Comments Add Comment

म्याग्दीमा जीप खस्याे, १२ घाइते

मोटरसाइकल दुर्घटना हुँदा मोरङमा १ जनाको मृत्यु

१० असोज, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७, महभिरमा सोमबार साँझ बोलेरो जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।

बेनीदेखि घराम्दी जाँदै गरेको ध १ ज ६६८ नंको जिप दुर्घटना हुँदा घाइते भएका छजनालाई बेनी अस्पतालबाट थप उपचारका लागि राति नै पोखरा लगिएको छ । एकजनाको बेनी अस्पतालमा उपचार भइरहेको र पाँचजना उपचारपछि घर गएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीले जनाएको छ ।

प्रहरीका अनुसार अन्नपूर्ण गाउँपालिका–७ की ३० वर्षीया लक्ष्मी गर्बुजा, २५ वर्षीया ममता पुर्जा, करिना फगामी, चालक धु्रव थजाली र सवारी धनी तुलबहादुर फगामीको रिजनल हस्पिटल र लालदेवी गर्बुजाको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको छ ।

बाह्र वर्षीया वर्षा फगामीको बेनी अस्पतालमा उपचार भइरहेको छ भने पाँचजना उपचारपछि राति नै घर फर्किएको प्रहरीले जनाएको छ ।

सडकबाट करिब ४० मिटर तल जिप खसेर दुर्घटना हुँदा घाइते भएकाहरुलाई स्थानीयवासी, प्रहरी र यातायात व्यवसायीले उद्धार गरेर राति नै बेनी ल्याएका थिए । साँघुरो, घुमाउरो र उकालो जीर्ण सडकमा क्षमताभन्दा बढी यात्रु बोकेकाले दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

उता, मोरङको बेलबारी नगरपालिका–११ स्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा आज बिहान एकजनाको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिम जाँदै गरेको को २१ प ४२१० नंको मोटरसाइकल आज बिहान १ः३० बजे आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार उदयपुर त्रियुगा नगरपालिका–३ का ३९ वर्षीय अशोक राईको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज बिहान ३ः३० बजे मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक मोरङ जिल्लाको पथरी शनिश्चरे नगरपालिका–१ का १९ वर्षीय सनम तामाङ गम्भीर घाइते भएकाले उनको धरानमै उपचार भइरहेको छ ।

दुर्घटनामा परेको मोटरसाइकल नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय, बेलबारीका प्रहरी निरीक्षक रामजी कटुवालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment