Comments Add Comment

सेलिब्रेटीको दशैं: कसैको स्वादिलो, कसैको खल्लो

दशैंको दोस्रो दिन । अक्सर सेलिब्रेटी दशैंकै ह्याङओभरमा छन् । धेरैजसो त दशैं मान्न मुल घर पुगेका छन् । तास खेल्ने, पिङमा मच्चिने, मीठो मसिनो खाने, साथीभाई भेट्ने उपक्रममै उनीहरु व्यस्त छन् । यद्यपी सबै सेलिब्रेटीको दशैं रसिलो छैन । कतिको खल्लो पनि भएको छ । हामीले यहाँ केही सेलिब्रेटीको तात्तातो दशैं अनुभव पेश गरेका छौं ।

केदार घिमिरे, ‘माग्ने बुढा’

दशैं मान्नका लागि सबैले काठमाडौं छाडे । हामी पनि उनीहरुकै लस्करमा लागेर काठमाडौं छाड्यौ । नवमीको दिन छोराछोरी, पत्नीसहित म हेटौडातिर लागें । हेटौडाबाट ३२ किलोमिटर पूर्वमा हात्तिसुढें भन्ने ठाउँ छ, जहाँ मेरो मुल घर हो । त्यो सानो गाउँको बजार जस्तै छ ।

घरमा मेरी ९५ बषिर्य हजुरआमा हुनुहुन्छ । खासमा उहाँकै हातबाट टीइका थाप्न गएको । तर, सिरपुरको जंगलमा राती गाडी ठोक्कियो । नवमीको दिन मिस्त्री पाउने कुरै भएन । तर, त्यहाँ आसपासका सबैले मलाई चिन्ने भएकाले सहयोग गरे । राति १० बजे गाडी बनाइयो र घरतिर लागियो । हामी पुग्दा रातको ११ बजिसकेको थियो । हजुरआमा निदाइसक्नुभएको थियो ।

भोलिपल्ट दशैंमा हजुरआमाको हातबाट टिका लगाइयो । बुवाआमाबाट लगायो । मेरो बुवाको सात दाजुभाई । सबैकहाँ जानैपर्ने, खानैपर्ने, टिका लगाउनैपर्ने । सानोमा जस्तो रमाइलो त हुँदैन । तर, एउटाकहाँ गयो, यो खानैपर्छ भन्छ । अर्कोमा गयो त्यसै भन्छ । अब सबैतिर खाने हो भने पेट फुटिहाल्छ नि ।

ओभर डाइटिङ होला भनेर सकेसम्म बच्ने कोशिस गरियो । टाउको हल्लाउने, हुन्छ हुन्छ भन्ने तर थोरै खाने । यता गयो खसीको मासु, उता गयो खुकुराको । हाम्रोतिर के पनि भनिन्छ भने, दशैंको दिन दश चोटी खानुपर्छ । अब दश चोटी खान थालियो भने के हालत होला ?

म गएपछि गाउँमा रौनक पनि थपिने । सबैले ‘माग्ने बुढा आयो’ भन्ने । कोही तपाईको फिल्म हेरेको हसाएको हसाएकै गर्ने रहेछ भन्छन् । कोहि चाँही टिकट नै पाइएन, कहाँबाट लिने पनि भन्छन् । जे होस्, गाउँघरको दशैं रमाइलोमा बित्यो ।

अमर न्यौपाने, लेखक

यसपालीको दशैं आधा नेपालमा आधा विदेशमा भयो । मेरो उपन्यास ‘करोडौं कस्तुरी’को लागि पुरस्कार ग्रहण गर्न म बेलायत पुगेको थिएँ । अहो ! दशैं त बेलायतमा लागेको रहेछ त । कोही चाँही साथीभाई भेला भएर खसीको जोहो गर्ने तयारीमा । किनभने त्यहाँ भेडा पाइन्छ, खसी नपाइने रहेछ । सबैको घरमा पहेंलो जमरा । जहाँ पुगेपनि मानिसले मनमा आफ्नो देश र जीवनमा संस्कृति पनि लगेर जाने रहेछ । बेलायतमा दशैंको सुरसार देखेंपछि मलाई त्यस्तै लाग्यो ।

नवमीको दिन म काठमाडौं विमानस्थल उत्रिएँ र सोझै चितवनस्थित मुल घरमा पुगें । घरमा बा, आमा, दिदी, भिनाजु सबै भेला भइरहेका हुनुहुन्थ्यो । पारिवारिक माहौलमा दशैं मनाइयो ।

म तास खाने, ड्रिंक गर्ने समूहमा छैन । त्यही भएर घरमा पुगेपछि खसीको मासु पकाउने काम मेरो भागमा पर्छ । बाले नै मलाई पकाउन भन्नुहुन्छ । आगोमा पकाएर स्वादिलो खसीको मासु खाइयो ।

खसीको मासुमा मरमसला मोलें । त्यसमा फोक्सो, बोसो, कलेजो, आन्द्रभूँडी चाहि मिसाउनु भएन । नुन, बेसार, मसला हालेर मोलेपछि हेर्दै खाउँ खाउँ लाग्छ । त्यसलाई ठूलो कसौडीमा पकाउनुपर्छ । पहिलो मसिनोगरी काटेको प्याज हालियो । त्यसमाथि तेजपत्ता । अनि खसीको मासु हालेर मधुरो आगोमा पकाइयो । मासुको पानी सकिएर सुख्खा भएपछि मिठो बास्ना आउँछ । अनि त्यसमा आफुलाई चाहिने रस हालेर खाए हुन्छ, भुटुवा खाए पनि भो । बाँकी पि|mजमा राख्नुपर्छ, चाहिने बेला खान । खुब स्वादिलो हुन्छ, यसरी पकाएको खसीको मासु । काठमाडौंमा कहाँ यस्तो स्वाद पाउनु ?

बिपिन कार्की, कलाकार

यसपाली दशैं मान्न फूलपातीमै काठमाडौं छाडियो । र, मुलघर बिराटनगर पुगियो । घरमा बुवाआमा, दाजु भाउजुहरु हुनुहुन्छ, उहाँहरुसँग दशैं मनाइयो ।

यसपाली मेरो भिन्नै योजना थियो, पुस्तक पढ्ने । त्यो पनि पहिले एकसरो पढिसिध्याएको शंकर लामिछानेको पुस्तकहरु । उहाँको भएजति पुस्तक बोकेको थिएँ । त्यही दोहोर्‍याएर पढें, दशैंभरी नै । कुमार नगरकोटीको ‘दोचा’ पनि पढें । दशैंमा धेरैजसो समय पुस्तक पढेर नै बिताइयो ।

घरमा भान्साको काममा खासै सघाउनु नपर्ने भएकाले पनि मलाई कामको चाप थिएन । त्यसैले फुर्सदिलो समयमा खुब स्वाद लिएर पढियो ।

हुन त घर पुगेपछि आफन्त, पुराना साथीभाईसँग भेटघाटमा पनि समय वित्छ । सँगै हुर्केका साथीहरु छन्, उनीहरुसँग बसेर पुराना कुराहरु गरिन्छ । अहिले चाहीँ मोरङ गएको थिएँ, ससुराली । त्यही पिङ खेलियो । अब भोलि नै म काठमाडौं र्फकदैछु । किनभने नयाँ प्रोजेक्ट सुरु हुँदैछ, हरि भन्ने फिल्मको । त्यो फिल्म चाँडै फ्लोरमा जाने भएकाले तयारीका लागि फर्किहाल्नुपर्ने छ ।

नवयुग श्रेष्ठ

अहिले म इलामको मंगलबारेको मूल घरमै छु । आठ दिन जति भयो यता आएको । तर दशैं मनाउन होइन । यसपाली घरमा जुठो पर्‍यो । ८२ बषिर्य हजुरआमा हुनुहुन्थ्यो, खस्नुभयो । घर बाहिर निस्कन पाएको छैन । पुराना साथीहरु पनि भेट्न पाएको छैन । दशैं मनाउन नपाइने भएकाले घरभित्रै काममा व्यस्त छु ।

पोहोर साल उहाँ (हजुरआमा)को हातबाट टिका थापेको थिएँ । हाम्रो घर मुलघर भएकाले काकाहरु सबै हाम्रै घरमा आउनुहुन्थ्यो, दशैंको जमघट रमाइलो हुन्थ्यो ।

यसपाली दशैंकै बेला हजुरअमा बित्नुभयो । बुवा, काकाहरु कोरा बस्नुभएको छ । म घरको एक्लो छोरो । त्यही भएर राती छिमेकी, आफन्त, साथीभाईहरु आउँछन् । उनीहरुलाई चिया पकाएर ख्वाउँछु । राती एघार, बाह्र बजेसम्म खटिरहेको छु ।

निश्चल बस्नेत, निर्देशक

दशैं खासै रमाइलो छैन । यसपाली जुठो परेकाले टीका लगाइएन । जमघट पनि भएन । हिजो र अस्ति बुढानिलकण्ठ गएँ । त्यहाँ मेरा मावाली आउनुभएको छ, जुम्लाबाट । सानो छँदा दशैं मनाउन जुम्ला पुगिन्थ्यो । त्यसबेलाको धमिलो सम्झना मात्र छ । धेरै भयो, जुम्लाको मामाघर नगएको ।

यता घरमा पनि सुनसान जस्तै छ । ममीको मृगौला फेलियर भएकाले उपचारका लागि दिल्ली जानुभएको छ । उहाँसँगै दिदी, बहिनी, ड्याडी पनि दिल्ली जानुभएको छ । यस्तो अवस्थामा रमाइलो गर्ने कुरा पनि त भएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment