Comments Add Comment

चीन र पाकिस्तानको सम्बन्धः महभन्दा मीठो ?

अमेरिकाको सहयात्री चीनतिर ढल्किँदै

३० साउन, काठमाडौं । भारत र पाकिस्तान टुक्रिएको ७० वर्ष पुगेको छ । यही उपलक्ष्यमा पाकिस्तानले सोमबार जिन्हालाई सम्झँदै ७० औं स्वतन्त्रता दिवसको झण्डा फहराइरहँदा इस्लामावादमा प्रमुख अतिथि थिए- चिनियाँ उपप्रधानमन्त्री वाङ याङ ।

शनिबार र आइतबार दुई दिनका लागि चिनियाँ राष्ट्रपतिका विशेष दूतका रुपमा उपप्रधानमन्त्री वाङ पाकिस्तान पुगेका थिए । उनी पाकिस्तानबाट सिधै नेपाल आएका छन् ।

आफ्नो राष्ट्रिय स्वतन्त्रता दिवसमा चिनियाँ उपप्रधानमन्त्रीलाई प्रमुख अतिथि बनाएर पाकिस्तानले भारत र अमेरिकालाई एकैपटक र एउटै सन्देश दिन खोजेको देखिन्छः अब पाकिस्तानलाई चीनको बलियो साथ रहनेछ र पाकिस्तान-चीनवीचको सम्बन्ध सुमधुर हुनेवाला छ ।

पाकिस्तानले चिनियाँ उपप्रधानमन्त्री वाङको यो भ्रमणलाई चीन-पाकिस्तान सम्बन्धको कोशेढुंगा भनेको छ । चीन र पाकिस्तानवीच ५० अर्ब डलर बराबरको चीन-पाकिस्तान इकोनोमिक कोरिडोरको प्रोजेक्ट अगाडि बढिरहेका कारण यी दुई देशहरु महत्वपूर्ण आर्थिक साझेदार देश बन्न पुगेका छन् ।

चीनको ‘वान बेल्ट वान रोड’ प्रजेक्टमा पाकिस्तानको सडक मार्ग ग्वादर पोर्टको ठूलो महत्व छ । अरब र अफि्रकासम्मको स्थल र जल यातायातमा पाकिस्तान एउटा महत्वपूर्ण नाका हो चीनका लागि ।

पाकिस्तानी सञ्चारमाध्यमका अनुसार वाङले चीन र पाकिस्तानवीच कठिन अवस्थामा रहेको सम्बन्ध समयको कसौटीमा भावी पुस्तासम्म रहने बताएका छन् । उपप्रधानमन्त्री वाङले चीन र पाकिस्तानवीचको सम्बन्ध पहाडभन्दा अग्लो, समुद्रभन्दा गहिरो, फलामभन्दा बलियो र महभन्दा मीठो रहेको बताएको पाकिस्तानी पत्रिका डनले लेखेको छ ।

चीनले पाकिस्तानसँग रणनीतिक सहकार्य गर्ने वाङले बताएका छन् । पाकिस्तान अन्तरराष्ट्रिय क्षेत्रमा एक प्रमुख खेलाडी बनेको र यसबाट चीनको वान बेल्ट वान रोड परियोजनामा महत्वपूर्ण उपलब्धि हुने चीनले ठानेको वाङको भनाइ उधृत गर्दै सो पत्रिकाले लेखेको छ ।

सिचुआन प्रान्तमा भूकम्प जाँदा हेलिकोप्टर पठाएर सहयोग गर्ने पाकिस्तान पहिलो देश रहेको भन्दै वाङले पाकिस्तानको प्रशंसा गरेको बताइएको छ ।

त्यसैगरी पाकिस्तानले आतंकवादविरुद्ध लडिरहेको र यसक्षेत्रको शान्तिमा महत्वपूर्ण भूमिका खेलेको वाङले इस्लामावाद पुगेर बताएको त्यहाँको समाचारमा जनाइएको छ ।

दोक्लाम प्रकरणमा भारत र चीनबीचको सम्बन्ध चिसिँदै गइरहेका बेला चीन र पाकिस्तानले मिलाएको यो हात कूटनीतिक र अर्थपूर्ण देखिन्छ । साथै, विश्व राजनीतिमा अमेरिकी छातामा ओत लाग्दै आएको

पाकिस्तान अब विस्तारै चीनतर्फ ढल्कन थालेको सघन प्रमाणका रुपमा लिन सकिन्छ वाङको यो भ्रमणलाई ।

विशेष गरी भारतीय दबावमा पर्दै आएका दक्षिण एशियाका साना देशहरुमा चीनले बढ्ता ध्यान दिन थालेको छ । भुटानमा भारतको प्रभावका साथै सिक्किममाथिको हस्तक्षपेका बारेमा समेत बेइजिङमा कुरा उठ्न थालेको छ । त्यसैगरी श्रीलंका र बंगलादेशमा पनि चिनियाँ चासो बढिरहेको छ । र, आपसमा घनिष्ट सम्बन्ध रहँदै आएको नेपाललाई पनि चीनले महत्व दिइरहेको छ भन्ने कुरा उपप्रधानमन्त्री वाङको भ्रमणले थप स्पष्ट पारेको छ ।

यो पनि पढ्नुहोस् 

पाकिस्तानबाट किन नेपाल आउँदैछन् चिनियाँ उपप्रधानमन्त्री ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment