Comments Add Comment

प्रेस रिभ्यूः २८१ निवर्तमान सांसद् मैदानबाट ‘रिङआउट’ !

चन्दा त्रासले उद्योगी गुप्तवास

२१ कात्तिक, काठमाडौं । राजधानीबाट प्रकाशित भएका राष्ट्रिय दैनिक पत्रिकाहरुले आज पनि प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनकै वरिपरि रहेर सामग्रीहरु पस्केका छन् । निर्वाचनका पाटा–पक्ष केलाएका पत्रपत्रिकाहरुले बाग्मती सफाइको नाममा ५ अर्ब सकिएको, २५ जिल्लामा १२ लाख गरिब भेटिएको, कर छलिमा बेलायती महारानी तानिएकोलगायतका समाचारलाई पहिलो पृष्ठमा स्थान दिएर छापेको छ ।

घोषणापत्रविनै उम्मेदवार घरदैलोमा

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मैदानमा उत्रिएका उम्मेदवार चुनावी घोषणापत्रविना नै मैदानमा उत्रिएका छन् ।

नागरिक दैनिकका अनुसार, आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मैदानमा उत्रिएका उम्मेदवार चुनावी घोषणापत्रविना नै घरदैलो कार्यक्रममा सक्रिय बनेका छन् । सत्तारुढ दल नेपाली कांग्रेसले औपचारिक रुपमा घोषणापत्र सार्वजनिक गरे पनि अन्य दलले भने घोषणापत्र सार्वजनिक गर्न सकिरहेका छैनन् ।

‘टिसर्ट छपाइ र भोजभतेरमा बढी ध्यान दिएका उम्मेदवारको झोला र गाडीमा समेत चुनावी घोषणापत्र फेला पार्न मुस्किल छ,’ नागरिकले आफ्नो समाचारमा लेखेको छ ।

चुनावमा ४३ अर्बको कारोबार

चुनावमा हुने आर्थिक कारोबारको विषयलाई आज नयाँ पत्रिका दैनिकले मुख्य समाचार बनाएको छ । समाचार अनुसार, निर्वाचन आयोग र सरकारमार्फत २० अर्ब तथा उम्मेदवारमार्फत २३ अर्ब परिचालन हुँदैछ ।

‘निर्वाचन आयोग र गृहमन्त्रालयलगायत निकायले चुनावमा २० अर्ब खर्च गर्दैछन् । प्रमुख दलका उम्मेदवारले केन्द्रमा प्रतिउम्मेदवार २ कराड र प्रदेशमा १ करोड रुपैयाँका दरले खर्च गर्दा कम्तीमा २३ अर्ब १२ करोड रुपैयाँ खर्च हुने प्रक्षेपण छ’, नयाँ पत्रिकाले समाचारमा लेखेको छ ।

चन्दा त्रासले गुप्तवास

वाम गठबन्धनको घोषणापत्रबारे मुख्य समाचार लेखेको राजधानी दैनिकले चुनाव नजिकिएसँगै उद्योगी व्यवसायीहरु त्रसित बनेको समाचार लेखेको छ ।

समाचार अनुसार, चन्दा आतंक बढेपछि निजी क्षेत्रका अधिकांश उद्यमी व्यवसायी गप्तवास बस्न थालेका छन् ।

विगत वर्षहरुमा जस्तै यसपटक पनि डर र धम्की देखाएर चन्दा असुल्ने भयले उनीहरु राजनीतिक दलहरुको सम्पर्कबाट टाढै बस्न खोजेका हुन् ।

उद्योगी–व्यवसायीहरु चुनावी माहोलमा रमाउन नसकिरहेका बेला राजनीतिक दलहरुले भने चन्दाको शैली परिमार्जन गरी केही लचिलो बन्ने प्रयास गरेका छन् उनीहरुले विगतमा जसरी डर र धम्कीपूर्ण तरिकाले नभई स्वेच्छिक रुपमा सहयोग गर्न व्यवसायीलाई आग्रह गरिरहेका छन् ।

२८१ निवर्तमान ‘रिङआउट’

आफैंले बनाएको संविधान कार्यान्वयनका लागि हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा अघिल्लो संसदका २८१ संसद प्रतिस्पर्धी छैनन् ।२८१ निवर्तमान सांसद रिङअाउट भएकाे समाचार अाज अन्नपूणले लेखेकाे छ ।

आजको अन्नपूर्ण पोस्ट दैनिकले २८१ सांसद रिङ बाहिर शीर्षक दिएर लेखेको छ – विघटित संसद्का २ सय ८१ सांसद अबको पाँच वर्ष कुनै पनि संसदमा रहने छैनन् ।

मंसिर १० र २१ गते दुई चरणमा हुन लागेको निर्वाचनको ‘रिङ’ बाहिर रहेका कारण उनीहरू अबको संसद्मा नरहने भएका हुन् ।

अघिल्लो संसदाा रहेका ती सांसद प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फ उम्मेदवार छैनन् । अब गठन हुने प्रतिनिधिसभा (प्रत्यक्ष र समानुपातिक गरी कुल) २ सय ७५ र प्रदेशसभा (सातवटै प्रदेशको प्रत्यक्ष तथा समानुपातिक गरी कुल) ५ सय ५० संख्याको संसद् बन्दासमेत विघटित संसद्का २ सय ८१ सांसदले निर्वाचनमा टिकट हात पार्न सकेनन् ।

सबैभन्दा बढी एमालेबाट प्रतिनिधित्व गरेका १ सय २१ सांसद निर्वाचनको ‘रिङ’ बाहिर परेका छन् । एमालेले आफ्नो कुल १ सय ८० सांसदध्ये ५८ जनालाई मात्रै आउने संसद्का लागि उम्मेदवार बनाएको छ । तीमध्ये प्रदेश तथा प्रतिनिधिसभातर्फ प्रत्यक्षमा ५३ जना र पहिले प्रत्यक्ष निर्वाचन लडेर जितेका तर अहिले समानुपातिकमा पाँच जनालाई समेटेर उम्मेदवार बनाइएको छ ।

निवर्तमान सांसदमध्ये कांग्रेसले धेरैलाई दोहो‍र्याएको छ भने एमाले–माओवादीले धेरैलाई रिङबाहिर पारेका छन् ।

कुन पार्टीका कति दोहोरिए ?

एमाले ५८
कांग्रेस १४० (गच्छदारसँगै आएका थप १० जना)
माओवादी १६
राप्रपा (प्रजातान्त्रिक) ९
संघीय समाजवादी फोरम ३
राजपा २५
नेमकिपा २
राजमो २

२५ जिल्लामा २१ लाख गरिब

२५ जिल्लामा झन्डै २१ लाख गरिब फेला परेका छन् । सरकारले २५ जिल्लाका गरिब घरपरिवार पहिचान गर्दै २१ लाखलाई परिचयपत्र वितरण सुरु गरेको छ ।

अन्नपूर्ण पोस्ट दैनिकका अनुसार, मन्त्रालयले पहिलो चरणमा पीएमटीको आधारमा २५ जिल्लामा रहेको गरिबी पहिचान विधिबाट ३ लाख ९१ हजार ८ सय ३१ घरपरिवारका १२ लाख २४ हजार ४ सय १७ जना गरिब भएको पहिचान गरेको थियो ।

कर छलीमा तानिइन् बेलायती महारानी

बेलायतकी महारानी एलिजावेथलगायत संसारका धनी र शक्तिशाली व्यक्तिहरुले भ्रष्टाचार गरेको धन लुकाउने र कर छल्ने उद्देश्यले बाह्य मुलुकमा लगानी गरेको खुलासा भएको छ । ‘प्याराडाइज पेपर्स’ नाम दिइएको अनुसन्धानमा १ करोड ३४ लाख कागजपत्रको अध्ययनपछि आर्थिक अपराधको रहस्योदघाटन गरिएको हो ।

आइतबार राति सार्वजनिक गरिएको इन्टरनेशनल कन्सोर्टियस अफ इन्भेस्टिगेटिभ जर्नालिस्टस्को संक्षिप्त विवरणमा बेलायती महारानी, अमेरिकी वाणिज्यमन्त्री सहित विभिन्न १ सय २० राजनीतिककर्मी रहेको समाचारलाई आज कान्तिपुरले प्राथमिकतासाथ छापेको छ ।

धान काट्ने मुसो, चोट पाउने भ्यागुतो !

दरबारमार्ग, ठमेलका पसल सिलबन्दी प्रकरणमा धान काट्ने मुसो, चोट पाउने भ्यागुतो भनेजस्तो भएको छ । सञ्चालकलाई नियन्त्रणमा लिन नसकेको सरकारले काम गर्ने कामदारलाई केही समयदेखि थुनेर राखेको छ ।

लत्ताकपडा, जुत्ता, घडीलगायतका सामानमा बढी मूल्य लिई ठगी गर्ने दरबारमार्ग, न्युरोड र ठमेलका कर्मचारीलाई प्रहरीले पक्रे पनि वास्तविक कर्मचारी अझै फरार रहेको समाचार कान्तिपुरले आज लेखेको छ । समाचार अनुसार, कात्तिक १५ गते प्रहरी परिसर काठमाडौंले केही उच्च पदका कर्मचारीलाई पक्राउ गरे पनि सञ्चालकहरु अझै सम्पर्कविहीन छन् । सञ्चालक फरारपछि प्रहरीले कर्मचारी पक्रेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment