Comments Add Comment

प्रदेश २ का जिल्ला सदरमुकाम: को कहाँ बलियो ?

मौन अवधिको चलखेल र जातीय मत बन्न सक्छन् निर्णायक

३० भदौ, काठमाडौं । प्रदेश २ का आठ जिल्लामध्ये अधिकांश सदरमुकाम भारतको सीमामा छन् र विकासको सन्दर्भमा वीरगन्जबाहेक अरुको अवस्था दयनीय छ । आठै जिल्ला सदरमुकाममध्ये वीरगन्ज महानगर र कलैया उपमहानगरबाहेकका ६ नगरपालिका बनेका छन् ।

जिल्लाको राजनीतिक र प्रशासनिक कमान्ड गर्ने सदरमुकामका स्थानीय तहमध्ये कुन ठाउँमा को बलियो देखिन्छ ? हामीले विभिन्न सूत्र प्रयोग गरेर खोजी गरेका छौं ।

पूर्व-पश्चिम राजमार्ग र हुलाकीमार्ग दक्षिणका सदरमुकाम क्षेत्रका चुनावी तस्बिर बिल्कुल फरक देखिन्छन् । पूर्व-पश्चिम राजमार्ग क्षेत्रमा प्रमुख तीन दलको प्रतिस्पर्धा छ भने सदरमुकाममा ठाउँ हेरेर मधेशकेन्दि्रत दल मुख्य प्रतिस्पर्धी छन् । तीन प्रमुख दलमध्ये कोही न कोही प्रतिस्पर्धामा छन्, सबै होइन ।

राजमार्ग क्षेत्र विकास, शिक्षा र समृद्धिका हिसाबले जति अगाडि छ, सदरमुकाम भएर पनि त्यहाँका स्थानीय तह पछाडि परेका छन् । त्यसैले स्थानीय तह चुनावका उम्मेदवारको मुख्य एजेन्डा नै सदरमुकामलाई सदरमुकामजस्तै बनाउने छ ।

हामीले सदरमुकामका स्थानीय तहको पछिल्लो चुनावी प्रतिस्पर्धाको आकलन गरेका छौं । धेरैजसो मधेसका सदरमुकाममा मौन अवधिमा हुने चलखेल र जातीय मत नै निर्णायक  हुने सबै स्रोतको दाबी छ ।

राजविराज नगरपालिका: माओवादी भर्सेस राजपा

सप्तरीको सदरमुकाम राजविराज सम्भवतः सबैभन्दा पूरानो नगरपालिका हो । जहाँ, यसपटक माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टी मुख्य प्रतिस्पर्धी देखिएका छन् । यद्यपि, फोरम नेपाल पनि त्रिपक्षीय प्रतिस्पर्धामा देखिन्छ । यहाँ ठूला दल कांग्रेस र एमाले प्रतिस्पर्धाको दौडमा पछाडि देखिएका छन् ।

सिरहा नगरपालिका: कांग्रेस-एमाले विरासतको टक्कर

सिरहा सदरमुकाम सिरहा नगरपालिकामा कांग्रेस र एमालेबीचमै मुख्य प्रतिस्पर्धा देखिएको छ । यहाँ मधेसकेन्द्रित र माओवादीका उम्मेदवार प्रतिस्पर्धामा केही पछि छुटेका छन् । कांग्रेस र एमाले दुवै पार्टीका मेयर उम्मेदवार चिकित्सक हुन् । कांग्रेसका डा. सुभास यादव र एमालेका डा. नवीन यादवबीचको प्रतिस्पर्धामा जो पनि विजयी हुन सक्ने अवस्था छ ।

यी दुवैको संयोग पनि छ । त्यो हो, दुवैका पिता द्वन्द्वकालमा मारिएका हुन् । सुभासका पिता तथा तत्कालीन कांग्रेस सभापति देवनारायण यादव हुन्, जो माओवादीबाट मारिएका थिए । नवीनका पिता तथा तत्कालीन एमाले सांसद हेमनारायण यादवको सेनाले हत्या गरेको शंका छ ।

धनुषाधाम नगरपालिका: त्रिपक्षीय भिडन्त

पूराना र प्रभावशाली पञ्च नेता स्वर्गीय हेमबहादुर मल्लकी बुहारी प्रेक्षा मल्लको मेयरमा उम्मेदवारीले धनुषा सदरमुकाम धनुषाधाम नगरपालिकामा त्रिपक्षीय प्रतिस्पर्धा देखिएको छ । यहाँ कांग्रेस, एमाले र राप्रपाबीच कडा टक्कर छ । कांग्रेसमा उम्मेदवारी विवादका कारण एमाले वा राप्रपाले फाइदा लिन सक्ने चर्चा मतदातामाझ देखिन्छ ।

जलेश्वर नगरपालिका: दलित र भूमिहार निर्णायक

महोत्तरी सदरमुकाम जलेश्वरको चुनावी आकलन गर्न कठिन भइरहेको छ । अन्तिममा जलेश्वर नगरपालिकामा जातको भोट निर्णायक हुने पत्रकार महासंघका अध्यक्ष कमलेश मण्डल बताउँछन् । यहाँ अहिले कांग्रेस, एमाले र राजपा प्रतिस्पर्धीका रुपमा देखिन्छन् ।

तर, कांग्रेसले भूमिहार जातिका उम्मेदवार नबनाई अशोक साहलाई दिएका कारण राजपाका रामशंकर सिंहलाई उक्त जातिको भोट जान सक्छ । भूमिहारको भोट माअेावादीले पनि पाउन सक्छ । भूमिहार र दलितको भोट नै जलेश्वरमा निर्णायक बन्न सक्छ ।

एमालेका उम्मेदवार माधव मण्डल दलित समुदायका हुन् । यहाँ दलित मतदाता निर्णायक हुने गरेका छन् । यसअघि ०७० को संविधानसभा चुनावमा पनि दलितको मतले माधवका दाजु एमाले नेता रामदयाल मण्डल सभासद निर्वाचित भए । यसपटक उनले भाइलाई मेयरको उम्मेदवार बनाएर दलित मतमा कब्जा कायम गर्न खोजेका छन् ।

मलंगवा नगरपालिकास: मौसीको माहौलले ठूलालाई तनाव

सर्लाही सदरमुकाम मलंगवा नगरपालिकामा अहिले राधा मौसीको चर्चा छ । मेयरमा स्वतन्त्र उम्मेदवारी दिएकी तेस्रो लिंगी राधा मौसी उर्फ महेन्द्र साहले आफ्नो टिम नै खडा गरेर घरदैलो गरेपछि ठूला दल सकसमा परेका छन् । मलंगवाको चुनावी माहौलमा मौसी चर्चाको शिखरमा छिन् ।

मलंगवामा मधेशी दल फोरम नेपालले उम्मेदवारी नै नदिनु रहस्यको विषय हो । अहिलेसम्म फोरम नेपालले कसैलाई सघाउने निर्णय पनि औपचारिक रुपमा गरेको छैन ।

मलंगवामा उम्मेदवारी मनोनयनको दिनसम्म पनि एमालेको खासै चर्चा थिएन । तर, राजपा महामन्त्री जंगीलाल रायले एकाएक एमालेलाई समर्थन गरेपछि उत्तः पार्टीका मेयर उम्मेदवार देवेन्द्र राय यादव बलियो दाबेदार बनेर निस्किएका छन् ।

मूलतः मलंगवा नगरपालिकामा कांग्रेस र राजपाबीच प्रतिस्पर्धा हुने आकलन गरिए पनि जंगीलालले राजपा छाडेर एमालेलाई समर्थन गरेलगत्तै त्रिपक्षीय टक्करको अवस्था बनेको छ ।

गौर नगरपालिका: माधव नेपाललाई चुनौति

एमाले वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल मतदाता रहेको रौतहट सदरमुकाम गौर नगरपालिकामा एमालेलाई जित्न नदिन कांग्रेसले फोरम नेपाललाई मेयरमा सघाएको छ । माओवादीले पनि गौरमा मेयरको उम्मेदवार उठाएको छैन । तर, उसले औपचारिक रुपमा कसैलाई सघाएको पनि छैन ।

यहाँ मुलतः एमाले, राजपा र फोरम नेपालबीच प्रतिस्पर्धा हुने आकलन छ । एमालेका शम्भु शाह, राजपाका अजय गुप्ता र फोरम नेपालका गौरीशंकर यादवबीच कडा प्रतिस्पर्धा छ । यदि माओवादीले राजपालाई सघाएमा उक्त पार्टीका गुप्तासबैभन्दा बलियो हुनेछन् ।

कलैया उपमहानगर: त्रिपक्षीय टक्कर

बारा सदरमुकाम कलैया उपमहानगरमा कांग्रेस, एमाले र फोरम नेपाल मुख्य प्रतिस्पर्धी देखिएका छन् । कांग्रेसका राजेश यादव, एमालेका विनोद साह र फोरमका प्रमोद गुप्ता तीनै जना जितप्रति विश्वस्त देखिन्छन् ।

पूर्वसांसदसमेत रहेका फोरम नेपालका उम्मेदवार गुप्ता दुई ठूला दल कांग्रेस र एमालेका लागि भारी परिरहेका छन् । यहाँ कांग्रेस नेता तथा श्रममन्त्री फरमुल्लाह मन्सूर अर्का सांसद राधेचन्द्र यादवले छोरालाई टिकट दिलाएपछि चुनावी अभियानमै देखिएका छैनन् ।

कांग्रेसको अन्तरविरोधको फाइदा उठाउने दाउमा फोरम र एमाले दुवै लागेका छन् । उम्मेदवारका हिसाबले पनि फोरमका नेता गुप्ता पूर्वसांसद हुन् भने एमालेका उम्मेदवार साह उद्योग वाणिज्य संघका अध्यक्ष भएकाले हेबिवेट मानिन्छन् ।

वीरगन्ज महानगर: कसमा कति दम ?

पर्सा सदरमुकाम वीरगन्ज मुलुकको आर्थिक गतिविधिको केन्द्र मानिन्छ । त्यसैले यस महानगरको प्रतिस्पर्धा दिनदिनै रोचक मोडमा पुगिरहेको छ । कहिले त्रिपक्षीय त कहिले चारपक्षीय प्रतिस्पर्धाको माहोल बनिरहेको छ । माओवादीका युवा उम्मेदवार रहबर अन्सारीले चर्चा र प्रचारमा अरुलाई उछिन्दा माहौल झनै रमाइलो बनेको छ ।

वीरगन्जमा प्रमुख दलका शीर्ष नेताहरु ओहोरदोहोर गरिरहँदा राजपाका भने शरतसिंह भण्डारीबाहेकका नेता चुनावी अभियानमा देखिएनन् । राजेशमान सिंहले मेयरको टिकट पाएपछि राजपा छाडेर फोरम लोकतान्त्रिकको उम्मेदवार बनेका विमल श्रीवास्तवको भूमिका सबैले अधैर्यपूर्वक पर्खेका छन् ।

प्रतिस्पर्धामा राजपालाई पछाडि पारेर फोरम नेपालका विजय सराबगी अगाडि बढ्दा कांग्रेसका अजय द्विवेदी र एमालेका बसरुद्धिन अन्सारी दबाबमा छन् । अन्तिममा हुने चलखेलले वीरगन्जको भावी मेयरको टुंगो लाग्ने जानकारहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment