Comments Add Comment

परीक्षा नै नदिई नदीमा वेपत्ता विद्यार्थी उत्तिर्णको सूचीमा

२१ कात्तिक, पोखरा । वन विज्ञान अध्ययन संस्थान पोखरामा विएस्सी पहिलो सेमेस्टरको परीक्षा चल्दै थियो । कैलालीका भीष्मराज जोशी परीक्षा चलिरहेको एक दिन वन विज्ञानसँगैको जंगलतिर जानेक्रममा सेती नदीमा खसे । उनी अहिलेसम्म पनि वेपत्ता छन् । यो २०७२ सालको कुरा हो ।

पहिलो सेमेस्टरको सबै परीक्षा पनि नसक्दै वेपत्ता भएका जोशी चौथो सेमेस्टरको परीक्षाको नतिजा आउँदा उत्रिर्णको सूचीमा परे ।

उनी वेपत्ता भएको २ वर्षपछि प्रकाशित चौथो समेस्टरको नतिजामा कसरी उत्रिर्ण भए ? सबै विद्यार्थी चकित परे ।

कास्कीका विनय भण्डारी पहिलो सेमेस्टरको परीक्षा दिएर २०७३ सालमा अमेरिका भासिए । उनले दोस्रो र तेस्रो समेस्टरको परीक्षा दिएकै छैनन् तर, उनको नाम पनि तेस्रो समेस्टर पास हुने विद्यार्थीको सूचिमा पर्‍यो ।

वन विज्ञान अध्ययन संस्थान डिन कार्यालय अन्तर्गतको परीक्षा महाशाखाबाट प्रकाशित विभिन्न तहको नतिजामा यस्तै गम्भीर लापरवाही भटिएको छ । वेपत्ता, विदेश गएका विद्यार्थी, नतिजा सार्वनजिक हुँदा पास तर मार्कसिटमा फेल आउने लगायतका त्रुटि परीक्षा महाशाखाले गरेको छ ।

अध्ययन संस्थानको डिन कार्यालय र परीक्षा महाशाखाको चरम लापरवाही देखिएको भन्दै विभिन्न विद्यार्थी संगठनले विरोध जनाएका छन् ।

समयमै परीक्षाफल प्रकाशित नगर्ने, हास्यास्पद र आधारहीन परीक्षा नतिजा सार्वजनिक गर्ने कामले संस्थानको डिन कार्यालय र परीक्षा महाशाखामाथि विश्वास घट्दै गएको विद्यार्थीले गुनासो गरेका छन् । ‘सामान्य त्रुटि हुनु स्वभाविक हो तर डिन कार्यालय र परीक्षा महाशाखाको गम्भीर लापरवाहीले दिग्भ्रमित बनानाएको छ,’ संस्थानका अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका इकाई अध्यक्ष जीवन पौडेलले भने, ‘यस्ता गल्ती एकपटक होइन पटकपटक भएका कारण गम्भीर आशंका पैदा गरेको छ ।’

विद्यार्थीहरुले तत्काल छानविन गरी यथार्थता सार्वजनिक गर्न माग गरेका छन् । ‘निस्पक्ष नतिजा प्रकाशन गर्न र विद्यार्थीको भविष्यमाथि खेलवाड नगरी कार्यसम्पादन गर्न माग गर्दछौं,’ विद्यार्थी संगठनहरुले विज्ञप्ति सार्वजनिक गर्दै भनेका छन् ।

दशैं अगाडि नै वा दशैं र तिहारको बीचमै आउनु पर्ने परीक्षाको नतिजा ढिला गरी सार्वजनिक हुँदा पनि विद्यार्थीमाथि गम्भीर असर पर्ने गरी आउनु ठूलो लापरवाही भएको अखिल छैठौंका अध्यक्ष विमल पाण्डेले बताए । ‘ढिला गरी सार्वजनिक भएका विभिन्न तहको नतिजामात्रै त्रुटिपूर्ण छैनन्, स्नातक तह र स्नातकोत्तर तहको भर्ना आवेदन फारम सम्बन्धी सूचना डिन कार्यालयबाट आधिकारिक रुपमा नआउँदै विभिन्न समूहका नाममा आएको छ । यो खेदपूर्ण छ,’ पाण्डेले भने ।

स्वतन्त्र विद्यार्थी युनियन, नेवि संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी र अखिल छैठौंले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै संस्थानको ध्यानाकर्षण गराउँदै छानविन गरी यथार्थ सार्वजनिक गर्न माग गरेका छन् ।

नतिजा टाइप गर्दा गल्ती भयोः परीक्षा महाशाखा प्रमुख

किन यसरी लापरवाही गरियो त ? वन विज्ञान अध्ययन संस्थानका परीक्षा महाशाखा प्रमुख अबदेश सिंहले भने, ‘यो कुनै षडयन्त्रपूर्वक गरिएको होइन । नतिजा कम्युटरमा टाइप गर्ने बेला गल्ती भएको हो ।’

वेपत्ता भएको र परीक्षा नै नदिएको विद्यार्थी पनि उत्रिर्णको सूचिमा आउनु त्रुटि भएको उनले स्विकारे । ‘संस्थानका डिनदेखि हामी सबै सँगै थियौं तर टाइप गर्ने क्रममा गलत टाइप भएछ,’ उनले स्विकारे । बीचमा चुनाव र विभिन्न चाडवाडका कारण नतिजा प्रकाशनमा ढिलाइ भएको सिंहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment