Comments Add Comment

वडाध्यक्षको घरमा मोबाइल चार्ज गर्नेको लस्कर !

३० साउन, झापा । शुक्रबारदेखि परेको अविरल वर्षाका कारण पूर्वी तराईको जनजीवन अस्तव्यस्त छ । विद्युत् आपूर्ति अबरुद्ध छ ।

मोबाइल चार्ज गर्न नपाएका कारण मानिसहरु सञ्चार सेवाबाट समेत बञ्चित भएका छन् ।

बाढी पहिरोबाट ग्रसित झापाको एक वडाध्यक्षले भने जेनेरेटरको प्रयोग गरेर वडाका जनतालाई मोबाइल चार्ज गर्ने सेवा दिइरहेका छन् ।

कनकाई नगरपालिकाको वडा नं. ६ का वडाध्यक्ष लक्ष्मी ओलीले घरमा जेनेरेटर राखेर मोबाइल चार्ज गर्ने सेवा दिएका हुन् ।

उनको घरमा अहिले ३० जना गाउँका जनताले एकैपटक मोबाइल चार्ज गरिरहेका छन् ।

‘बिहान र बेलुका चार्ज गर्ने समय छुट्याएको छु ।’ वडाध्यक्ष ओलीले अनलाइनखबरसँग भने, ‘प्रायः बेलुका ६ बजेदेखि ८ बजेसम्मको समय धेरै लोड हुन्छ ।’

उनका अनुसार शनिबार धेरै जनाले चार्ज गर्दा जेनेरेटरको क्वायल नै जलेको थियो । तर, पुनः मर्मत गरेर फेरि मोबाइल चार्जसेवा सुरु गरिएको छ ।

उनको वडामा २९ जना बाढी पीडित छन् । वडा नंं. ६ को दुर्गापुरमा विरिङ नदी पस्दा उनीहरु प्रभावित भएका हुन् ।

वडाध्यक्षले मोबाइल चार्ज गर्ने व्यवस्था मिलाइदिएपछि स्थानीयले खुशी व्यक्त गरेका छन् ।

यसैबीच सुनसरी र मोरङका बाढी पहिरो प्रभावित क्षेत्रमा पनि बिद्युत आपूर्ति नहुँदा सञ्चार सम्पर्क टुटेको छ । मोरङको बेलबारीमा पनि जेनेरेटर चलाएर मोबाइल चार्ज गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment