Comments Add Comment

अनियमितता छानविन गर्ने सर्तकता केन्द्र एक महिनादेखि सचिवविहीन

तलव खानदेखि कार्यक्रम स्वीकृतिसम्म हुन सकेन


३२ साउन, काठमाडौं । सरकारी निकायको अनियमितता छानविन गर्ने राष्ट्रिय सतर्कता केन्द्र एक महिनाभन्दा लामो समयदेखि सचिवविहीन भएको छ । नेतृत्वविहीन हुँदा केन्द्रका नियमित कामकारवाहीसमेत प्रभावित भएका छन् ।

केन्द्र गत असार २८ गतेदेखि सचिवविहीन भएको हो । तत्कालिन सचिव धनबहादुर तामाङको अवकास (रिटायर्ड) भएपछि केन्द्र सचिवविहीन भएको थियो । उक्त पद खाली भएको एक महिना वितिसक्दा पनि सरकारले केन्द्रमा सचिव पदस्थापन गर्न सकेको छैन ।

कार्यक्रम स्वीकृतिदेखि तलव खानेदेखि समस्या

सचिव नहुँदा आर्थिक वर्ष सुरु भएको एक महिना वित्न लाग्दासमेत चालू आव २०७४/७५ को कार्यक्रम स्वीकृत हुन सकेको छैन । कार्यक्रम स्वीकृत नहुँदा नियमित कामकारवाहीसमेत प्रभावित भएको छ । सचिव नहुँदा तलवसमेत रोकिएको केन्द्रका अधिकारीहरूले बताए ।

‘नेतृत्व नै नहुँदा केन्द्रमा नियमित गतिविधिसमेत हुन सकेको छैन,’ केन्द्रका एक अधिकारीले भने ।

रिर्टायर्ड हुनमात्रै केन्द्रमा

सरकारले प्राथमिकतामा नराख्दा सतर्कता केन्द्र कमजोर बनेको अधिकारीहरू बताउँछन् । केन्द्र सचिवहरूको प्राथमिकतामा नपरेको उनिहरूको दावी छ ।

गत असार २२ गते केन्द्रमा पदस्थापन भएका सचिव धनबहादुर तामाङ एक सातामै रिटायर्ड भएका थिए । २२ गते केन्द्र आएका उनी २८ गते रिटायर्ड भएका थिए ।

तामाङभन्दा अघि केन्द्र आएका गजेन्द्रकुमार ठाकुर पनि जम्मा ३ महिनामात्र केन्द्रको सचिवमा कायम रहे । गत फागुन ११ गते केन्द्र आएका उनी जेठ २१ गते सरुवा भएका थिए ।

उनी त्यहाँबाट सरुवा भएर हाल शान्ति तथा पुनर्निर्माण मन्त्रालयमा सचिवमा कार्यरत् छन् । त्यसभन्दा अघि केन्द्रका सचिव रामानन्द यादव पनि करीव ८ महिनामात्रै टिक्न सके । हाल उनी सिंचाइ सचिवमा कार्यरत् छन् ।

‘राजनीतिक किचलोले ढिला भयो’

पछिल्लो समय विकसित राजनीतिक अवस्था, स्थानीय चुनाव लगायतका कारण केन्द्रमा सचिव पदस्थापनमा ढिला भएको प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालयका प्रवक्ता हरिप्रसाद पन्थीले बताए ।

उनका अनुसार केन्द्रमा सचिव पठाउने सम्बन्धमा हालसम्म ठोस निर्णय भइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment