Comments Add Comment

दाङमा एमालेलाई अर्को सफलता, लमही नगरपालिकामा पनि विजयी

उपमेयरमा कांग्रेसकी देबका बेल्बासे निर्वाचित

२० असार, लमही । दाङको लमही नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । मेयरमा एमालेका कुलबहादुर केसी निर्वाचित भएका हुन् ।

लमही कांग्रेस नेता खुमबहादुर खड्काको गृहनगर हो । लमहीमा कांग्रेसका डिल्लीबहादुर खड्का बागी उम्मेदवार थिए ।

खुमबहादुर निकट कांग्रेसका आधिकारिक उम्मेदवार जोगराज चौधरीलाई ८३ मत अन्तरले पछि पार्दै एमालेका केसी लमही नगरपालिकाको पहिलो मेयर बन्न सफल भएका हुन् । केसीले ५ हजार १५२ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी चौधरीले ५ हजार ६९ मत पाए ।

माओवादी केन्द्रकी उम्मेदवार दौपती पौडेलले ४ हजार ८१ मत पाइन् ।  कांग्रेसका बागी उम्मेदवार डिल्लीबहादुर खड्काले २३९ मत पाएका छन् ।

उपमेयरमा कांग्रेसको जित 

लमहीको मेयर एमालेले जित्दा उपमेयरमा भने कांग्रेसकी देवका बेल्बासे निर्वाचित भएकी छन् । उनले एमाले उम्मेदवार मीना गुरुङलाई १७२ मत अन्तरले हराइन् । बेल्बासेले ५ हजार १५ मत पाएकी छन् भने गुरुङले ४ हजार ८४३ मत पाएकी छन् ।  माओवादीको उपमेयर उम्मेदवार कालुराम चौधरीले ४ हजार ४२ मत पाए ।

दाङका १० स्थानीय तहमध्ये एमालेले पाँच तह जितिसकेको छ । एमालेले घोराही उपमहानगरपालिका र लमही नगरपालिकासहित गढवा गाउँपालिका, बबई गाउँपालिका र दंगीशरण गाउँपालिका जितेको छ । मतपरिणाम आउन बाँकी तुलसीपुर उपमहानगरपालिकामा पनि एमालेका उम्मेदवार घनश्याम पाण्डेले अग्रता कायम राखेका छन् ।

यसैगरी कांग्रेसले राप्ती, राजपुर र शान्तिनगर गाउँपालिका जित्दा माओवादी केन्द्र बंगलाचुली गाउँपालिकामा विजयी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment