Comments Add Comment

मोरङे उम्मेदवारका एजेण्डा: तमोरको पानी मोरङमा, विद्यार्थीलाई ल्यापटप !

साझा एजेण्डा- बिराटनगरलाई प्रदेशको राजधानी बनाउँछौं

२३ कात्तिक, बिराटनगर । मोरङ जिल्लाका ६ वटै निर्वाचन क्षेत्रमा आफ्नो वर्चश्व कायम गर्नका लागि कांग्रेस-कम्युनिस्ट दुबै दलका उम्मेदवार चुनावी रणसंग्राममा जुटेका छन् । उम्मेदवारले मतदाताको ध्यान आफूतिर तान्नका लागि तमोरको पानी मोरङमा खसाउनेदेखि विद्यार्थीहरुलाई ल्यापटप बाँड्नेसम्मका एजेण्डा पस्केका छन् ।

आगामी मंसिर २१ हुने दोस्रो चरणको निर्वाचनमा प्रतिनिधिसभाका लागि यस जिल्लाबाट वाम गठबन्धन र नेपाली कांग्रेसका तर्फबाट १२ भाइ उम्मेदवारवीच कडा टक्कर हुँदैछ । प्रतिस्पर्धीमध्ये केही केन्द्रीय राजनीतिमा प्रभाव राख्ने ठूला नेतासमेत छन् ।

कांग्रेस नेता डा.मिनेन्द्र रिजाल, महेश आचार्य, डा. शेखर कोइराला यही जिल्लाबाट चुनाव लड्दैछन् । चर्चित पूर्वमन्त्री लालबाबु पण्डितदेखि लिएर एमाले संसदीय दलका पूर्वप्रमुख सचेतक एवं पोलिटब्यूरो सदस्य भानुभक्त ढकाल पनि चुनाव लड्न मोरङमै पुगेका छन् ।

ठूला नेताहरुको उपस्थितिले जिल्लाको चुनावमा रौनक थपेको छ ।

मोरङका ६ वटै निर्वाचन क्षेत्रका प्रमुख प्रतिस्पर्धी बाह्रै जना नेताले जिल्लालाई कस्तो बनाउने भिजन लिएर भोट माग्दैछन् त ? अनलाइनखबरले स्थानीय एजेण्डामा केन्द्रित रहेर तयार पारेको एक रिपोर्टः


तमोरको पानी मोरङको चिसाङ खोलामा झार्छु
घनश्याम खतिवडा, एमाले (क्षेत्र नम्बर १)

मोरङको क्षेत्र नम्बर १ मा बाम गठबन्धनबाट सर्वसम्मत उम्मेदवार बनेका एमाले नेता घनश्याम खतिवडाले विकास निर्माणका योजनालाई प्राथमिकता दिने बताएका छन् ।

बाढी नियन्त्रणलाई उनले प्राथमिकतामा राखेका छन् भने दीर्घकालीन महात्वाकांक्षी योजनामा तमोर डाइभर्सनलाई चिसाङ खोलामा मिसाएर पूर्वी मोरङको खेतीयोग्य जग्गामा सिंचाई सुविधा उपलब्ध गराउने उनले बताएका छन् ।

एमाले नेता घनश्याम खतिवडाले तमोर डाइभर्सनलाई चिसाङ खोलामा मिसाएर पूर्वी मोरङमा सिंचाई सुविधा उपलब्ध गराउने बताएका छन्

कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बुसँग प्रतिस्पर्धामा रहेका खतिवडाले लोकतान्त्रिक मूल्य मान्यतालाई आत्मासात गर्दै विभिन्न जनआन्दोलनका उपलब्धीलाई संस्थागत गर्न पनि आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।

दोस्रो संविधानसभा चुनावमा डिगबहादुरसँगै प्रतिस्पर्धा गरेर पराजित भएका खतिवडा यसपालि पुनः पुरानै प्रतिस्पर्धीसँग चुनाव लड्दैछन् । उनले आफ्नो चुनावी एजेण्डा सडक पूर्वाधारमा केन्द्रित गरेका छन् ।

खतिवडाले किसानचोक-टाँडी-रमितेखोला सडकलाई पीच गर्ने प्रतिवद्धता जनाएका छन् । त्यसैगरी लेटाङदेखि ६ नं बुधबारे सडक, याङशिला-ओख्रे सडक लगायत सुनसरीको धरानबाट उत्तरी मोरङ जोड्ने सडकहरुको स्तरोन्नति र पीच गरिने प्रतिवद्धता खतिवडाले जनाएका छन् ।

सडकसँगै विद्युत विस्तार गर्दै नागरिकको उज्यालोमा बस्न पाउने अधिकारलाई कार्यान्वयन गर्ने खतिवडाको भनाइ छ । उनले पर्यटकीय सम्भावना बोकेको क्षेत्र नम्बर १ अन्तरगत उत्तरी मोरङमा जनताको मागअनुसार सबै क्षेत्रको विकासलाई बराबर प्राथमिकता दिने बताए । प्राकृतिक सम्पदाको सदुपयोगबाट क्षेत्र नम्बर १ को विकासको मेरुदण्ड तयार पार्ने उनको भनाइ छ ।

खदम, लोहन्द्रा, चिसाङ, तेली, मावा, बक्राहा लगायतका प्रमुख नदीहरुको श्रोत परिचालन गरी बाढी नियन्त्रण खतिवडाको मुख्य प्राथमिकतामा परेको छ । माओवादीसँग गठबन्धन गरेर चुनावमा होमिएका एमाले नेता खतिवडाले उत्तरी मोरङमा सुपारी खेतीको प्रोत्साहनका लागि विशेष आयोजना सञ्चालन गर्ने बताए ।

साथै शिक्षा, स्वास्थ्य, रोजगारीलाई आधारभूत अधिकारका रुपमा स्थापित गराउने, बाढीपीडित तथा भूमिहीनहरुका लागि व्यवस्थित बसोबासको प्रबन्ध गर्ने प्रतिवद्धता जनाए ।

बिराटनगरलाई तार रहित बनाउँछु, सुकुम्बासीलाई पूर्जा दिन्छु
डिगबहादुर लिम्बु, कांग्रेस (क्षेत्र नम्बर १)

दोस्रो संविधानसभामा साविकको क्षेत्र नम्बर ९ बाट घनश्याम खतिवडा र वर्षमान पुनलाई पराजित गरेर सभासद बनेका डिगबहादुर लिम्बु अहिले प्रतिनिधिसभाका लागि क्षेत्र नं १ बाट उम्मेदवार बनेका छन् । उनले पनि आफ्ना प्रतिस्पर्धी खतिवडाले जस्तै विकासकै मुद्दालाई प्राथमिकतामा राखेका छन् ।

मोरङको सदरमुकाम बिराटनगरलाई ताररहित बनाउने गरी कार्ययोजना तयार पारेको कांग्रेस उम्मेदवार डिगबहादुर लिम्बुले बताए

मोरङ कांग्रेसका सभापतिसमेत रहेका लिम्बु सडकको स्तरोन्नति, पुल निर्माण, बाढी नियन्त्रण र स्वरोजगारका योजना लिएर प्रचार प्रसारमा जुटेका छन् ।

मोरङको सदरमुकाम बिराटनगरलाई ताररहित बनाउने गरी कार्ययोजना तयार पारेको कांग्रेस उम्मेदवार डिगबहादुर लिम्बुले बताए । विराटनगरको अनुहार उज्यालो भए समग्र मोरङ जिल्ला उज्यालो हुने बताउँदै उनले विशेष आर्थिक क्षेत्र निर्माण गर्न पहल गर्ने बताए ।

आफू उठेको १ नम्बर क्षेत्र भौगोलिक हिसावले ठूलो र विकट क्षेत्र रहेको उनले बताए । केराबारी, लेटाङ र मधुमल्लादेखि माथि पहाडी क्षेत्र विकट भएकाले त्यस क्षेत्रमा पुल, बाटो, सिँचाई बिजुली ल्याउने योजना रहेको उनले बताए ।

राजनीतिक अस्थिरताका कारण गत निर्वाचनमा प्रतिवद्धता गरेका बाचाहरु पूरा गर्न नसकेको बताउँदै उनले पुराना योजनाको कार्यान्यनका लागि फेरि उम्मेदवार बनेको बताए ।

मावा, बक्राहा, मोरङ, र चिसाङ खोलामा पुल निर्माणको काम अघि बढेकाले चाँडै निर्माण गर्ने लिम्बुको एजेण्डा छ । सिन्धुली-चतरा हुँदै आउने मध्यपहाडी लोकमार्गलाई लक्षित गरेर पुल निर्माण थालिएको उनको भनाइ छ ।

केरावारीको खदम खोला, टाडी-किसानचोक-बुधवारे सडक खण्ड र भलुवा खोलामा पक्का पुल निर्माण गर्ने उनले बताए । जाँते सडकको स्तरोन्नतिका साथै सुकुम्बासीको समस्या सामधान गर्ने योजना रहेको लिम्बुले बताए ।

टाँडीको दुई हजार विगाहामा ३८ बर्षदेखि सुकुम्बासी रहेकाले उनीहरुसहित अन्य क्षेत्रका सकुम्बासीलाई जग्गा प्रमाणपत्र प्रदान गर्ने एजेण्डा रहेको उनले सुनाए । बक्राहा खोलामा बाँध निर्माण गर्ने योजना रहेको सुनाए । सडक कालोपत्रेसँगै जडीबुटी, पशुपालन र पर्यटन क्षेत्रको विकास गर्ने लिम्बुको योजना छ ।


गिरिजाबाबुले थालेको काम पूरा गर्छु
डा. मिनेन्द्र रिजाल, कांग्रेस (क्षेत्र नं २)

दोस्रो संविधानसभा निर्वाचनमा समानुपातिक सिटबाट सभासद चुनिएका डा. मिनेन्द्र रिजाल स्थानीय विकासका योजना लिएर घर मोरङ २ मा घरदैलोमा हिँडिरहेका छन् ।

दोस्रो संविधान सभा निर्वाचनमा साबिक मोरङ क्षेत्र नं १ बाट निर्वाचित भएका एमालेका ऋषिशेष पोखरेलसँग उनी प्रतिस्पर्धामा छन् । उनले आफ्नो निर्वाचन क्षेत्रको समग्र विकासका एजेण्डा लिएर अघि बढाएको बताए ।

गिरिजाप्रसाद कोइरालाले लड्ने पुण्यभूमिलाई नमूना क्षेत्र बनाउने डा. मिनेन्द्र रिजालको योजना छ

नदी कटान मुख्य चुनौती भएको बताउँदै रिजाले नदी नियन्त्रण प्राथमिकतामा राखेको बताए । स्थानीय तहहरुलाई केन्द्रबाट बजेट विनियोजन गरेर विकास गर्ने दायित्व आफ्नो भएको बताउँदै रिजालले नदी कटानपश्चात, सडक कृषि र रोजगारको सिर्जना गर्ने योजना रहेको बताए । सबै अट्ने देश, सबै अट्ने कांग्रेस भन्ने एजेण्डा चुनावी अभियानमा हिँडेको उनको भनाइ छ ।

रतुवा खोलाको पुल निर्माण गर्ने योजना कांग्रेस पराजित हुँदा चार बर्षसम्म पछि परेको बताउँदै उनले गिरिजाप्रसाद कोइरालाले लड्ने पुण्यभूमिलाई नमूना क्षेत्र बनाउने योजना रहेको सुनाए । अग्रणी क्षेत्रका रुपमा विकास गर्ने र सबै समुदायलाई एक अर्कामा जोड्ने योजना उनको छ । चिसाङ, डाँस र बक्राहा खोलाले धेरै क्षति पुगेको बताउँदै उनले स्व.गिरिजाप्रसाद कोइरालाले सुरु गरेको काम पूरा गर्ने बताए ।

डाइनियाको वीपी ग्रामलाई व्यवस्थित गर्छु
ऋषिकेश पोखरेल, एमाले (क्षेत्र नं २)

यसअघिको संविधानसभाको निर्वाचनमा क्षेत्र नं. १ मा पर्ने हालको २ नम्बर क्षेत्रबाट नेपाली कांग्रेसका उम्मेदवार डा. मिनेन्द्र रिजालसँगै एमालेका ऋषिकेश पोखरेल प्रतिस्पर्धा गर्दैछन् ।

यसअघि नेपाली कांग्रेसका पुराना नेता आमोद उपाध्यायलाई हराएर पोखरेल संविधानसभाका सदस्य भएका थिए ।

सभासद भएर पोखरेलले स्थानीय क्षेत्रको विकास निर्माणमा योगदान पुर्‍याएको दाबी गर्दै उनी आफ्नो जीतलाई सुनिश्चित ठान्छन् । वाम गठबन्धनले गर्दा अझ स्थिति मजबुत भएको विश्वासमा उनी छन् ।

एमाले नेता पोखरेलले यसपटकको चुनावी एजेन्डा सभासद भएको समयमा आफूले थालेका अधुरा योजना पूरा गर्ने बताएका छन्

पोखरेलले यसपटकको चुनावी एजेन्डा सभासद भएको समयमा आफूले थालेका अधुरा योजनाहरू पूरा गर्ने बताएका छन् । साथै नयाँ काम गने उनी बताउँछन् ।

आफ्नो कार्यकालमा आफ्नो क्षेत्रमा बढीभन्दा बढी बजेट ल्याएर राष्ट्रिय राजमार्गसँग जोडिने उत्तर दक्षिण जोड्ने तीनवटा मार्गको निर्माण गरेको कामलाई पूर्णता दिने योजना रहेको उनले बताए ।

डाइनियामा रहेको वीपी ग्रामलाई घेराबेरा गरी त्यसलाई व्यवस्थित गर्ने कामलाई पूर्णता दिने योजना रहेको एमाले उम्मेवार पोखरेलले बताए ।

नेकपा एमालेबाट चुनाव जितेपनि विजयी भएपछि मैले विकास निर्माणको काममा एमाले, कांग्रेस वा अरू कुनै पार्टी नभनी काम गर्ने पोखरेलले दाबी गरे ।


क्षेत्र नम्बर ३ को समग्र विकास गर्छु
भानुभक्त ढकाल एमाले (क्षेत्र नं ३)

कम्युनिस्टको गढ भनेर चित्रण गरिँदै आएको मोरङ क्षेत्र नं ३ मा एमालेका केन्द्रीय नेता भानुभक्त ढकाल चुनावी मैदानमा छन् । उनीसँग नोबेल मेडिकल कलेजका बिराटनगरका सञ्चालक सुनिल शर्मा प्रतिस्पर्धामा छन् ।

क्षेत्र नं ३ को समग्र विकासका लागि खाका कोरेर निर्वाचनको प्रचार प्रसारमा हिँडेका वाम गठबन्धनका उम्मदेवार भानुभक्त ढकालले सुकुम्बासी समस्या, खोला कटान नियन्त्रण र सडक सञ्जाल विस्तार एवं स्तरोन्नतिलाई मुख्य एजेण्डा बनाएका छन् ।

क्षेत्र नं ३ रहेका पर्यटकीय क्षेत्रको विकास र विस्तार, वन जंगलको संरक्षण र सडक सञ्जालको सहज पहुँच विस्तारका निम्ति केन्द्रीय पहुँच स्थापित गर्ने एमाले नेता भानुभक्त ढकालको एजेण्डा छ

क्षेत्र नं ३ रहेका पर्यटकीय क्षेत्रको विकास र विस्तार, वन जंगलको संरक्षण र सडक सञ्जालको सहज पहुँच विस्तारका निम्ति केन्द्रीय पहुँच स्थापित गर्ने एमाले नेता भानुभक्त ढकालको एजेण्डा छ ।

त्यसैगरी क्षेत्र नं ३ मा रहेका आदिबासीहरुको संस्कृति संरक्षणका लागि आदिवासी प्रतिष्ठानको निर्माण, स्थानीय स्तरमा रोजगारीका अवसर, सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने पनि ढकालका चुनावी एजेण्डा छन् ।

क्षेत्र नं ३ मा नयाँ अनुहार भन्ने आरोप लाग्दै ढकाल आफूलाई नयाँ भन्न रुचाउँदैनन् । उनी तेह्रथुम पुर्ख्यौली घर भएता पनि सुन्दर हरंैचा नगरपालिका १२ का बासिन्दा हुन् । विद्यार्थी आन्दोलन हुँदै एमालेको केन्द्रीय तहमा रहेर काम गरेका उनी संविधान कार्यान्वयनसँगै समग्र देशको विकासका निम्ति वाम गठबन्धन बनाएर उम्मेदवारी दिएको बताउँछन् ।

सबै नागरिकलाई उपचारको सुविधा दिन्छु
सुनिल शर्मा, कांग्रेस (क्षेत्र नं ३)

नोबेल मेडिकल कलेज बिराटनगरका सञ्चालक रहेका सुनिल शर्मा अस्पतालबाट राजीनामा दिएर कांग्रेसको राजनीतिमा आएका हुन् । एमालेका प्रभावशाली नेता भानुभक्त ढकालसँग प्रतिस्पर्धामा उत्रिएका उनले स्वास्थ्यसँग सम्बन्धित योजना अघि सारेका छन् ।

शिक्षा, स्वास्थ्य, रोजगारी, विकास र सुकुम्बासी समस्या समाधान गर्ने योजना रहेको उनले बताए । शर्माको पुरानो घर बेलबारीको काकुममा पर्छ । उनी न्यौपाने थरका व्यक्ति हुन् ।

३ नम्बर क्षेत्रका जनतालार्इ नोबेल अस्पतालले  ५० हजार थपेर एक लाखको स्वास्थ्य बिमा गर्ने योजना रहेको कांग्रेस उम्मदेवार सुनील शर्मा बताउँछन्

तीन वर्षभित्र क्षेत्र नं ३ का सबै जनताको स्वास्थ्य बिमा गर्ने आफ्नो योजना रहेको शर्माले सुनाए । सरकारको ५० हजार रुपैयाँ बिमा कोषमा तीन नम्बर क्षेत्रका जनताका लागि नोबेल अस्पतालले थप ५० हजार गरेर एक लाखको स्वास्थ्य बिमा गर्ने योजना रहेको उनले बताए । कुनै पनि नागरिक पैसाको अभावका कारण उपचारबाट बञ्चित हुनु नपर्ने उनको भनाइ छ ।

क्षेत्र नं ३ का बिपन्न परिवारका सदस्यलाई छनोट गरेर निजी स्तरबाट तीन बर्षमा मेडिकल शिक्षाका फरक-फरक विधामा तीन सय जनालाई निशुल्क रुपमा छात्रवृद्धि दिएर पढाउने उनले आश्वासन बाँडेका छन् ।

तीन वर्षमा यस क्षेत्रका ४ सयलाई रोजगारी दिने उनको योजना छ । ठूला सडक कालोपत्रे गर्ने र नदी नियन्त्रण गर्ने एजेण्डा पनि उनले अघि सारेका छन् ।


बिराटनगर, इटहरी र बिराटचोकलाई जोडेर वृहत्तर महानगर बनाउँछु
महेश आचार्य, कांग्रेस (क्षेत्र नं ४)

नेपाली कांग्रेसका प्रभावशाली नेता एवं पूर्वमन्त्री महेश अचार्य मोरङ क्षेत्र नं ४ बाट प्रतिस्पर्धामा उत्रिएका छन् । उनी वाम गठबन्धनका साझा उम्मेवार एवं माओवादीका पूर्वसांसद अमनलाल मोदीसँग प्रतिस्पर्धामा छन् ।

दोस्रो संविधान सभा निर्वाचनमा साबिक क्षेत्र नं ४ बाट बिजयी भएका आचार्य अधुरा काम पूरा गर्न र राष्ट्रिय राजनीतिको स्थायित्वका लागि प्रतिस्पर्धामा उत्रिएको बताउँछन् ।

महेश आचार्यको मुख्य एजेण्डा बिराटनगरलाई प्रादेशिक राजधानी बनाउने हो

आचार्यको मुख्य एजेण्डा बिराटनगरलाई प्रादेशिक राजधानी बनाउने हो । प्रादेशिक राजधानी अनुकुलको पूर्वाधार निर्माण, प्रादेशिक राजधानी सुहाउँदो सडक सञ्जाल र निर्माणधीन संरचनाको पूर्णतामा ध्यान दिने उनी बताउँछन् ।
बिराटनगर, इटहरी र बिराटचोकलाई जोडेर वृहत्तर महानगर बनाउने योजना रहेको आचार्यले बताएका छन् ।

त्यसैगरी बैजनाथपुरको रंगशाला निर्माण पाँच बर्षभित्र पूरा गर्ने आचार्यको भनाइ छ । रंगशाला छेउमा सभागृह निर्माण गर्ने, स्कुल कलेजको स्थापना गर्ने अनि १९ नं वडालाई नयाँ बजारको रुपमा विस्तार गर्नर्े आचार्यले सुनाए ।
विराटनगर विमानस्थलको विकास गर्ने योजना रहेको उनी बताउँछन् ।

कोशी राजमार्ग निर्माण गर्न पहल गर्दै क्षेत्र नं ४ मा हुने नदी कटान नियन्त्रण गर्ने योजना रहेको आचार्यले सुनाए । ५० बर्षपछिको महानगर परिकल्पना गरेर महानगरको नदी नियन्त्रण गर्ने योजना रहेको उनले आश्वासन दिए ।

त्यस्तै रिङरोड पाँच बर्षभित्र पूरा गर्ने र नहरका सडकलाई बैकल्पिक सडकका रुपमा निर्माण गर्दै ग्रिनबेल्ट बनाउने योजना रहेको आचार्यले बताएका छन् ।

पूर्वाञ्चल विश्व विद्यालयलाई व्यवस्थित गरी गुणस्तर विकास गर्ने आचार्यको योजना छ । बिराटनगरलाई मेडिकल सिटीका रुपमा विकास गर्ने योजना रहेको पनि उनले बताएका छन् ।

सुकुम्बासीलाई नमूना घर, बिराटनगरलाई पर्यटकीय शहर
अमनलाल मोदी, माओवादी (क्षेत्र नं ४)

दोस्रो संविधानसभा निर्वाचनमा समानुपातिक सभासद रहेर संविधान निर्माणमा भूमिका खेलेका अमनलाल मोदी मोरङ क्षेत्र नं ४ मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यसँग चुनावी प्रतिस्पर्धामा छन् । ९९ हजार एक सय २४ मतदाता रहेको यस क्षेत्रमा उनले स्थानीय विकाससँगै सुकुम्बासी समस्या समाधान गर्ने एजेण्डा अघि सारेका छन् ।

थारु समुदायका युवा नेता मोदीले क्षेत्र नं ४ भित्र रहेका सुकुम्बासीलाई जनता आवास कार्यक्रमअन्तरगत नमूना घर निर्माण गरिदिने एजेण्डा अघि सारेका छन्

थारु समुदायका युवा नेता मोदीले क्षेत्र नं ४ भित्र रहेका सुकुम्बासीलाई जनता आवास कार्यक्रमअन्तरगत नमूना घर निर्माण गरिदिने एजेण्डा अघि सारेका छन् । मोदीले सडक कालोपत्रे गर्ने, शिक्षा, स्वास्थ्य, खानेपानी र रोजगारको अवसर सिर्जना गर्ने मुख्य एजेण्डा बनाएका छन् ।

विराटनगरलाई प्रदेशको राजधानी बनाउने, बिराटनगर विमानस्थलको स्तरोन्नति गर्ने उनको योजना छ ।

क्षेत्र ४ मा रहेका कच्ची सडकलाई पक्की बनाउने र विराटनगर १९ मा रहेको रंगशालालाई अन्तराष्ट्रिय स्तरको बनाउने एजेण्डा मोदीले अघि सारेका छन् ।

बैदेशिक रोजगारीलाई निरुत्साहित गर्ने, कृषिमा आधुनिकीकरण गर्ने, आदिबासी, थारु लगायतका समुदायको संस्कृतिको संरक्षण गर्दै पर्यटनको विकास गर्ने मोदीको एजेण्डा छ ।

जनताको जीवनस्तर उकास्नुका साथै बिराटनगरको समग्र विकास गर्दै औद्योगिक पर्यटनको विकास गर्ने उनको योजना छ ।


बिराटनगरलाई प्रदेशको राजधानी बनाउँछु
शिवकुमार मण्डल, माओवादी (क्षेत्र नं ५)

निवर्तमान आपूर्ती मन्त्री एवं हाल विना विभागीय मन्त्रीका रुपमा सरकारमा रहेका शिवकुमार मण्डल कांग्रेस नेता अमृत अर्यालसँग मोरङको क्षेत्र नम्बर ५ मा चुनावी प्रतिपर्धामा छन् ।

विपरीत पार्टीका भए पनि अर्याल र मण्डल एकअर्काका सहयोगी मानिन्छन् ।

बाम गठबन्धनबाट उत्साहित भएका मण्डल राजनीतिक स्थायित्व र विकासका लागि वाम एकता गरिएको सन्देश लिएर चुनावी घरदैलोमा छन् । साबिक क्षेत्र नं. ४ बाट दोस्रो संविधान सभा निर्वाचनमा निर्वाचित भएका मण्डल संविधान कार्यान्वयन र स्थानीय विकासका मुद्दा लिएर हिँडेका छन् ।

विराटनगरलाई प्रदेशको राजधानी बनाउने र रंगेली- बिराटनगर क्षेत्रभित्र औद्योगिक क्षेत्रको विकास गर्ने शिवकुमार मण्डलको एजेण्डा छ

विराटनगरलाई प्रदेशको राजधानी बनाउने एजेण्डासँगै रंगेली- बिराटनगर क्षेत्रभित्र औद्योगिक क्षेत्रको विकास गर्ने मण्डलको एजेण्डा छ ।

त्यसैगरी रोजगारीको अवसर सिर्जना गर्ने, प्रदेशको राजधानीका लागि आवश्यक पूर्वाधारको निर्माण गर्न अनि विराटनगर विमानस्थलको स्तरोन्नति गर्ने मण्डलकोे एजेण्डा छ ।

माओवादी नेता मण्डल चुनावमा उठेको क्षेत्रको करिव ४१ किलोमिटर भारतसँग सीमा जोडिएको छ । सीमा क्षेत्रमा रहेका अवस्थित बसोबासलाई व्यवस्थित गर्ने उनले एजेण्डा अघि सारेका छन् । साथै सीमा सुरक्षाका लागि आवश्यक रणनीति निर्माण गर्ने, सडक कालोपत्रे गर्ने, बिजुलीको विस्तार गर्ने सँगसँगै कृषिको आधुनिकीकरण गर्ने भन्दै उनलजे भोट मागिरहेका छन् ।

मधेसी समुदायको बाक्लो बसोवास रहेको यस क्षेत्रको चेतनास्तरको विकास गर्ने, सडक सञ्जालको विस्तार गर्ने अनि खानेपानी, शिक्षा, स्वास्थ्य र रोजगारी दिने मण्डलका चुनावी एजेण्डा छन् ।

त्यसैगर बिाढी प्रभावित क्षेत्रमा प्राधिकरण बनाएर राहतको योजनाका साथै दीर्घकालीन रुपमा बाढी नियन्त्रण गर्ने उनको आश्वासन छ ।

प्रदेशको राजधानी बनाउँछु, सीमा सुरक्षा गर्छु
अमृत अर्याल, कांग्रेस (क्षेत्र नम्बर ५)

वाम गठबन्धनका नेता शिवकुमार मण्डलसँग प्रतिस्र्धामा रहेका अमृत अर्यालले विराटनगरलाई प्रदेशको राजधानी बनाउने योजनालाई मुख्य मुद्दाका रुपमा अघि सारेका छन् ।

कांग्रेस नेता अमृत अर्यालले बिराटनगर, इनरुवा र इटहरी हुँदै ग्रेटर विराटनगर निर्माणका लागि पहल गर्ने एजेण्डा रहेको बताएका छन्

बिराटनगर, इनरुवा र इटहरी हुँदै ग्रेटर विराटनगर निर्माणका लागि पहल गर्ने आफ्नो एजेण्डा रहेको अर्याल बताउँछन् ।

साविक क्षेत्र नं ५ बाट दोस्रो संविधानसभा निर्वाचनमा निर्वाचित भएका उनले बिजयी भएपछि आफ्नो क्षेत्रमा महत्वपूर्ण काम सुरु गरेको दाबी गरे ।

आफूले सुरु गरेका योजना केही बाँकी रहेको बताउँदै उनले बाँकी कार्यभार पूरा गर्न पुनः उम्मेदवार बनेको बताए ।

नयाँ संरचना अनुसार बनेको क्षेत्र नं ५ मा ४१ किलोमिटर भारतसँग जोडिएको क्षेत्र रहेकाले सीमाको सुरक्षा गर्दै सडक स्तरोन्नतिको योजना पनि प्राथमिकतामा रहेको अर्याल बताउँछन् ।


ग्रेटर बिराटनगरलाई चीनसँग जोड्छु
लालबाबु पण्डित, एमाले (क्षेत्र नम्बर ६)

पूर्व सामान्य प्रशासन मन्त्री छँदा डीभी र पीआरविरुद्ध उभिएका लालबाबु पण्डित मोरङ ६ मा चर्चाको शिखरमा छन् । साधा जीवनशैलीका राजनीतिज्ञको छवि बनाएका मण्डल क्षेत्र नं ६ बाट प्रतिनिधि सभाका लागि कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य डा. शेखर कोइरालासँग प्रतिस्पर्धामा छन् ।

विराटनगरलाई प्रदेशको राजधानी बनाउँदै ग्रेटर बिराटनगरको योजना लिएर चुनावी मैदानमा उत्रिएका पण्डित बिराटनगरलाई महानगर बनाउन चाहने र नचाहने शक्तिबीचको लडाइँ क्षेत्र नं ६ मै भएको बताउँछन् ।

विराटनगरदेखि चिनियाँ नाकासम्म जोड्ने किमाथाङसम्मको कोशी राजमार्गको निर्माणमा तिव्रता दिने लालबाबु पण्डितको योजना छ

बोर्डमा मात्र महानगर लेखिएको बिराटनगरलाई बास्तविक महानगर बनाउने उनको योजना छ ।

विराटनगरदेखि चिनियाँ नाकासम्म जोड्ने किमाथाङसम्मको कोशी राजमार्गको निर्माणमा तिव्रता दिने पण्डितले बताएका छन् । साथै बिराटनगर रिङरोडलाई स्तरोन्नति गर्ने योजना उनले अघि सारेका छन् ।

बषर्ाको समयमा विराटनगरमा डुवान हुने गरेकाले रिङरोडलाई बाँधका रुपमा पनि विकास गर्ने उनको योजना छ । विराटनगर वा आसपासको क्षेत्रमा क्यान्सर र मूटु रोगको उपचार गर्ने अस्पताल र विराटनगरमा भ्यू टावर निर्माण गर्ने उनको एजेण्डा छ ।

अघिल्लो पटक निर्वाचित सांसदले काम नगरेको बताउँदै उनी आफू इमान्दार नेता भएकाले प्रतिवद्धता पूरा गर्ने बताउँछन् ।

विकासमा पछि परेको विराटनगरलाई औद्योगिक नगरीका रुपमा विकास गर्दै रोजगारको अवसर सिर्जना गर्नुका साथै कृषि क्षेत्रलाई आधुनिकीकरण गर्ने, प्रदेश राजधानीका लागि आवश्यक पूर्वाधार निर्माण गर्ने र सुकुम्बासी समस्या समाधान गर्ने पण्डितका चुनावी एजेण्डा छन् ।

एसईईमा ७५ अंक ल्याउने विद्यार्थीलाई ल्यापटप दिन्छु
डा. शेखर कोइराला, कांग्रेस (क्षेत्र नं ६)

नेपाली कांग्रेसका नेता एवं वीपी कोइरालाका भतिज डा.शेखर कोइराला मोरङ क्षेत्र नं ६ बाट बाम गठबन्धनका उम्मेदवार लालबाबु पण्डितसँग चुनावी प्रतिस्पर्धा गर्दैछन् ।

कांंग्रेसभित्र भावी महामन्त्री वा सभापतिकै लाइनमा रहेका कोइराला र एमाले नेता लालबाबु पण्डितबीचको प्रतिस्पर्धाले क्षेत्र नं ६ मा सबैको ध्यान तानिएको छ ।

सामुदायिक विद्यालयबाट एसईईमा ७५ प्रतिशत भन्दा बढी अंक ल्याउने विद्यार्थीलाई ल्यापटप दिने डा. शेखर कोइरालाको योजना छ

क्षेत्र नं ६ मा नेता कोइरालाले सडक, खानेपानी, सामुदायिक भवन, रोजगार, नदी नियन्त्रण र सुकुम्बासी समस्या सामधानको एजेण्डा अघि सारेका छन् ।

पाँच बर्षभित्र क्षेत्र नं ६ का सबै सडक कालोपत्रे गर्ने उनको योजना छ । प्रत्येक वडामा सुविधासम्पन्न सामुदायिक भवन निर्माण गर्ने उनले बताएका छन् ।

त्यसैगरी स्वच्छ खानेपानी वितरण गर्दै नदी नियन्त्रण गर्ने, बिराटनगर महागनगरलाई प्रदेशको राजधानी बनाउने एजेण्डा पनि कोइरालाले अघि सारेका छन् ।

त्यस्तै सामुदायिक विद्यालयबाट एसईईमा ७५ प्रतिशत भन्दा बढी अंक ल्याउने विद्यार्थीलाई ल्यापटप दिने डा. शेखर कोइरालाको योजना छ ।

त्यसैगरी एक घर एक रोजगारीको व्यवस्था गर्ने, आदिबासी जनजाति मुस्लिम समुदायको संस्कृति झल्कने संग्रहालय निर्माण गर्ने योजना कोइरालाले अघि सारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment