Comments Add Comment

अनुशासित जीवनशैली, निरोगी र तन्दुरुस्तीका लागि

अनुशासनको कुरा गर्दा हामी विद्यालय सम्झन्छौं, जहाँ शिक्षक-शिक्षिकाले हामीलाई अनुशासनको पाठ सिकाएका थिए । निर्धारित समयमा विद्यालय पुग्नु, युनिर्फम लगाउनु, होमवर्क गर्नु, हो-हल्ला नगर्नु, पढाई बाहेक अन्यत्र ध्यान नदिनु । यस्तै-यस्तै सर्तहरु राखेर हामीलाई अनुशासन सिकाइन्छ ।

अनुशासन भनेको आफ्नो जीवनलाई सही र सार्थक ढंगले अगाडि बढाउने मार्गचित्र पनि हो । यसैको परिधी र सीमाहरुमा रहेर हामी आफुलाई राम्रो बाटोमा हिँडाउने प्रत्यन्न गर्छौं ।

तर, हामीलाई लाग्छ, अनुशासन भनेको अरुको लागि राम्रो गरिदिने कार्य जस्तो लाग्छ । अर्थात अरुको अगाडि आफु सभ्य, शिक्षित देखाउनका लागि हामीले गर्ने अभ्यास नै अनुशासन हो भन्ने लाग्छ । त्यसैले हाम्रो अनुशासन देखावटी हुन्छ ।

अनुशासन भन्दा पनि आत्मअनुशासन महत्वपूर्ण छ । आत्मअनुशासन भनेको आफुले आफैलाई निश्चित सर्त र सीमाभित्र बाँध्नु हो । अर्थात अनर्थ, अनैतिक कामहरुबाट आफुलाई रोक्नु हो । जब हामी आत्मअनुशासित हुन्छौं, जीवन धेरै हदसम्म सार्थक हुन्छ ।

आत्मअनुशासनले हामीलाई आफ्नो जीवनमा, घर-परिवारमा, करियरमा, स्वास्थ्यमा फाइदा गर्छ ।

कुरा गरौं, स्वास्थ्यकै ।

आत्मअनुशासन हामीले आफ्नै स्वास्थ्यका खातिर पालना गर्न सकिन्छ । सोंच-चिन्तनको लागि गर्न सकिन्छ । अर्थात निश्चित सीमा र सर्तहरु आफैमाथि लागु गर्न सकिन्छ ।

दिनचर्यामा

हामी अनुशासित दिनचर्या पालना गर्न सक्छौं । यो भनेको हाम्रो दैनिक जीवनयापनको कुरा पनि हो । जस्तो नियमित सुत्ने र उठ्ने तालिका निर्धारण गर्ने । निश्चित समयमा सुत्ने, निश्चित समयमा उठ्ने । दिनभर काम गरिरहँदा सकारात्मक ढंगले गर्ने । कामप्रति लगाव राख्ने, मेहनत गर्ने । हरेक कामलाई रचनात्मक ढंगले गर्न प्रयास गर्ने ।

कस्तो काम उपयुक्त हुन्छ ? कसरी गर्दा बढी फलदायी हुन्छ ? त्यही ढंग अनुसार काम गर्ने । कसलाई भेट्ने, कसलाई नभेट्ने ? निर्धारण गर्ने । खराब वा निरास व्यक्तिहरुको संगतमा पुगेपछि हाम्रो उर्जा सेलाउँछ । हामी कमजोर र शिथिल हुन्छौं । त्यसैले जोशिला, उर्जावान्, सकारात्मक, कर्मठ, मेहनती, सिर्जनशिल साथीहरुको सर्कल बनाउने, त्यही सर्कलमा आफुलाई घुलनसिल बनाउने ।

दैनिक तालिका नै अनुशासित भएमा हाम्रो लय विग्रदैन । जब जीवनमा लय हुन्छ, त्यसले धुन पैदा गर्छ । जीवन मधुर हुन्छ ।

खानपानमा

खानपानमा हामीले धेरै लापरवाही गर्छौं । नखानुपर्ने खान्र्छौं, नखानुपर्ने समयमा खान्छौं । यहि कारण हामी रोगी हुन्छौं । हामी नेपालीको हकमा त यो कुरा अझ बढी लागु हुन्छ ।

किनभने अधिकांश नेपाली पेटको रोगले ग्रस्त छन् । जबकी रोगको भण्डार नै पेट भएपछि शरीर कसरी स्वस्थ्य हुन्छ ?

चिल्लोचाप्लो, मसलेदार खानेकुरा खान्छौं । जंकफुड वा फास्टफुडमा रमाउँछौं । मैदाजन्य वा प्याकेटबन्द खानेकुरामा लोभिन्छौं ।

कुन खानेकुरा शरीरका लागि आवश्यक छ ? कति आवश्यक छ ? यसबारे हामी कहिल्यै चिन्तन गर्दैनौं । बरु मिठो मसिनो खाने बाहना खोजिरहन्छौं । यस्तो अस्तव्यस्त खानपान शैलीले शरीरलाई रोगी बनाउँछ । यसर्थ खानपानमा पनि हामी अनुशासित हुनुपर्छ ।

अर्थात खानपानको निश्चित तालिका निर्धारण गर्नुपर्छ । दिनमा कति पटक खाने, के के खाने भन्ने कुरा निर्धारण गर्नुपर्छ ।

स्वास्थ्यमैत्री, सुपाच्य, स्वस्थ्यवर्द्धक खानेकुरा खानुपर्छ । यसका लागि पनि निश्चित समय मिलाउनुपर्छ । मिठो पाउनसाथ पेट चर्कनेगरी खाने, नमिठो भएमा खाँदै नखाने प्रवृत्तिले हामीलाई रोगी बनाउँछ । भनिन्छ, नि संसारमा जति मान्छे खान नपाएर मर्छन्, त्यो भन्दा बढी खान नजानेर ।

हामीले अरुलाई देखाउनका लागि वा अरुको सामुन्ने सभ्य देखिन होइन, आफ्नै स्वास्थ्यका खातिर अनुशासित खानपान शैली अपनाउनुपर्छ ।

अनुशासित सोंच-चिन्तन

हामी जस्तो खान्छौं, त्यस्तै हुन्छौं । जस्तो सोच्छौं, त्यस्तै देखिन्छौं ।

यदि हामी सकारात्मक छौं, खुसी छौं, उत्साहित छौं भने हाम्रो अनुहारमा बेग्लै आभा प्रकट हुन्छ । यदि निरास छौं, दुःखी छौं, नकारात्मक छौं भने अनुहारको रंग फुंग उड्छ ।

अनुहारको भाव मात्र होइन, हाम्रो सोच चिन्तनले स्वास्थ्यमा पनि प्रभाव पार्छ । किनभने हाम्रो शरीर र हाम्रो सोंच चिन्तन अभिन्न रुपमा जोडिएको हुन्छ । सोंच वा चिन्तन कहाँबाट पैदा हुन्छ ? शरीरभित्रबाट नै त हो । शरीरभित्र मन हुन्छ । मस्तिष्क हुन्छ । त्यहाँ उब्जने कुराले शरीरमा प्रभाव पार्छ ।

जस्तो हामीलाई डर लाग्छ भने हाम्रो शरीरमा कम्पन आउँछ । डर मनको कुरा हो, कम्पन शारीरिक कुरा हो । यसरी हाम्रो स्थुल शरीर र मन आपसमा जोडिएको हुँदा हामी जस्तो सोच्छौं, जस्तो चिन्तन गर्छौं, त्यसको प्रभाव शरीरमा पर्छ ।

त्यसैले सकारात्मक सोचौं ।

भनिन्छ नि, स्वास्थ्यका लागि तीन कुरा अनिवार्य मानिन्छ । उचित आहार, उचित विचार र उचित विचार ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment