Comments Add Comment

सुन्न र बोल्न नसक्नेको हस्पिटालिटीमा चल्छ हिमालयन देउराली रिसोर्ट

२७ भदौ, पोखरा । सुन्न र बोल्नसमेत नसक्नेहरुले रिसोर्टमा काम गर्छन् भन्ने सुन्दा अचम्म लाग्ला । तर, अचम्म नमान्नुस्, कास्कीको हिमालयन देउराली रिसोर्टमा ८ जना श्रबणशक्ति कम भएकाहरूले नै ब्यबसायिक रुपमै जागिर खान थालेका छन् ।

सम्भवत यसरी होटल तथा रिसोर्टमा उनीहरूले काम गरेको नेपालमै पहिलो घटना हो र उनीहरूलाई हस्पिटालिटीमा जागिर दिने हिमालयन देउराली पहिलो नेपाली रिसोर्ट भएको छ ।

कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर १ देउरालीमा पर्ने यो रिसोर्टमा ८ जना श्रबणशक्ति कम भएकाहरू काम गर्छन् ।

संघीय समाजवादी फोरम नेपालका नेता गणेशमान गुरुङले सञ्चालन गरेको यो रिसोर्टमा ५ पुरुष र ३ महिलाहरुले काम गर्ने गरेका छन् । उनीहरुले वेटर, किचन, गार्डेन लगायतका क्षेत्रमा काम गर्ने गर्छन् ।

रिसोर्टमा यसरी उनीहरुलाई जागिरको अवसर दिने रिसोर्टका सञ्चालक गुरुङ नभई उनकी धर्मपत्नी तथा रिसोर्टकी प्रबन्ध निर्देशक बिन्दा रायमाझी हुन् ।

एक वर्षअघी २ जनालाई ट्रायलको रुपमा जागिर दिएकी उनले अहिले ८ जना कर्मचारी बहिरा मात्रै पुर्‍याएकी छन् । सुरुमा ट्रायलको रुपमा राखेकी थिएँ-उनले भनिन्,’उनीहरुको माया, आत्मियता र कामप्रतिको लगाव देखेर ८ जनासम्म पुर्‍याएकी हुँ ।’

कुल १८ जना स्टाफ रहेको रिसोर्टमा करिब आधाजस्तो कर्मचारी बोल्न र सुन्न नसक्ने भएपनि हस्पिटालिटी र सर्भिसमा कुनै समस्या नरहेको उनले दाबी गरिन् ।

प्लस टुसम्म अध्ययन सकेका उनीहरु तालिम बिनानै रिसोर्टमा काम गर्न आएका हुन् । सुन्न र बोल्न नसक्ने भएकाले उनीहरुलाई तालिमसमेत नगराउने गरेको रायमाझीको भनाइ छ ।

तालिम दिएर काममा लगाए पर्फमेन्स झनै राम्रो हुनसक्ने भन्दै रायमाझीले भनिन्,’टाठा छन्, पढेका छन्, तर तालिम लिन पाएका छैनन्, तालिम नलिई त यति राम्रो काम गर्छन् भने तालिम लिए झन् कति राम्रो गर्थे होलान् ?’

पर्यटक तथा ग्राहकलाई भने सांकेतिक भाषाका कारण कहिलेकाही कठिनाई हुने गरेको उनले सुनाइन् ।

सुन्न र बोल्न नसक्ने कर्मचारी गुरुङ दम्पतीका लागि स्टाफ मात्र हैनन्, बरु परिवारकै सदस्य बनिसकेका छन् । उनले भनिन्,’काम भन्दा पनि उनीहरुको आमित्यताका कारण पारिवारिक अट्याचमेन्ट छ, उनीहरु मलाई आमा भन्छन्, सम्मान र माया गर्छन् ।’

उनीहरूले पनि अरू कर्मचारी जस्तै काम गर्ने उनको मूल्याङ्कन छ । काममा भिन्नता छैन-उनले भनिन्,’बरु कहिलेकाही रिसाए भने चाही फकाउन गाह्रो छ ।’

अन्य कर्मचारीहरुको जस्तै उनीहरुको पनि समान ज्याला छ । मासिक ८ हजार तलब बुझ्छन् । खान बस्न रिसोर्टमै हुन्छ । ग्राहकले तिर्ने १० प्रतिशत सर्भिस चार्ज पनि उनीहरुलाई दामासाहीले बाँढेर दिनेगरेको प्रबन्ध निर्देशक रायमाझीले बताइन् । त्यसका अलावा पर्यटकले दिने टिप्स उनीहरु आफैले लिन्छन् ।

पोखरादेखि झण्डै २५ किलोमिटर पश्चिम पोखरा-बागलुङ हाइवे नजिकै पर्ने यो रिसोर्ट २०६७ सालदेखि सञ्चालनमा आएको हो ।

२०५५ सालमै निर्माण सुरु गरेपनि द्वन्द्वका कारण निर्माण रोकिएपछि झण्डै एक दशकपछि मात्रै सञ्चालनमा ल्याएको रिसोर्टका सञ्चालक गणेशमान गुरुङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment