Comments Add Comment

लहानबाट उम्मेदवार बन्न ओलीलाई सिरहा एमालेको आग्रह

२१ असोज, लहान । एमाले सिराहा जिल्ला कमिटीले अध्यक्ष केपी शर्मा ओलीलाई सिरहा १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचन लड्न आग्रह गरेको छ ।

विपक्षी पार्टीहरुले ओलीलाई मधेस बिरोधी भनेर आरोप लगाएकाले जनताबाट आरोप खारेज गर्न सिरहामा आमन्त्रण गरिएको एमाले जिल्ला सचिव अशोक यादवले बताए ।

शुक्रबार राति सम्पन्न १ नम्बर क्षेत्रीय कमिटीले ओलीलाई सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस गरेको छ । यद्यपि यो निर्णय हो वा आमन्त्रण गरिएको हो भन्ने बारेमा एमालेका स्थानीय नेताहरुले दुईथरी कुरा गरेका छन् ।

मधेस आन्दोलनको उद्गमथलो लहानमा हालै स्थानीय तह निर्वाचनमा एमालेले फराकिलो अन्तरले जितेकाले पनि मधेस बिरोधी भनेर आरोप खेपिरहेका अेालीलाई यहिँबाट उम्मेदवार सिफारिस गरेर जिल्ला पार्टीले सन्देश दिन खोजेको छ ।

सिरहा १ बाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ हालका सांसद रामचन्द्र यादव र अर्का नेता गंगा यादवले दाबी गरेका छन् । उनीहरुमध्ये एकजना समानुपातिकमा जाने सम्भावना छ । अध्यक्ष ओलीको नाममा सर्वसम्मति गरेर पठाएपछि केन्द्रले एकजनालाई प्रत्यक्ष र अर्कोलाई समानुपातिक दिने भएकाले पनि यस्तो निर्णय भएको केही कार्यकर्ताको दाबी छ ।

ओलीको नाम गृहजिल्ला झापा ५ बाटै सर्वसममत रुपमा आइसकेको छ । उनी झापाबाटै चुनाव लड्दैछन् ।

एमाले जिल्ला सचिव अशोक यादवले मधेसको विकासमा ओली प्रधानमन्त्री भएकै बेला सबैभन्दा बढि बजेट बिनियोजन भएकोले आफूहरुले चुनाव उठाउन खोजेको बताए ।

सिरहा १ अन्तर्गत पर्ने देशकै ठूलो लहान नगरपालिकामा हालै एमालेले जितेको छ । त्यस्तै यहि क्षेत्रमा पर्ने सखुवानान्करकट्टी गाउँपालिका पनि एमालेले जितेको छ ।

अन्य स्थानीय तहमा पनि एमाले बलियो रुपमा उपस्थित भएकाले यहाँ एमालेले यसपटक अध्यक्षको नाम चर्चामा ल्याएर आफ्नो पकड बढाउन खोजेको चर्चा पनि चलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment