Comments Add Comment

बुटवलमा डेंगुसँग लड्दै जनता, भोट माग्न व्यस्त नेता

७१५ जनामा डेंगु संक्रमण, जनतामा त्रास

डेंगु प्रभावित क्षेत्रमा अाैषधि छर्कदै स्वास्थ्यकर्मी र स्थानीयवासी

३० कात्तिक, बुटवल ।बटवलमा डेंगुको संक्रमण फैलिएको छ । दिनदिनै डेंगुका बिरामी बढ्न थालेपछि स्थानीयवासीमा त्रास फैलिएको छ ।

नागरिकमा त्रास फैलिएपछि डेंगु रोग फैलाउने लामखुट्टे नष्ट गर्ने र प्रत्येक घरघर पुगेर नागरिकलाई सचेत गराउने काम सुरु गरिएको छ ।

डेंगु रोगबिरुद्ध बिशेष अभियान सुरु गरिएपनि नागरिकमा त्रास कायमै रहेको छ । बुटवल उपमहानगर र जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीको अग्रसरतामा बुटवलमा अभियान चलिरहेको छ ।

दलहरु भोट माग्न व्यस्त, जनता डेंगु नियन्त्रणमा

दलहरु आगामी मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेशसभाको चुनावको तयारीमा रहँदा बुटवलवासी भने डेंगुविरुद्धको अभियानमा जुट्नु परेको छ ।

बुटवल उपमहानगरपालिकाको स्वास्थ्य टोली, वडाअध्यक्ष, प्रहरी, जनस्वास्थ्य कार्यालयका कर्मचारी, स्वयमसेविका तथा टोल विकास समितिका सदस्यको सहभागितामा प्रत्येक घरघर पुगेर डेंगुबाट बच्ने उपायबारे सचेत गराउने काम गरेका छन् ।

बिहीबारसम्म ७१५ जनामा डेंगु संक्रमण भेटिएको लुम्बिनी अञ्चल अस्पताल बुटवलले जनाएको छ ।

बुटवल उपमहानगरका उपप्रमुख गोमा आचार्यले डेंगुको कुनै बिशेष उपचार नभएकाले नियन्त्रणमा समस्या भएको बताइन ।

घरघरमा औषधि छर्कने र झुल बाँडिदै

डेंगुका बिरामीहरु बढेपछि अहिले बुटवलमा घरघरमा औषधि छर्कने र झुल बाँड्ने काम सुरु गरिएको छ ।

आफूहरु संवेदनशील रहेकाले भन्दै वडाअध्यक्षहरुले स्वास्थ्य स्वयमसेविका र टोल विकास समितिलाई सक्रिय बनाएर लामखुट्टेको टोकाइबाट बच्ने, वातावरण सफा राख्ने र पानी जम्ने खाल्डाखुल्डी पुर्न निर्देशन दिइएका छन् ।

बुटवलमा डेंगुका विरामी बढ्दै गएपछि अस्पतालमा समेत लामखुट्टे मार्ने औषधि छर्कने काम सुरु भएको छ ।

लुम्बिनी अञ्चल अस्पताल बुटवलसहित विरामीहरुको चाप भएका अस्पतालमा किट छर्कने काम भएको अस्पतालका मेडिकल रेर्कड अधिकृत लक्ष्मीराज रेग्मीले बताए ।

डेंगु नियन्त्रणका लागि विगतमा थालिएका कार्यक्रमलाई अझ प्रभावकारी वनाएका छौं,अहिले हामी घरघरमा औषधि छर्कने र झुल बाँड्ने काम थालिसकेका छौं ।’ रेग्मीले भने ।
रेग्मीका अनुसार सक्रमितहरु विभिन्न जिल्लाका रहेका भएपनि ८० प्रतिशत रुपन्देहीका रहेका छन । त्यसमा पनि ७५ प्रतिशत बुटवलका छन ।

बुटवलबाट ३७ वटा नमूना परीक्षणका लागि केन्द्रीय जनस्वस्थ्य प्रयोगशालामा पठाइएको थियो । रुपन्देहीका विभिन्न अस्पतालमा कार्यरत डाक्टर तथा स्वस्थ्यकर्मी गरी १२ जनामा डेगुको संक्रमण भएको रेग्मीले बताए ।

पछिल्ला दिनहरुमा दिनप्रतिदिन संक्रमण बढेपछि केही दिन अगाडि जनस्वथ्यको केन्द्रको टोलि पनि वुटवलमा आएर अध्ययन गरेको छ ।

लुम्बिनी अञ्चल अस्पतालमा स्वास्थ्य मन्त्रालयको टोलि समेत आएको थियो । स्वास्थ्य मन्त्रालयका सचिव डा. किरण रेग्मीसहितको टोलिले अस्पतालमा छलफल समेत गरेको थियो ।

अझै पनि इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोलीले वुटवलमा देखिएको डेंगुको बारेमा स्थलगत रुपमा निरीक्षण एंव अनुसन्धान गरिरहेको छ ।

दुई जना महिलाको मृत्यु

डेंगुको संक्रमणबाट साउन यता रुपन्देहीका एकजना र अर्घाखांची शितगंगाका एकजना गरी दुई जना महिलाको मृत्यु भएको छ ।

२०७४ साउनदेखि दशैंसम्म १६ जनामा मात्रै डेंगु देखिएकोमा दशैं लगत्तै डेंगुको संक्रमण हृवात्तै बढेर बिहीबार बिहान १० बजेसम्मे ७१५ पुगेको जनस्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख केहरसिंह गोदारले जानकारी दिए ।

दुई जना चिकित्सकसहित १२ जना स्वास्थ्यकर्मी, जनप्रनिधिहरुमा पनि डेंगु रोगको संक्रमण देखिएको थियो तर उपचार पछि निको भएको छ ।
लुम्बिनी अञ्चल अस्पताल बुटवलमा दैनिक ३० देखि ४० जना डेंगुका विरामी आउने गरेकोे अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. कृष्ण खनालले बताए ।

डेंगुको मुख्य चुनौती गाडीका टायर

डेगुको प्रकोप बढेपछि स्थानीय तहमा डेंगु नियन्त्रलाई प्रभावकारी बनाउन प्रकोप ब्यवस्थापन समितिले पनि सक्रियता बढाएको छ । समितिले कार्यक्रम प्रभावकारी बनाउने निर्णय गरेको छ ।

प्रहरी, स्वस्थयकर्मी, जनप्रतिनिधि, महिला स्वयमसेविकासहितको टोली ब्यापक परिचालन गर्ने निणर्य भएपछि सोही अनुसार कार्यक्रम भइरहेको जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख केयरसिंह गोदारले बताए ।

त्यस्तै डेगु नियन्त्रणका लागि टायरहरु बढी चुनौतीका रुपमा पाइएको भन्दै टायरको ब्यवस्थापनमा लाग्ने पनि निर्णय गरिएको छ ।

बुटवलमा रुपन्देहीसहित दाङ, गुल्मी, अर्घाखँची, पाल्पा, कपिलबस्तु, नवलपरासी, प्यूठान, बाग्लुङ र रोल्पाका बिरामीहरुको उपचार भइरहेको छ ।

डेंगु परीक्षणमा पैसा असुले कारबाहीः मन्त्री बोहरा

डेंगु रोगको संक्रमण परीक्षण निःशुल्क गराउन स्वास्थ्य मन्त्री दीपक बोहराले निर्देशन दिएका छन् ।

बुटवलमा डेंगुको संक्रमण बढेसँगै निजी क्लिनिकहरुले सरकारी अस्पतालमा निःशुल्क हुने परीक्षणमा दुई हजारदेखि तीन हजार रुपैयाँ शुल्क लिएको गुनासो बढेपछि स्वास्थ्य मन्त्रीले क्षेत्रीय स्वास्थ्य निर्देशक,जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख र लुम्बिनी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्टसहितको वैठकमा यस्तो निर्देशन दिएका छन् ।

उनले डेंगु परीक्षण गर्ने किट अस्पतालबाट लिएर निःशुल्क परीक्षण गर्न नीजि क्लिनिकहरुलाई निर्देशन दिंदै यदी शुल्क लिएको पाइए ती क्लिनिकहरु बन्द गराइदिने चेतावनी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment