+
+
Shares

गणतन्त्रमा स्थानीय सरकारको ठूलो महत्त्व छ : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा आइसकेपछि स्थानीय सरकारको महत्त्व र गरिमा व्यापक रहेको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ६ गते १५:३५

६ जेठ, सुनसरी । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा आइसकेपछि स्थानीय सरकारको महत्त्व र गरिमा व्यापक रहेको बताएका छन् ।

बुधबार सुनसरीको कोशी गाउँपालिकामा निर्माण भएको लौकही सिटी हल समुद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् ।

उनले जनताका न्यूनतम आधारभूत आवश्यकता, तथा जनचाहना अनुरूप विकासका कार्यलाई तिव्रता दिएर संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्य, मान्यता र आदर्श अनुरूपका कार्यहरू सवल बनाउनुपर्नेमा जोड दिए ।

‘शान्ति, विकास र सुशासनको माध्यमबाट नै जनताको हित र चाहनासँगै संविधान र शासनप्रणालीले राखेको उद्देश्य पूरा हुन्छ,’ राष्ट्रपति पौडेलले भने, ‘यसतर्फ तपाईँहरूले विशेष ध्यान दिनुहुनेछ भन्ने मैले आशा राखेको छु ।’

राष्ट्रपति पौडेलले स्थानीय तह जनताको सबैभन्दा नजिकको सरकार भएको उल्लेख गर्दै जनअपेक्षा अनुरूप सेवा प्रवाह गर्नु, सुविधा उपलब्ध गराउनु तथा विकासका कार्यहरू सञ्चालन गर्नु स्थानीय सरकारको महत्त्वपूर्ण दायित्व भएको बताए ।  उनले भने, ‘यसै सन्दर्भमा यो ग्रामीण क्षेत्रमा यस्तो आधुनिक तथा बहुउपयोगी सिटी हलको निर्माण हुनु निकै सराहनीय छ । यो परियोजना विकासमा तीनै तहको सरकारबीच हुने सहकार्यको राम्रो उदाहरण पनि हो ।’

सप्तकोशी नदीको किनारमा रहको कोशी गाउँपालिका ऐतिहासिक एवं धार्मिक दृष्टिकोणले पनि महत्त्वपूर्ण ठाउँ भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले सप्तकोशी नदीको कुशाहाघाटमा प्रजातन्त्र प्राप्तिका लागि क्रान्ति भएकाले यो ठाउँको सम्बन्ध प्रजातान्त्रिक आन्दोलनसँग जोडिएको स्मरण गरे ।

‘सप्तकोशी समिपमा महत्त्वपूर्ण धार्मिकस्थलहरू बराहक्षेत्रधाम, रामधुनी, पिण्डेश्वर, दन्तकाली तथा बुढासुब्बा मन्दिर छन् । तसर्थ यस क्षेत्रको भ्रमणबाट मलाई मनोरम अनुभुति पनि भएको छ,’ उनले भने ।

राष्ट्रपति पौडेलले २०६५ सालमा कोशी बाँध फुट्दा बस्ती नै विस्थापित भएको यस ठाउँमा बस्ती पुन:स्थापित भएको र विकासका गतिविधिहरू तीव्र रूपमा सञ्चालन भएको देख्दा आफूलाई खुशी लागेको बताए । –रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?