्यालयनजिकै डेरा गरी बस्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको समाचारमा जनाइएको छ । त्यस युवामा स्वास्थ्यसम्बन्धी समस्या रहेको पाइएको पनि सो विज्ञप्तिमा उल्लेख गरिएको छ । रासस/सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment