Comments Add Comment

यस्तो छ मोरङको चुनावी अंकगणित– स्थानीय तहका आधारमा वामगठबन्धन अगाडि

२ सिटमा कांग्रेस, १ मा प्रतिस्पर्धा र ३ वटामा वाम गठबन्धन बलियो

१४ कात्तिक, विराटनगर । एमाले र माओवादी सम्मिलित वाम तथा कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनका कारण मोरङमा आसन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचन पेचिलो बन्दैछ ।

दुवै गठबन्धनका ‘हेभिवेट’ नेताहरुका कारण पनि जिल्लाको चुनावी प्रतिस्पर्धा रोचक देखिएको छ । दुवै गठबन्धन मात्र होइन, स्वयं नेताहरुका लागि पनि अस्तित्व रक्षाको चुनौती बन्ने देखिएको छ, आसन्न निर्वाचन ।

मोरङमा प्रतिनिधिसभातर्फ ६ र प्रदेशका १२ निर्वाचन क्षेत्र छन् ।

विगतका नौबाट ६ वटा संसदीय क्षेत्र बनाइँदा कांग्रेसले आफूअनुकुल गराएको टिप्पणी हुने गरेको छ । मोरङमा ६ लाख ४४ हजार सात सय ८२ मतदाता छन् ।

स्थानीय तह निर्वाचनको परिणामका आधारमा वाम गठबन्धन बलियो देखिँदा कांग्रेस नेतृत्वको गठबन्धन मत बढाउने र वामपन्थी दल जोगाउने अभियानमा देखिन्छन् ।

सिट बाँडफाँटको क्रम जारी रहेकाले उम्मेदवारको अन्तिम नामावली आइसकेको छैन ।

यस्तो छ स्थानीय तहको मत

स्थानीय तह चुनावमा वडाध्यक्षहरुको मतलाई आधार मान्दा वाम गठबन्धनको अवस्था बलियो देखिन्छ । प्रतिनिधिसभाको निर्वाचन क्षेत्र १, २ र ३ मा वाम गठबन्धन बलियो देखिन्छ । ४ र ६ मा भने कांग्रेस नेतृत्वको गठबन्धनको अवस्था राम्रो देखिन्छ ।

यस्तै, निर्वाचन क्षेत्र ५ मा दुवै गठबन्धनबीच तीव्र प्रतिस्पर्धाको अवस्था छ ।

उक्त क्षेत्रमा कांग्रेस र संघीय समाजवादी फोरमबीच तालमेल भएमा भने वाम गठबन्धन कमजोर देखिन सक्छ ।

मोरङ १ मा एक लाख सात हजार दुई सय ३५ मतदाता छन् । स्थानीय तहका ३७ वटा वडा समेटिएका छन्, त्यसमा ।

स्थानीय तह निर्वाचनमा एमाले उम्मेदवारले २४ हजार दुई सय आठ मत पाएका थिए । कांग्रेस उम्मेदवारले २३ हजार ६ सय २६ र माओवादी केन्द्रका उम्मेदवारले आठ हजार नौ सय ६२ मत प्राप्त गरेका थिए ।

एमाले र माओवादीको मत ३३ हजार एक सय ७१ छ, जुन कांग्रेसको मतभन्दा करिब १९ हजार बढी हो ।

क्षेत्र नम्बर २ मा एक लाख ११ हजार तीन सय २१ मतदाता छन् । जिल्लाको पूर्वी भेगस्थित स्थानीय तहका २९ वटा वडा समेटिएका छन्, यस क्षेत्रमा । जसमा, कांग्रेसले २२ हजार तीन सय ५०, एमालेले १९ हजार ४१ र माओवादी केन्द्रले ११ हजार दुई सय ३२ मत पाएका थिए ।

एमाले र माओवादीको मत जोड्दा ३० हजार दुई सय ७३ मत हुन आउँछ, जुन कांग्रेसको भन्दा करिब आठ हजार बढी हो ।

उक्त क्षेत्रमा संघीय समाजवादी फोरमको केही मत भए पनि कांग्रेससँग गठबन्धनमा निर्णायक हुने अवस्थामा छैन ।

क्षेत्र नम्बर ३ मा एक लाख २७ हजार चार सय ९६ मतदाता छन् । त्यस क्षेत्रका २६ वटा वडामा एमालेले २९ हजार एक सय ६२, कांग्रेसले २१ हजार ८७ र माओवादीले १३ हजार चार सय ९५ मत पाएका थिए । अब वाम गठबन्धनको मत ४२ हजार ६ सय ७५ पुगेको छ ।

कांग्रेसभन्दा २१ हजार बढीको मतान्तर देखिन्छ, उक्त क्षेत्रमा । राप्रपाको एक हजारभन्दा कम मत निर्णायक हुने अवस्था छैन ।

विराटनगर महानगरपालिका जोडिएका जिल्लाका ४, ५ र ६ नम्बर क्षेत्रमा भने मधेसकेन्द्रित दलको प्रभाव राम्रो देखिन्छ । क्षेत्र नम्बर ५ मा संघीय समाजवादी फोरमको तथा ४ र ६ मा फोरम लोकतान्त्रिकको मतको प्रभाव बढी देखिन्छ ।

फोरम लोकतान्त्रिक कांग्रेसमा विलय भइसकेकाले यी क्षेत्रमा कांग्रेस बलियो देखिएको छ ।

संघीय समाजवादीसँग पनि कांग्रेसको गठबन्धन भएमा ५ नम्बर क्षेत्रमा पनि बलियो बन्नेछ ।

विराटनगर महानगरपालिकासहित आसपासका २३ वडा रहेको क्षेत्र नम्बर ४ मा ९९ हजार दुई सय ८७ मतदाता छन् । स्थानीय तह निर्वाचनमा कांग्रेसको १७ हजार सात सय ११, एमालेको १६ हजार ६ सय ४४, लोकतान्त्रिक फोरमको सात हजार चार सय ९६ र माओवादी केन्द्रको ६ हजार चार सय ६१ मत थियो ।

वाम गठबन्धनको मत २३ हजार एक सय पाँच पुगेको छ भने कांग्रेस गठबन्धनको २५ हजार दुई सय सात । यस हिसाबबाट करिब दुई हजार मतको अग्रतामा कांग्रेस देखिएको छ ।

यस्तै, ८९ हजार दुई सय ८७ मतदाता रहेको क्षेत्र नम्बर ५ का २४ वडामा कांग्रेसको १३ हजार तीन सय ६९ र संघीय समाजवादी फोरमको १२ हजार नौ सय ५४ मत स्थानीय तह चुनावमा आएको थियो । फोरम लोकतान्त्रिकको तीन हजार मत छ ।

माओवादी केन्द्रको ११ हजार एक सय ८१ र एमालेको आठ हजार नौ सय ७९ गरी वाम गठबन्धनको मत १९ हजार नौ सय ६० छ । कांग्रेस र लोकतान्त्रिक फोरमको मत १६ हजार छ ।

क्षेत्र नम्बर ५ मा संघीय समाजवादी फोरमको १२ हजार नौ सय ५४ मत नै निर्णायक मत देखिन्छ ।

उक्त क्षेत्र पूर्वप्रधानमन्त्रीहरु बीपी कोइराला, मातृकाप्रसाद कोइराला र गिरिजाप्रसाद कोइरालाको पुख्र्यौली घर रहेको क्षेत्र पनि हो । सोही कारण उक्त क्षेत्रमा कांग्रेसलाई बलियो मानिन्छ । एमाले र माओवादीबीच गठबन्धनका कारण कांग्रेसका उम्मेदवारले चुनौती सामना गर्नुपर्ने देखिन्छ ।

कुल एक लाख १० हजार तीन सय २२ मतदाता रहेको क्षेत्र नम्बर ६ मा २९ वडा छन् । स्थानीय तहमा कांग्रेसको २९ हजार नौ सय ४९ मत पाएको थियो । एमालेले १७ हजार नौ सय ८२, माओवादी केन्द्रको आठ हजार तीन सय ९८, फोरम लोकतान्त्रिकको आठ हजार ४८ र संघीय समाजवादी फोरमको पाँच हजार तीन सय २८ मत छ ।

उक्त क्षेत्रमा वाम गठबन्धनको मत २६ हजार तीन सय ८० र कांग्रेस–लोकतान्त्रिक फोरमको २८ हजार नौ सय ८८ मत देखिन्छ । उक्त क्षेत्रमा पनि करिब १५ सय मत राप्रपाको छ ।

उम्मेदवारीको अवस्था

एमाले र माओवादीबीच क्षेत्र बाँडफाँट भइसकेको छ । प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर ४ र ५ माओवादीको भागमा परेको छ, १, २, ३ र ६ एमालेले लिएको छ । १ र ३ मध्ये एउटामा माओवादीले दाबी गरेपछि सहमति जुट्न कठिन भएको थियो ।

माओवादी केन्द्रका मोरङ संयोजक गोपी अछामीले शीर्ष नेतृत्वले क्षेत्र बाँडफाँट टुंग्याएको बताए ।

माओवादीले प्रतिनिधि सभाका हरेक क्षेत्रअन्तर्गत प्रदेशतर्फको एउटा सिट पाएको छ । प्रतिनिधिसभातर्फको क्षेत्र नम्बर १ मा एमालेका घनश्याम खतिवडाका टिकट पाएका छन् ।

कांग्रेसले पनि जिल्ला अध्यक्ष तथा पूर्वसभासद डिकबहादुर लिम्बूलाई अगाडि सार्ने भएको छ ।

क्षेत्र नम्बर २ मा एमालेका ऋषिकेश पोखरेलको नाम टुंगिएको छ । कांग्रेसले डा. मिनेन्द्र रिजाललाई उठाउँदैछ । हेभिवेट उम्मेदवार मानिएका रिजाल कांग्रेस केन्द्रीय सदस्य पनि हुन् ।

क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभातर्फ एमालेका भानुभक्त ढकाललाई अघि सार्ने तयारी भएको छ । कांग्रेसले विराटनगरस्थित नोबेल मेडिकल कलेजका सञ्चालक डा. सुनिल शर्मालाई ल्याउने तयारी गरेको छ ।

क्षेत्र नम्बर ४ मा माओवादी केन्द्रका सचिवालय सदस्य साबित्रीकुमार काफ्लेलाई उठाउने तयारी छ । कांग्रेसले पूर्वअथमन्त्री महेश आचार्यलाई उम्मेदवार बनाउने भइका छ ।

क्षेत्र नम्बर ५ मा माओवादी केन्द्रका सचिवालय सदस्य शिवकुमार मण्डल सर्वसम्मत उम्मेदवार बन्दैछन् । कांग्रेसबाट पूर्वजिल्ला सभापति तथा पूर्वसभासद अमृत अर्याललाई उठाउने तयारी छ ।

क्षेत्र नम्बर ६ मा हेभिवेट भनिएका एमाले पोलिटब्युरो सदस्य लालबाबु पण्डितको नाममा यसअघि नै सहमति जुटिसकेको छ । काग्रेसले डा. शेखर कोइरालालाई उम्मेदवार बनाउने टुंगो लागिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment