Comments Add Comment

माधव नेपालको गृहजिल्ला रौतहटमा एमाले पत्तासाफ !

अन्तर्घातले हारेपछि गौरबाट काठमाडौं फर्किंदै नेपाल

६ असोज, गौर । चन्द्रपुर नगरपालिकामा बहुमत जितेर पनि मेयर हारेपछि एमाले कार्यकर्ताले फेसबुकमा लेखे– रामकुमार एण्ड कल्याणी कम्पनीलाई लिक्वीडेसनमा लैजाऊ ।

उनीहरुको आक्रोश सोही क्षेत्रबाट जितेका सांसद रामकुमार भट्टराई र केन्द्रीय सदस्य कल्याणी खड्काप्रति पोखिएको हो ।

एमालेको गढ मानिने चन्द्रपुरमा उपमेयर रामरती चौधरी कांग्रेस उम्मेदवारलाई भारी मतान्तरले पराजित गरेर बिजयी हुँदा एमालेका मेयर उम्मेदवार उद्धव रेग्मी भने पराजित भए । टिकट वितरणदेखि नै शुरु भएको एमालेको अन्तरकलह मेयरमा रेग्मीले हारेपछि छताछुल्ल भएको छ ।

चन्द्रपुरमात्र होइन, पूर्वप्रधानमन्त्री एवं बरिष्ठ नेता माधवकुमार नेपाल नै मतदाता रहेको गौर नगरपालिकामा पनि एमाले राजपासँग पराजित भयो । माधव नेपालको आफ्नै वडामा समेत एमाले पराजित भएपछि आसन्न प्रतिनिधिसभा निर्वाचनमा माधव नेपाल रौतहटबाट उम्मेदवार बन्नेमा प्रश्न उठेको छ ।

रौतहटका १८ स्थानीय तहमध्ये एमालेले एउटा पनि नजित्ने लगभग निश्चित भएको छ । मतगणना भइरहेका कुनै पनि स्थानीय तहमा एमाले अग्रतामा छैन । अधिकांशमा एमाले दोस्रो स्थानमा पनि छैन । यो भनेको रौतहटमा एमाले एउटा उपमेयर र केही वडामा सीमित हुने संकेत हो ।

किन हार्यो एमाले रौतहटमा ?

उम्मेदवारी मनोनयनको अघिल्लो दिन एमाले केन्द्रीय कार्यालयले गरेको पत्रकार सम्मेलनमा चन्द्रपुर नगरपालिकाको मेयरमा बाबुराम दाहाल उम्मेदवार भनेर सार्वजनिक गरियो । तर, दाहाल उम्मेदवारी दर्ता गराउन जाने बेला एमालेकै उद्धव रेग्मीले पहिल्यै उम्मेदवारी दर्ता गराइसकेका थिए ।

दुवैको उम्मेदवारीमा एमालेका २ नम्बर प्रदेश संयोजक सत्यनारायण मण्डलकै हस्ताक्षर थियो । पार्टीले निर्णय गरेका उम्मेदवार दाहाललाई मण्डलले आधिकारिक होइनन् भनेपछि उद्धव रेग्मी आधिकारिक उम्मेदवार बने । त्यहीँबाट एमाले चन्द्रपुरमा हार्ने चर्चा चलिसकेको थियो ।

पार्टीका आधिकारिक उम्मदेवार दाहाल माधव नेपाल पक्षका हुन् भने पराजित रेग्मी केपी ओली पक्षका हुन् । माधव नेपालको गृहजिल्लामा ओलीले हस्तक्षेप गरेको आरोप लगाइए पनि खासमा चन्द्रपुरको पराजयको दोष सांसद रामकुमार भट्टराई र केन्द्रीय सदस्य कल्याणी खड्कामाथि लागेको छ । उनीहरु दम्पत्ती हुन् ।

रामकुमार दम्पतीले रौतहटमा पार्टीलाई माधव नेपालको आडमा कम्पनीका रुपमा चलाउन खोजेको भन्दै अब यो कम्पनीलाई टाट उल्टेको घोषणा गरेर लिक्वीडेसनमा पठाउनुपर्ने व्यंग्यात्मक टिप्पणी एमालेका जिम्मेवार नेता कार्यकर्ताले गरेका हुन् ।

पार्टी कार्यकर्तालाई कर्मचारीको जस्तो व्यवहार गर्ने र पार्टीलाई कम्पनी जस्तो चलाउन खोजेको आरोप रामकुमार दम्पत्तीमाथि छ ।

कल्याणीलाई रौतहटमा माधव नेपालको प्रतिनिधिका रुपमा लिइन्छ । चन्द्रपुरको चुनाव हारेपछि आसन्न प्रतिनिधिसभा र प्रदेशसभामा टिकटका दाबेदार दम्पत्ति नै अब दबावमा परेका छन् ।

गौरमा माधव नेपालप्रति असन्तुष्टि

माधव नेपालको घर गौरमा पर्छ । उनले गौरको मेयरमा अघि सारेका शम्भु साहलाई भोट माग्ने क्रममा ‘ऊ मेरो छोराजस्तै हो’ हो भनेर गौरबासी सामु नेता नेपालले चिनाएका थिए । साहलाई माधव नेपालले च्याप्दा वर्षौंदेखि पार्टीमा काम गरेका अरु नेता कार्यकर्ताहरु असन्तुष्ट बनेका थिए ।

विगत २५ वर्षदेखि पार्टीको झण्डा बोकेर हिँडेका नगर कमिटी अध्यक्ष रामजी साहलाई माधव नेपालले वडाध्यक्षको टिकटसमेत नदिएपछि उनी असन्तुष्ट बने । गौरमा कम्तिमा दुई दर्जन अगुवा कार्यकर्ता माधव नेपालसँगको असन्तुष्टिकै कारण निष्क्रिय बसे ।

नेता नेपालले केही व्यक्तिलाई मात्रै च्याप्ने गरेका कारण रौतहटमा एमाले ओह्रालो लागेको जिल्ला कमिटीका एक पदाधिकारीेले बताए ।

रौतहट जिल्लामा माधव नेपाल पक्षको लगभग एकलौटी नै छ । केन्द्रीय नेताहरु वंशीधर मिश्र, सरला यादव, लालबाबु यादव, रामकुमार भट्टराई, कल्याणी खड्का र जिल्ला अध्यक्ष कमल राय यादव सबै नेपाल पक्षकै हुन् । तर, कार्यकर्तामा भने चुनावको मुखमा असन्तुष्टि चुलिएको छ ।

दबावमा नेता नेपाल

आफ्नै जिल्लामा पार्टीे ‘क्लिन स्वीप’को अवस्थामा पुगेपछि माधव नेपाल स्वयं दबावमा परेका छन् । रौतहटमा एमाले पराजित हुनुका पछाडि मधेस आन्दोलनको प्रभाव वा अन्य कुनै कारणभन्दा पनि एमालेभित्रको अन्तरकलह र माधव नेपालसँगै असन्तुष्टि मुख्य कारण रहेको एक नेताले बताए ।

उनले भने– पार्टीको बरिष्ठ नेताले आफ्नो गृहजिल्लामा आउँदा पनि सीमित व्यक्तिसँगमात्रै उठबस गर्ने । टिकट वितरणका बेला न्यायोचित व्यवहार नगर्ने र केही व्यक्तिलाई सधैंभरि पार्टीको ठेक्का दिने गरेकाले रौतहटमा पराजय भएको हो ।

रौतहटमा एमालेको पराजयसँगै अब माधव नेपाल कहाँबाट चुनाव लड्ने भन्ने प्रश्न पनि उठेको छ । यसबीचमा गौर छाडेर नेपाल चन्द्रपुर नगर रहेको ४ नम्बर क्षेत्रबाट चुनाव लड्ने चर्चा पनि चल्न थालेको छ ।

तर, चन्द्रपुरमा अन्तरघातका कारण एमाले पराजित भएपछि यसको असर आउने चुनावमा पनि देखिन सक्छ । सम्भवतः नेपाल काठमाडौंबाटै चुनाव लड्नेछन् । तर यसको असर भने एमालेलाई रौतहटमा दीर्घकालसम्म पर्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment