Comments Add Comment

राष्ट्रपतिका उम्मेदवारले बराबर मत ल्याए गोलाप्रथाबाट चुनिने

उम्मेदवार बन्न बंशजको नागरिक र मतदाता नामावलीमा नाम अनिवार्य


२९ भदौ, काठमाडौं । संघीय गणतन्त्र नेपालको राष्ट्रपति बन्न दुई तहका संसदको कम्तिमा ५० प्रतिशत मत प्राप्त गर्नुपर्ने व्यवस्था सहितको राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन सम्बन्धी बिधेयक संसदमा दर्ता भएको छ । सरकारले बिहीबार दर्ता गरेको उक्त विधेयकमा संघीय संसद र प्रदेश सभा सदस्यहरुको बहुमत पाउनुपर्ने उल्लेख छ ।

यदि तीनजना उम्मेदवार भएर कसैको पनि ५० प्रतिशत मत नपुगेमा बढी मत पाउने दुईजनाबीच पुनः प्रतिस्पर्धा हुनेछ । उदाहरणको लागि संघीय संसदका ३३४ र प्रदेशसभाका ५५० सदस्यहरुको मतभार जोडेर हुने कुल मतको आधा जित्नेले पाउनुपर्नेछ ।

यदि दुई उम्मेदवारले बराबर मत पाएमा भने गोलाप्रथाबाट राष्ट्रपति चुन्ने व्यवस्था विधेयकमा छ ।

विधेयकमा राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको कुल मत ५२ हजार ७८६ निर्धारण गरिएको छ । यो हिसाब प्रदेश संसद र संघीय संसदका कुल सांसदहरुको संख्या र उनीहरुको मतभार गणना गरेर निकालिएको हो ।

प्रतिनिधिसभाका २७५ र राष्ट्रियसभाका ५९ सदस्य गरी कुल ३३४ सदस्यीय संघीय संसदका प्रत्येक सदस्यको मत ७९ हुन्छ । सो ७९ मतभारलाई कुल सदस्य संख्या ३३४ सँग गुणन गर्दा आउने योगफल २६ हजार ३८६ हुन्छ ।

त्यस्तै प्रदेश सभा सदस्यको मतभार ४८ र कुल सदस्य संख्या ५५० गुणन गर्दा २६ हजार चार सय योगफल हुन आउँछ । यी दुवै योगफल जोडेर आउने ५२ हजार ७८६ मत नै राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा गणना हुने मत हो ।

मतदाता र वंशजको नागरिक अनिवार्य

राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवार बन्न देशभरका कुनै पनि नगरपालिका वा गाउँपालिकाको मतदाता नामावलीमा नाम समावेश हुनुपर्नेछ । तर संघीय संसद वा प्रदेश सभाको सदस्य भने नभए पनि हुनेछ ।

अंगीकृत नागरिकले राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेवार बन्न नपाउने संवैधानिक प्रावधान नै विधेयकमा राखिएको छ । उम्मेदवार बन्नका लागि वंशजको नागरिक पनि हुनुपर्नेछ ।

राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवार बन्न ४५ वर्ष उमेर पुगेको हुनपर्ने विधेयकमा प्रस्ताव छ । त्यस्तै राष्ट्रपति र उपराष्ट्रपति फरक लिंग र समुदायको हुनुपर्ने व्यवस्था पनि प्रस्ताव गरिएको छ ।

राष्ट्रपति र उपराष्ट्रपतिको चुनावको मिति तोक्ने अधिकार निर्वाचन आयोगलाई दिइएको छ । यो पटकका लागि संघीय संसद र प्रदेश सभा गठन भएको एक महिना भित्र निर्वाचन हुने गरी आयोगले मिति तोक्नु पनर्ेेछ । अन्य बेला भने राष्ट्रपतिको पदावधि सकिनु भन्दा कम्तीमा एक महिना अघि चुनाव हुनु पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment