Comments Add Comment

सकियो नाडाः २६ सय सवारी बूक, ३ सय करोडको कारोबार


१८ भदौ, काठमाडौं । यो वर्षको नाडा अटो-शो आइतबार सकिएको छ । भव्यतापूर्वक सकिएको शोमा साढे झण्डै ३ सय करोड रुपैयाँ बराबरको कारोबार भएको नाडाका अध्यक्ष अञ्जन श्रेष्ठले जानकारी दिए ।

गतवर्ष भन्दा यो वर्ष कारोबार घटेको श्रेष्ठको भनाइ छ । यो वर्ष १ हजार गाडी बुक भएका छन् भने १६ सय बाइक पनि ग्राहकले बूकिङ गरेका छन् ।

‘बैंकले दिने भनेको ६५ प्रतिशत लोनबारे अझै ग्राहक विश्वस्त देखिएनन्’ श्रेष्ठले भने,’ बैंकहरुले प्रत्येक क्वाटरमा समायोजन गर्ने ब्याजदर प्रणालीबारे पनि अन्योल कामयै छ । त्यसले नाडाका गतवर्षको जस्तो कारोबार भएन ।’

मेला ६५ हजारले अवलोकन गरेका छन् । मेलामा ५० हजार बढी दर्शक आउने अपेक्षा थियो ।

मेलामा बाइकको तर्फबाट बेष्ट स्टल बजाजले पाएको छ भने गाडीको सबैभन्दा उत्कृष्ट स्टलको उपाधि फोर्डले जितेको छ । बेष्ट कमर्सियल भेहिकलको स्टलको उपाधि अशोक ले-ल्याण्डले हात पारेको छ । बेष्ट सर्पोर्टिभ स्टलको उपाधिक सनर इलेक्ट्रोनिक्सले जितेका छ ।

नाडा मोबाइल्स एशोसियशन अफ नेपालको आयोजनामा गत भदौ १३ गतेदेखि मेला सुरु भएको थियो ।  ६ दिने अटो मेलामा टाटा, मारुती-सुजुकी, हुण्डाई, डाट्सन, फोर्ड, होण्डा, किया, महिन्द्रा, निशान, रेनो, स्कोडा, सुजुकी, टाटा, भक्सवागन, स्याङयोेंगलगायत कम्पनीका गाडी राखिएको थियो ।

त्यस्तै मेलामा टीभीएस, यामाहा बजाज, हिरो, होण्डा, केटीएम, महिन्द्रा, रोयल इन्फील्ड, बेनली, रनर, सुजुकी, युएम, भेस्पा लगायतका दुई पांग्रे सवारी साधनका कम्पनीले स्टल राखेका थिए ।


मेलामै गाडी बुकिङ गर्ने ग्राहकलाई बैंकिङ सेवा दिन बैैंकहरुले पनि स्टल राखेका थिए । त्यस्तै मेलामा टायर, लुबि्रकेन्ट तथा स्पेयरपार्टस्को पनि कारोवार भएको थियो ।

मेलाबाट उठेको रकममध्ये ५ लाख रुपैयाँ बाढीपीडितको सहयोगका लागि उपलब्ध गराउने आयोजकले जनाएको छ । मेलामा अवलोकन गरेकामध्ये एक जना दर्शकले लक्की ड्रबाट एउटा यूएम रेनिगेड कमाण्डो-३०० बाइक पनि जितेका छन् । टिकट नम्बर ०२४८४०ले यो पुरस्कार जितेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment