२५ असोज, काठमाडौं । माओवादीका ‘खुट्टा’ नाङ्गो आँखाले देख्न सक्ने कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले दसैंको अष्टमीकै दिन छनक पाइसकेका रहेछन् कि प्रचण्डले कांग्रेसलाई ‘धोका’ दिँदैछन् । यो सूचना सिटौलाले तत्कालै प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएका रहेछन् । तर, प्रधानमन्त्री देउवाले एमाले-माओवादी गठबन्धनलाई रोक्न सकेनन् ।
माओवादीलाई ‘जंगल’बाट सिंहदरबारसम्म ल्याउने कार्यमा गिरिजाप्रसाद कोइरालाको सारथीका रुपमा भूमिका खेलेका ‘कृष्णजी’ यतिबेला महाभारतको उत्तरार्धमा पात्रहरुको परिचर्चा गरेजसरी प्रचण्डको चरित्रचित्रण गर्नेतिर लागेका छन् । प्रचण्डको स्वाभाव र मनपेटका बारेमा कांग्रेसका अरु नेताभन्दा शायद सिटौलालाई अलि बढी नै जानकारी छ ।
यही सन्दर्भमा नेपाली कांग्रेसमा ‘थर्ड पोल’ का नेतासमेत रहेका सिटौलासँग अनलाइनखबरका लागि राजकुमार श्रेष्ठले एमाले-माओवादी गठबन्धन, यसले पार्न सक्ने प्रभाव र कांग्रेसको रणनीतिका विषयमा छोटो कुराकानी गरेको छः
सत्ता गठबन्धनमा रहेको माओवादी एकाएक एमालेतिर लागेपछि कांग्रेसका धेरै नेताहरुले आश्चर्य प्रकट गरे । तपाईले कसरी लिनुभएको छ ?
माओवादीको अचानक उफि्रने बानी मेरा लागि नयाँ होइन । प्रचण्डजी ओलीसँग हुनुहुन्थ्यो, एकै रातमा कांग्रेसतिर आउनुभयो । अहिले फेरि ओलीतिर जानुभएको छ, फेरि एकैरातमा अर्कोतिर जान पनि सक्नुहुन्छ । त्यसैले मलाई केही अनौठो लागेको छैन ।
तर, हामीलाई धोका भयो भन्दै कांग्रेसकै नेताहरुले ‘रुवाबासी’ गरेको सुनिन्छ नि ?
कांग्रेस र माओवादीबीच भएको सम्झौताकै आधारमा मूल्यांकन गर्दा त धोका भएकै हो कांग्रेसलाई ।
तर, मेरो मूल्यांकन माओवादी र प्रचण्डको विशेषताका आधारमा हो । म कसैलाई धेरै होच्याएर त भन्न चाहन्नँ तर, प्रचण्डजीको स्वाभाव हेर्दा हिँड्दाहिँड्दै अर्कोतिर फिर्ने बानी पहिल्यैदेखि नै छ । वार्तामा बस्ने साथीहरुले प्रचण्डजीको स्वाभावलाई कत्तिको बुझ्न सक्नुभयो, सक्नुभएन उहाँहरुले नै भन्नुहोला । यो बीचको परिदृश्यमा म पार्टीको तर्फबाट वार्तामा बसेको छैन ।
दलहरु मिल्नु, फुट्नु उनीहरुको आन्तरिक कुरा हो । तर, एमाले र माओवादी मिल्दा लोकतन्त्रमाथि खतरा भयो, अधिनायकवाद आउँछ भनेर त्रासदीको चित्र किन प्रस्तुत गरिएको हो ?
मैले प्रचण्जीलाई भनेँ, यो जनताले दुःख पाउने बाटोमा किन हिँड्नुभयो ? सिंगो शान्ति प्रक्रियाको कार्यदिशा र यसको गन्तव्यलाई नै चुनौती खडा गर्ने बाटोमा हिँडेकोजस्तो लाग्न थाल्यो । जानेर वा नजानेर कता फस्नुभयो हँ
यो सहमतिपछि उहाँहरुले कम्युनिष्ट एकता गर्ने र १० वर्षभित्र कम्युनिज्म ल्याउने उद्घोष गर्नुभएको छ । एकदलीय शासनतिर सोचतिर जान्छौं भन्ने उहाँहरुको सार्वजनिक टिप्पणीका आधारमा हामीले लोकतन्त्रमाथि खतरा भनेका हौं ।
माओवादीहरुले हिजो पनि हाम्रो लक्ष्य समाजवाद हो भन्दै आएकै त थिए नि…
होइन । १२ बुँदे समझदारीको चौथो बुँदा हामीले बहुदलीय लोकतन्त्र, कानुनी राज्यको सिद्धान्त र लोकतन्त्रका विश्वव्यापी मूल्य मान्यतामा आधारित व्यवस्थामा जान्छौं भनेका छौं । त्यही १२ बुँदे समझदारी र बृहत शान्ति सम्झौताका आधारमा हामी अघि बढेका छौं र शान्ति प्रक्रिया अझै टुंगिएको छैन ।
उसोभए मानिसहरुले भनेजस्तो माओवादी एमालेमा विलय भएको होइन, राजनीतिक रुपमा एमाले माओवादीको बैचारिक लाइनमा गएको हो त यो एकतामार्फत ?
मलाई के लाग्छ भने एमालेले पनि माक्र्सवाद, लेनिनवाद भन्न छाडेको छैन । माओवादीको माओवादी पार्टीकै नाम छ ।
तर, जसरी उहाँहरुले १० वर्षमा साम्यवादमा जान्छौं भनेर घोषणा गर्नुभयो, त्यसले लोकतन्त्रवादीहरु चकित हुनुपर्ने अवस्था आयो । उहाँहरुले जुन कार्यदिशा तय गर्न लाग्नुभएको छ, त्यो यो लोकतन्त्रवादीहरुका लागि चुनौती हो । यो नेपालको सन्दर्भमा गलत हुन्छ ।
मेरो मूल्यांकनमा नेपाली माटोले माक्र्सवाद, लेनिनवाद र माओवादको एकदलीय शासन पद्दति स्वीकार गर्दैन । उहाँहरु यो बाटोमा हिँड्न खोज्दा गम्भीर दुर्घटना निम्त्याउँछ ।
शान्ति प्रक्रिया अझै टुंगिएको छैन । दुबै आयोगमा संगीन मुद्दाहरु छन् र संसारको आँखा त्यहीँ परेको छ । १७ हजार मानिस मारिएका छन्, हजारौं पीडित छन् र उनीहरुलाई न्याय दिन बाँकी छ । त्यसमा बदलाभावले काम नहोस् भन्ने कांग्रेस चाहन्छ । तर, शान्ति प्रक्रिया नटुंगिदै कम्युनिष्ट शासनतिर जाने एमाले र माओवादीको सहमतिले नेपालको राजनीतिमा दुर्घटना निम्त्याउँछ ।
शान्ति प्रक्रियामा सुरुदेखि जोडिएको व्यक्तिका नाताले मैले भर्खरै प्रचण्डजीलाई भेटेर भनेको छु, तपाईको यो निर्णय गलत छ । हुनत उहाँले पहिलो संविधानसभा निर्वाचनपछि पनि कांग्रेसलाई धोका दिनुभएकै हो । त्यसले तत्कालीन घाटा कांग्रेसलाई भयो । २ वर्षमा आउने संविधान ४ वर्षमा आएन । तर, ठूलो दुष्परिणाम उहाँले व्यहोर्नुभयो ।
आज फेरि उहाँले कांग्रेसलाई धोका दिनुभएको छ । यसको दुष्परिणाम तत्कालीन अवस्थामा कांग्रेसलाई पर्ला तर, अन्ततः ठूलो दुष्परिणाम उहाँको टाउकोमा पर्न सक्छ । ठूला पार्टीहरुको टाउकोमा दुष्परिणाम पर्नु भनेको देश र जनताले दुःख पाउने हो ।
त्यसैले मैले प्रचण्जीलाई भनेँ, यो जनताले दुःख पाउने बाटोमा किन हिँड्नुभयो ? सिंगो शान्ति प्रक्रियाको कार्यदिशा र यसको गन्तव्यलाई नै चुनौती खडा गर्ने बाटोमा हिँडेकोजस्तो लाग्न थाल्यो । जानेर वा नजानेर कता फस्नुभयो हँ ?
तपाईले नै भन्नुहुन्छ, प्रचण्डको अचानक उफ्रिने बानी छ, भोलि चुनावपछि फेरि यता (कांग्रेसतिर) उफ्रिन सक्छन् । उसोभए किन धेरै आत्तिने त ?
भोलि के होला भविश्यले बताउला । तर, हामी आत्तिएको होइन । हामी गम्भीर आत्मविश्वासका साथ भन्न चाहन्छौं, यो चुनौतीको सामना गर्न कांग्रेस तयार छ ।
लोकतन्त्रलाई जोगाउन सक्छ भने कांग्रेसले सक्छ, अन्यथा नेपाल गलत बाटोमा जान्छ भनेर संसारको चिन्ता त कांग्रेसले पाइसकेको छ । त्यसैले यो कांग्रेसलाई चुनौती पनि हो तर, डराउनुपर्ने कुनै कारण छैन ।
तर, हतार-हतार गठबन्धन गर्ने, माओवादी मन्त्रीहरुलाई निकाल्ने तयारी यो सबैले त कांग्रेस हतासमा छ भन्ने देखाउँदैन र ?
माओवादी मन्त्रीहरुलाई निकालिहालौं भन्दा पनि प्रतिपक्षसँग सहमति गरेर सत्तामा बसिरहन सुहाउने विषय होइन । उहाँहरुले प्रतिपक्षीसँग तालमेल गर्नुभयो, सत्तामा पनि इन्जोय गरिराख्न चाहनुहुन्छ । यो नैतिक रुपमा सुहाउँदैन ।
माओवादीले त सम्झौताअनुसार चुनावसम्म सरकारलाई समर्थन गर्छौं भनिसक्यो । अब बर्खास्ती नै बाटो हो ?
हामीले निकाल्ने कुरा त सोचेका पनि छैनौं । तर, उहाँहरु बस्ने किन ? यो दोहोरो चरित्र राम्रो होइन ।
अब माओवादी वा प्रचण्डसँग कांग्रेसको सम्बन्ध कस्तो हुन्छ ? प्रतिशोध कि फेरि पनि सहमति ?
कांग्रेसले कहिल्यै प्रतिशोधको राजनीति गर्दैन । हामीले राणाासँग त प्रतिशोधको राजनीति गरेनौं । राणा शासन अन्त्य गरेर मोहन समशेरलाई नै प्रधानमन्त्री बनायौं । हामी त गलत बाटोमा हिँडेकाहरुलाई सही बाटोमा ल्याउनुपर्छ भन्ने सोच राख्छौं ।
जस्तो-माले भूमिगत थियो, उहाँहरु पनि एकदलीय सोचमा हुनुहुन्थ्यो । ०४६ को आन्दोलनमा गणेशमानको नेतृत्वमा उहाँहरुलाई हामीले बहुदलीय लोकतान्त्रिक आन्दोलनमा ल्यायौं र बहुदलीय जनवाद भन्दै संसदीय अभ्यासमा आउनुभयो ।
माओवादी पनि बन्दुकबाट सत्ता प्राप्त हुन्छ भन्दै हिंसाको बाटोमा हिँड्यो । उहाँहरुको सशस्त्र युद्धबाट १७ हजार मारिए, सेना, विद्रोही जो भए पनि ती नेपाल आमाकै सन्तान थिए । कांग्रेसका थुप्रै साथीहरु मारिए, धेरैको सम्पत्ति ध्वस्त भयो । तर, हामीले नै माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने आँट गर्यौं । म आफैं लडाकूको शिविरमा गएँ । प्रचण्ड-बाबुरामलाई शान्ति प्रक्रियामा ल्यायौं । आखिर यो त यथार्थ हो नि !
त्यसैले अब पनि कांग्रेसले प्रतिशोधको राजनीति गर्दैन । राष्ट्र, जनता र सम्बृद्धिका लागि दृढतापूर्वक उभिन्छ र यसका सामुन्ने आउने चुनौतीको डटेर सामना गर्छ ।
माओवादीलाई एमालेबाट छुटाएर कांग्रेसतिर ल्याउनुहुन्छ ?
एमाले र माओवादी दुबैले गलत बाटो हिँड्न खोजेका छन् भन्ने हामी मान्छौं र दुबैलाई सही बाटोमा आउन उत्प्रेरित गर्नेर्छौं । अहिलेकै विकसित घटनामा कांग्रेसले जुन जनमत उठाउँछ, त्यसको दबावमा लोकतान्त्रिक धारमा फर्काउँछौं ।
तपाईहरु अरुलाई मात्र गलत देखाउन थाल्नुभयो । आफूसँग सहकार्य गरिरहेको दल विपक्षीतिर जाँदा तपाईहरुका पनि त कमजोरी होलान् । झन प्रचण्ड त सशस्त्र विद्रोहबाट आएका नेता हुन् । उनका केही ‘फियर फ्याक्टर’हरु पनि होलान् नि ?
उहाँलाई तर्साउने काम त कसैले गरे जस्तो लाग्दैन । कम्तिमा कांग्रेसका तर्फबाट तर्साउने काम भएको छैन । हामीले सार्वजनिकरुपमै भनेका छौं, शान्ति प्रक्रिया सही ढंगले टुंग्याउने हाम्रो दायित्व हो । त्यसैले आजको दिनमा एमाले र माओवादीका नेताहरुलाई भन्न चाहन्छु, मुलुकलाई द्वन्द्वमा जानबाट जोगाउनुस् ।
एमाले र माओवादी मिल्नासाथ मुलुक द्वन्द्वमा जान्छ र ?
त्यो त देख्दैछु नि । नेताहरुको सानो गल्तीले देश र जनताले पीडा भोग्नुपर्छ । पहिलो संविधानसभामा भएको गल्तीले देशले ‘सफर’ गर्यो । ४ वर्ष त खेरै गयो नि ! चार/चारवटा सरकार फेरिए, झण्डै निर्वाचन पनि गुमेको हो नि त । प्रधानन्यायाधीशलाई कुर्सीमा ल्याएर चुनाव गराउनुपर्ने अवस्था आयो । त्यसैले कि त मिल्दा सबैले एउटा समझदारीमा जान सक्ने परिस्थिति सिर्जना गरेको भए हुन्थ्यो, नभए सबै पार्टीले आ-आफ्नो पार्टीमा हिँड्दा भइहाल्थ्यो ।
तर, एमाले र माओवादीको एकताले समझदारी भत्किएको छ, जनतामा अन्योल सिर्जना भएको छ । मलाई चाहिँ के लाग्छ भने हिँड्दाहिँड्दै युटर्न गर्ने प्रचण्डजीको स्वाभाव छ । युटर्न गर्ने/नगर्ने उहाँको कुरा हो । तर, उहाँ त्यहीँ (एमालेसँगै) रहिरहनुपर्छ भन्ने बाध्यात्मक परिस्थिति छ भन्ने मलाई लाग्दैन ।
उसोभए अझै प्रचण्डको ‘युटर्न’को आश छ ?
अहिले म यति भन्छु, एमाले र माओवादीका नेताहरुले साम्यवादमा पुग्ने घोषणा गर्नुभएको छ, त्यो बाटो हामी ब्लक गर्छौं । यो क्षमता कांग्रेससँग छ ।