Comments Add Comment

एमाले र माओवादीलाई चिनियाँ उपप्रधानमन्त्रीले सुनाए राष्ट्रपतिको सन्देश

चिनियाँ टोलीसँग माओवादी केन्द्रका नेताहरु । तस्वीर: रासस

३१ साउन, काठमाडौं । चिनियाँ उपप्रधानमन्त्री वाङ याङले मंगलबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओलीसँग अलग-अलग भेटवार्ता गरेका छन् ।

भेटका अवसरमा दुवै दलका शीर्ष नेता र चिनियाँ प्रतिनिधि मण्डलको उपस्थिति थियो । दाहालको सचिवालयका अनुसार भेटका क्रममा आपसी सद्भाव, पूर्वाधार विकास र चीनबाट लगानी भित्र्याउनेबारे छलफल भएको थियो । दाहालले नेपाली जनता चिनियाँ रेल सञ्जालसँग जोडिएको हेर्न आतुर रहेको बताएका थिए ।

त्यसबाहेक दाहालले नेपालको पूर्वाधार विकास, जलविद्युत, पर्यटनलगायत क्षेत्रमा लगानी गर्न चिनियाँ प्रतिनिधि मण्डललाई आग्रह गरेका थिए । वान बेल्ट वान रोड (ओबीओआर) परियोजनामा भएको हस्ताक्षरलाई महत्वपूर्ण बताउँदै दाहालले चीन र भारत दुवै छिमेकीसँग सन्तुलित र समदुरीको सम्बन्ध राख्न चाहेको उल्लेख गरे ।

चिनियाँ उपप्रधानमन्त्री वाङले राष्ट्रपति सीको सन्देश बोकेर आफू नेपाल आएको बताए । नेपालको पूर्वाधार विकास, जलविद्युत, पर्यटनलगायत क्षेत्रमा चीन लगानी गर्न इच्छुक रहेको जानकारी पनि दिए । ओबीओआरलगायत पछिल्ला द्विपक्षीय सम्झौताहरुले दुई मुलुकको सम्बन्धलाई थप उचाई दिएको उनले उल्लेख गरे ।

एमाले नेताहरु चिनियाँ उपप्रधानमन्त्री नेतृत्वको टोलीसँग भेटवार्ता गर्दै । तस्वीर: रासस

यस्तै, एमाले अध्यक्ष ओलीसँग भएको भेटमा उनी प्रधानमन्त्री रहेको समयमा भएका सम्झौता कार्यान्वयनबारे विशेष छलफल भएको थियो । भेटमा सहभागी एमाले महासचिव ईश्वर पोखरेलका अनुसार ती सम्झौतालाई प्रोटोकलमा लगेर कार्यान्वयन अगाडि बढाउने विषयमा चिनियाँ पक्षले चासो देखाएको थियो । ओलीले त्यस विषयमा सरकारलाई घचघच्याउने बताएका थिए ।

विद्युतीय रेलमार्ग नेपाली जनताको चाहना रहेको ओलीले बताएका थिए । चिनियाँ उपप्रधानमन्त्री वाङले ओबीओआर अभियानलाई अगाडि बढाउन यस क्षेत्रकै अग्रसरता जरुरी भएको राष्ट्रपतिको सीको सन्देश एमाले प्रतिनिधि मण्डललाई सुनाएका थिए । यसको कार्यान्वयनमा नेपाल सकारात्मक ढंगले अगाडि बढ्ने चिनियाँ आशा रहेको पनि उनले बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment