+
+

कांग्रेस-एमालेको शक्ति पुगेमा गणतन्त्र उल्टिन्छः प्रचण्ड

माओवादी र देशभक्त शक्तिहरुको एकतामा जोड

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन २४ गते १८:१७

२४ साउन, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादी र देशभक्त शक्तिहरुको एकता आवश्यक रहेको बताएका छन् ।

माओवादीहरु फरक-फरक नामका पार्टीहरुबाट चुनाव लड्दा प्राप्त जनमतले एकताका लागि दवाव दिएको भन्दै अध्यक्ष प्रचण्डले अब एकताको नेतृत्व माओवादी केन्द्रले नै गर्नुपर्ने बताए ।

पार्टीको प्रदेश नम्बर ३ अन्तर्गतका केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्यहरुको प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले बाबुराम भट्टराई, मोहन वैद्य र नेत्रविक्रम चन्द ‘विप्लव’ विभिन्न तरिकाले चुनाव लडेतापनि जनताले कसैलाई पनि मत नदिएको भन्दै एकता आवश्यक रहेको बताए ।

‘हामी निर्वाचन लड्यौं, बाबुराम र वैद्यजी पनि चुनाव लड्नुभयो, विप्लवजीहरु पनि हामीलाई हराउनकै लागि भए पनि चुनाव लड्नुभयो,’ प्रचण्डले भने, ‘तर जनताले सबैलाई तिमीहरु माओवादी नै हो एक्लैले हुँदैन एकताका लागि पहल गर भन्ने सन्देश दिएका छन् ।’

पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले अब जनताको आवाजलाई बुझेर माओवादी धार र देशभक्त शक्तिहरुसँग एकता गर्नुको विकल्प नरहेको बताए ।

स्थिर सरकार बनाउन कार्यकारी प्रमुख

प्रचण्डले माओवादीसँग एकता र सहकार्य गर्ने शक्तिले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख मान्नुपर्ने समेत बताएका छन् । ‘नेपालमा कम्तिमा पाँच वर्ष स्थिर सरकार चाहिन्छ । स्थिर सरकारले मात्रै आर्थिक समृद्धि हासिल गर्न, राष्ट्रिय एकता बलियो बनाउन र वैदेशिक हस्तक्षेपबाट जोगाउन सक्छ,’ उनले भने, ‘यसले मात्रै हिमाल, पहाड र तराई-मधेसलाई जोड्न सक्छ, देशलाई एकताको एउटै शुत्रमा बाँध्न सक्छ ।’

‘गरीबले पनि लड्न सक्ने निर्वाचन प्रणाली बनाऔं’

प्रशिक्षण कार्यक्रममा अध्यक्ष प्रचण्डले धनीले मात्रै जित्न सक्ने अहिलेको निर्वाचन प्रणाली बदल्नुपर्ने धारणा राखे । अहिलेको निर्वाचन प्रणालीले गरीब, उत्पीडितहरुले निर्वाचन जित्न नसक्ने भन्दै निर्वाचन प्रणाली बदल्नुपर्ने उनको भनाइ छ । भर्खरै सम्पन्न भएको चुनावमा करोड खर्च गर्नेले मात्रै चुनाव जितेको भन्दै प्रचण्डले अब यस्तो विकृति अन्त्य गरिनुपर्ने बताए ।

माओवादी नभएको भए स्थानीय तह र निर्वाचन दुवै नहुने दावी गर्दै प्रचण्डले यसलाई उल्टाउने षड्यन्त्र भइरहेको दावी गरे । ‘माओवादी नभएको भए स्थानीय तह र निर्वाचन दुबै हुने थिएन, अहिले पनि यसलाई उल्टाउने प्रयास भइरहेको छ,’ एमाले र कांग्रेसलाई संकेत गर्दै प्रचण्डले भने, ‘उनीहरुको शक्ति पुग्यो भने संघीय लोकतान्त्रिक गणतन्त्र नै उल्टाउँछन् ।’

धर्मनिरपेक्षता उल्टाएर यसकै आडमा गणतन्त्र उल्टाउने कोशिस भइरहेको दावी प्रचण्डको छ ।

बैठकमा नेताहरु नारायणकाजी श्रेष्ठ प्रकाश, रामबहादुर थापा बादल, अग्नि सापकोटा, पम्फा भुसाल, हितमान शाक्य, आहुति, नारायण दाहाल, सूर्य सुवेदी, अञ्जना बिसंखे लगायतको उपस्थिति थियो ।

बैठकमा प्रदेश नम्बर ३ का १३ जिल्लाका इन्चार्जहरुले रिपोर्टिङ गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?