Comments Add Comment

छिमेकको उपलब्धी बुलेट ट्रेन, नेपालको उपलब्धी बुलेट भ्रमण !

के विदेश भ्रमण नै देउवा सरकारको उपलब्धि हो त ?

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको गृहराज्य गुजरातमा बिहीबार बुलेट ट्रेनको शिलान्यास भयो । सन् २०२२ अगष्ट सम्ममा ट्रेन गुडाउने लक्ष्यका साथ जापानका प्रधानपन्त्री सिञ्जो आवेले उक्त तिव्र गतिको रेल सेवाको शिलान्यास गरे । यता बिहीबार नै देउवा सरकारले आफ्नो १०० दिनको उपलब्धी प्रस्तुत गर्‍यो ।

सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सरकारको उपलब्धीको रुपमा राष्ट्रपति र प्रधानमन्त्रीको भारत भ्रमण अनि उपप्रधानमन्त्रीको भारत र चीन भ्रमण भएको बताए । छिमेकले बुलेट ट्रेनमा पाइला टेकेर आफ्नो उपलब्धी देखाउन लागिसक्दा हाम्रो देशमा भने बुलेट भ्रमण नै सरकारको उपलब्धी बनेको छ ।

जब सरकारले नै १०० दिनमा विदेश भ्रमणबाहेक अरु कुनै उपलब्धी हासिल गर्न सक्दैन भने नगरपालिकाका मेयरले १०० दिनमा के उपलब्धी हासिल गर्लान् ? केही दिनअघि काठमाण्डौ महानगरपालिकाका मेयरले आफ्नो १०० दिने कार्यकालमा केही पनि उपलब्धी नगरेको भनेर समाचार आएको थियो ।

जब राष्ट्रिय सरकारले १०० दिनमा भ्रमण बाहेक केही उपलब्धी गर्न सकेन भने स्थानीय सरकारले के माखो मार्ला ? ९ महिनाको सरकार बन्छ, ४ महिना मन्त्री परिषद विस्तार र भ्रमणमा बित्छ अनि बाँकी ५ महिना सरकार कसरी टिकाउने भन्ने टेन्सनमा बित्छ । एउटा बच्चा जन्मिन पनि ९ महिना ७ दिन लाग्छ भने ९ महिने सरकारले बिकास कसरी जन्माउने ? सरकार गठन भएको १०० दिनसम्म त मन्त्री नियुक्त भइरहेका हुन्छन् । त्यसपछि मन्त्रीले आफ्नो काम र कर्तव्य बुझ्नुपर्‍यो अनि काम गर्न शुरु गर्ने दिन आउँदा सरकारको आयु समाप्त । त्यसपछि अर्को सरकार गठन, ४ महिना सम्म मन्त्री परिषद विस्तार अनि ५ महिना खल्तीको आम्दानी बिस्तार त्यसपछि सरकारको भ्यालिडिटि एक्सपायर ।

उत्तरमा एउटा छिमेकी छ, जसले रातारात शहर खडा गरिदिन्छ, अनि दक्षिणमा अर्को छिमेकी छ जो बुलेट योजनामा हात हालिरहेको छ । र, वीचमा हामी छौं, जहाँ भ्रष्ट्राचारबाहेक हरेक काम सुस्त हुन्छ । सहरको फोहोर फ्याँक्न महिनौं लाग्छ । २ कि.मी. बाटो बनाउन वर्षौ लाग्छ अनि राष्ट्रिय गौरवका आयोजना बन्न त आधा शताब्दी नै लाग्छ ।

प्रधानमन्त्री चयन गर्नै महिनौं लाग्ने हाम्रो देशमा विकासका काममा बर्षौ लाग्नु अस्वभाविक होइन । तर, कहिलेसम्म हाम्रा देशका सरकार प्रमुखले आफ्नो १०० दिने उपलब्धी भारत र चीनको भ्रमण बताउँदै गर्दा हामीले त्यसैलाई स्वीकार गरेर बस्ने ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment