Comments Add Comment

कांग्रेसलाई भोट माग्दै प्रधानमन्त्री, चुनावलगत्तै संविधान संशोधन गर्ने बाचा

२७ भदौ, सप्तरी । प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरी पुगेर नेपाली कांग्रेसका उम्मेदवारलाई भोट मागेका छन् । प्रदेश २ मा भइरहेको स्थानीय चुनावका क्रममा चुनावी सभालाई सम्बोधन गर्न देउवा पार्टी शीर्ष नेताहरु लिएर मधेस झरेका हुन् ।

विराटनगर हुँदै सप्तरी आइपुगेका प्रधानमन्त्री देउवाले दुई वटा चुनावी सभालाई सम्बोधन गरे ।

सदरमुकाम राजविराजसँगै कञ्चनरुप नगरपालिकामा आयोजित सभालाई सम्बोधन गर्दै उनले आफ्नो पार्टी कांग्रेसलाई जिताउन आग्रह गरेका छन् ।

मधेसको मुद्दा कांग्रेसका लागि मुख्य मुद्दा रहेको बताउँदै उनले मधेसका मागहरुलाई सम्बोधन गराउन आफू नेतृत्वको सरकार हरक्षण तयार रहेको बताए ।

संविधान संशोधन गर्न पुनः प्रयास गर्ने र पारित गराउनका लागि कुनै कसर बाँकी नराख्ने उनले बताए । ‘चुनाव लगत्तै पुनः संविधान संशोधनका लागि प्रयास गर्छु’ उनले भने, ‘मधेसको माग र मुद्दालाई कांग्रेसले कहिल्यै बिर्सने छैन ।’

मधेसको मुख्य सडकको रुपमा रहेको हुलाकी राजमार्गलाई कांग्रेसले मुख्य प्राथमिकतामा राखेको उनले बताए ।

राजविराज नेपालकै नमूना र पुरानोमध्येको एक शहर भएपनि पछि परेको बताउँदै उनले स्वास्थ्य, शिक्षा, सडकको समस्यालाई चाँडै समाधान गर्ने आश्वासन पनि दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment