सोमबार, २५ मंसिर, २०७४
OnlineKhabar.com

मसानघाट, नगरबधु र नगरकोटी

एक बेपर्वाह सर्जकको विन्दास जीवनशैली

अनलाइनखबर

उनलाई मसान घाटको सन्नाटा मनपर्छ

चिताबाट उड्दै गरेको निराकार धुँवाको मुस्लो मनपर्छ

शिशिरको ठिंहिर्‍याउने रात मनपर्छ

कालो बादलमुनि बत्तिइरहेका गिद्धहरु मनपर्छ

हिँड्ने बेला बिरालोले बाटो काटेको मनपर्छ

र, लट्टाई बिनाको चंगाजस्तो बेपर्वाह बत्तिएको मनपर्छ, आफ्नै जिन्दगी ।

कुनै कविताका पंक्ति होइनन् यी । एउटा विचित्र पात्रको विचित्र स्वभावको बयान हो ।

कहिले प्रातः भ्रमणमा निस्किएका नगरकोटी पाटनको गल्ली हुँदै रत्नपार्कका भीडहरुमा मिसिन पुग्छन् । कहिले गम्लङ्ग कम्बल ओढी खोला किनारमा जान्छन् र पूणिर्माको रात टलक्क टल्किएको खोला हेर्दै अनेक सोचाइमा हराउँछन् ।

कहिले सार्वजनिक यातायातमा कोचिएर २/३ राउन्ड चक्रपथको चक्कर लगाउँछन् । कहिले ट्याक्सीमा बस्छन् र चालकलाई भन्छन्, ‘तिमीलाई जता हिँड्न मन लाग्छ, उतै हिँडाऊ ।’

न खाने टुंगो, न सुत्ने । बेढंगको जीवन । बिचित्रको पात्र । अर्थात्, कुमार नगरकोटी ।

चुरोटसँगै दिनको सुरुवात

राति १० बज्छ, ११ बज्छ, १२ बज्छ । ओछ्यानमा घुसि्रने उनको खास तालिका छैन । ओछ्यानमा पल्टिएपछि पनि आँखा जागै हुन्छन्, केही न केही नपढेसम्म । रात्रिकालीन पठनका लागि अलि भिन्नै किताब छ । पढ्छन् । पढेपछि मात्र निन्द्राले छोप्छ ।

बिहान ठ्याक्कै साढे चार बजे आँखा खुल्छन्, जतिबेला सुते पनि ।

शौच क्रिया फत्ते गर्छन् । एकसरो मुख पखाल्छन् । चुरोटको बट्टा खल्तीमा हाल्छन् । प्याट-प्याट चप्पल बजाउँदै कतै निस्कन्छन् । झ्यार्र सलाई कोरेर चुरोट सल्काउँछन् । र, पाटनका अँध्यारा गल्लीहरुमा बिलाउँछन् ।

‘मर्निङ वाकमा चुरोट ?’

हाम्रो प्रश्नमा उनी खित्किएर हाँसे र उपहासको भावमा भने, ‘केको मर्निङ वाक ? यसै हिँडेको ।’

बिहानको झिसमिसेमा उनलाई पाटनका सुनसान गल्लीहरु चहार्न मन लाग्छ रे । हिँड्दा हिँड्दै फुटपाथमा उभिएर उम्लिरहेको दूधको चिया सुक्र्याउन मन लाग्छ रे ।

उठ्नासाथ ओछ्यान छाडेका उनी फेरि कहिले घर र्फकन्छन् ? त्यसको कुनै ठेगान हुन्न । कहिले गएको गएकै हुन्छन् । कहाँ जान्छन्, आफैंलाई अत्तोपत्तो हुँदैन । भांग्रा लुगा र चप्पलमा कहिले सिनेमाको टिकटमा लाम लागिरहेका भेटिन्छन् । कहिले एकलासे घाटमा धुमधुम्ती घोरिइरहेका हुन्छन् ।

राति घर (जसलाई उनी गुफा भन्छन्) र्फकंदासम्म चप्पलले कैयौं पदचाप छाडिसकेका हुन्छन् । बिहान बोकेको एक बट्टा चुरोटमा अन्तिम खिल्ली पनि बाँकी नहुनसक्छ ।

भात खान्छन्, सधैंजस्तै । दाल, भात, तरकारी । सुत्न मन लागे सुत्छन्, नलागे लेख्छन् । लेख्न मन नलागे, टीभी हेर्छन् । टीभी हेर्न मन नलागे पुस्तक पढ्छन् ।

निर्बस्त्र-भित्री बस्त्र

करिब-करिब गेरु रंग, भनौं  गाढा कलेजी रंगको कुर्ता-पाइजामामा उनलाई देख्नेहरु झुक्किन्छन् रे । कोही ‘बाबा’को पगरी गुथाइदिन्छन् । कोही ‘भिलेन’को तक्मा भिराइदिन्छन् ।

‘हजुर भिलेन हो ?’ एउटा बच्चाले सोधेछन् ।

उनीसँग ‘होइन’ भन्ने आँट छैन । कसैले बाबाजी मानेर शीर झुकाउँछन्, ‘तथास्तु’ भनिदिन्छन् । कसैले ‘अबुई भिलेन’ भन्छन्, निहुरिएर चिन्डे टाउको मुसार्न दिन्छन् ।

उनकै भाषामा ‘हु केयर्स ? कुमार नगरकोटी कुन जन्तुको नाम हो ?’

नगरकोटीको गेटअप सूत्रबद्ध छैन । झट्ट हेर्दा के नमिलेको जस्तो । के नपुगेजस्तो । चप्पलमै शहरको चक्कर लगाइदिन्छन् ।

‘मलाई त्यो जुत्ता हुन्छ नि, तपाइर्ंले लगाएजस्तै स्पोर्टस् सुज फिटिक्कै मन पर्दैन,’ उनले आफ्नो खुट्टातर्फ इंगित गरे, ‘यी चप्पल । यही लगाएर म त जहाँ पनि पुगिदिन्छु ।’

हामीलाई कौतुहल थियो, उनको फेसन शैलीबारे । तर, फेसनको सवालमा उनले उदेगलाग्दो कुरा गरे ।

‘मलाई त लुगा नलगाउनमै मज्जा लाग्छ । लाज ढाक्न एकसरो कुर्ता पाइजामा भए पुग्छ,’ उनी भन्छन् ।

उनलाई यस्तो लुगा चाहिन्छ, जो लगाउँदा पनि नलगाएजस्तो महशुस होस् । एकदमै नांगो ।

‘म भित्री बस्त्र लगाउँदिन । अहँ, कहिले पनि,’ नगरकोटीले रहस्यमयी पारामा भने ।

यस विषमा उनले केही ‘अराजक शब्दवाली’ पनि प्रयोग गरे र खुब हाँसे ।

साँघुरा गल्लीका भट्टीमा

कुमार रक्सी पिउँथे, अचेल पिउँदैनन् । जतिबेला पिउँथे, मस्त पिउँथे । सातामा सातैदिन । कुनै साँघुरो गल्लीभित्र सुटुक्कै छिरेर रक्सीको गिलास रित्याइरहन्थे । जब तृप्त हुन्थे, आइसक्रिम खोज्दै हिँड्थे । मस्त मातेपछि चिसो आइसक्रिम चाट्नुको स्वाद कस्तो हुँदो हो ?

‘मलाई मज्जा लाग्थ्यो, अरुको के मतलब ?’ यसो भन्नासाथ उनले मिल्क कफीसँगै चिसो कोक मगाए ।

‘यी, म दुइटै पिउँछु, मलाई मज्जा लाग्छ,’ उनी आफ्नै शैलीमा हाँसे, ‘अरुको हु केयर्स ?’

उनका केही जक्सन थिए । त्यही जक्सनमा हो, कापीका पाना असरल्ल छरेर के-के सोच्दै, के-के लेख्दै गर्ने ।

‘मैले केही भट्टीलाई आफ्नो लेख्ने ठाउँ बनाएको थिएँ,’ नगरकोटीले भने, ‘तर, मेरो लागि त्यो सुनसान र शान्त हुनुपर्ने ।’

पिउँदा एक्लै हुनुपर्ने । शान्त हुनुपर्ने । यता, रेडियोमा ओमबिक्रम बिष्ट ‘म मौनतामा अल्झिएको’ गाउँदैछन् । उता, एउटा मादक लेखक आफ्नै लोकमा हराइरहेका छन् ।

‘मलाई स्पोर्टस् सुज फिटिक्कै मन पर्दैन । म त चप्पल लगाएरै जहाँ पनि पुगिदिन्छु ।’

‘भट्टीका साहुलाई थाहा हुन्थ्यो, यसलाई डिस्टर्ब गर्नु हुँदैन,’ उनले सम्झिए, ‘जब गिलास रित्तिन्छ, थपक्क आएर भरिदिन्थे । मैले माग्नै नपर्ने ।’

रक्सीको मात लागेपछि उनी कतै पनि हान्निन सक्थे । त्यसरी बत्तिएका बेला उनी आफूलाई सुनसान घाटहरुमा पाउँथे । मसान घाट, जसको चुम्बकीय आकर्षणले उनलाई तानिरह्यो ।

किन उनलाई मसान घाट मनपर्छ, किन उनलाई गिद्ध मनपर्छ, किन उनलाई औंसीको रात मनपर्छ, किन उनलाई कालो रंग मनपर्छ, किन उनलाई बेसुरको जिन्दगी मनपर्छ ?

‘मनपर्छ, यसै,’ उनले अधकल्चो जवाफ दिए । र, सेलाइसकेको मिल्क कफी सिनित्तै पारे ।

नगरबधुसँगको रात

‘जे-जे सोध्नुछ, निर्धक्क सोध्नुहोस्,’ उनले बाटो खुलाइदिए, ‘म खुलस्त छु ।’

मसान घाट र साँघुरा भट्टहिरुमा रुमल्लिने नगरकोटीको रंगिला पाटोबारे हामीलाई चासो थियो ।

‘सुन्नुहुन्छ ?’ उनले कत्ति पनि धक नमानी भने, ‘मैले पहिलो सेक्स वेश्यासँग गरेको थिएँ, १० कक्षामा पढ्दै गर्दा ।’

केही छिनमै उनले सुझाए, ‘भो यो त नलेख्नुहोस्, धेरैतिर आइसकेको छ ।’

एक पटक उनले यही किस्सा सुनाएछन्, सार्वजनिक समारोहमै । एक पत्रकारले भोलिपल्ट पत्रिकामा हेडलाइन राखे, ‘नगरकोटीको पहिलो सम्बन्ध नगरबधुसँग ।’

‘नगरबधु रे ? मैले नगरबधु भनेको थिएँ ?’ नगरकोटीले भने, ‘वेश्यासँग भनेको थिएँ । वेश्या र नगरबधु कसरी एउटै हुन्छ ?’

अर्कोदिन त्यही पत्रकारले स्पष्टीकरण दिएछन्, ‘आफ्नो पत्रिकामा त्यस्ता शब्द प्रयोग गर्न अनुमति छैन/मिल्दैन ।’

अब नगरकोटीको आक्रोस् एनजीओतर्फ मोडियो ।

‘यो एनजीओ, आईएनजीओ भन्नेले सबै भाषा ध्वस्त पारे । लङ्गडो भन्न नपाइने रे, अन्धो भन्न नपाइने रे । अब लैनसिंह बाङ्देलको ‘लङ्गडोको साथी’लाई के भनेर पढ्ने ?’ उनको प्रश्न ।

पोखराको किस्सा

एक पटक आफ्नो किताब ‘अक्षरगञ्ज’को प्रमोसनको सिलसिलामा उनी पोखरा पुगेका थिए ।

‘यो फेवाताल, यो माछापुच्छ्रे देखेर तपाईंहरु जस्तो लेखकमा कस्तो भाव जाग्छ ?’ कार्यक्रम सकिएलगत्तै एक पत्रकारले काव्यिक शैलीमा सोधे ।

‘भाग्….के फेवाताल ? के माछापुच्छ्रे ?’ उनले प्रश्नकर्तालाई जिल्याएछन्, ‘मलाई मतलब छैन ।’

यो किस्सा सुनाइसकेपछि उनले हाँसो थाम्दै भने, ‘होइन, मलाई के मतलब हँ ?’ कुम उचालेर हाँसेपछि उनले पाँचौं खिल्ली चुरोट सल्काए ।

‘मैलें भने नि, मलाई कलकल बग्ने खोला, हरिया डाँडा, फूलहरुले लोभ्याउँदैनन्,’ नगरकोटीले थपे, ‘बरु, क्याफेहरु ठीक लाग्छ । क्याफेको इन्टेरियर क्या दामी हुन्छ, त्यो कति कलात्मक हुन्छ, त्यहाँ म रमाउँछु ।’

त्यो सेतो हिमाल, त्यो अनन्त समुन्द्र, त्यो हरिया पहाडभन्दा बढी उनलाई रंग र कुचीले तयार पारिएका चित्र मन पर्छन् । शास्त्रीय धुनहरु मनपर्छ, रैथानै नृत्यहरु मनपर्छ ।

नगरकोटीलाई न वसन्त ऋतुले मोहनी लगाएको छ, न शरदले । उनलाई त कठ्यांगि्रने पुस-माघ आत्मीय लाग्छ ।

‘चिसो रातमा एक्लै हिँड्नुको आफ्नै आनन्द छ नि,’ उनले भने ।

चिसो रातको कुहिरोझैं उनले मुखबाट चुरोटको धुवाँ फाले ।

२०७४ असोज २६ गते १३:०८ मा प्रकाशित (२०७४ असोज २७ गते १३:२७मा अद्यावधिक गरिएको)

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया