Comments Add Comment

फोरजी विस्तारमा टेलिकमको ‘एग्रेसिभ मुभ’: एकैपटक ६५ लाख ग्राहक समेटिँदै

भीअोएलटीई र भीआईएलटीई सेवा थाल्दै टेलिकम


३० कात्तिक, काठमाडौं ।  नेपाल टेलिकमले आफ्नो फोरजी सेवालाई एकैसाथ देशैभरि विस्तार गर्ने भएको छ । टेलिकमले गत कत्तिक १७ गतेबाट काठमाडौं र पोखरामा फोरजी (एलटीई) सेवा थालेको थियो । अब देशभर नै यो सेवा विस्तारको तयारी तीव्र पारिएको छ ।

टेलिकमले एलटीई सेवा विस्तारमा ‘एग्रेसिभ मुभ’ लिँदै विभिन्न ग्राहक लक्षित अाधुिनक तथा अाकर्षक योजनाहरूसहित देशभर जाने गरीकाम थालेको हो । अब मुलुकभर फोरजी सेवा एकैसाथ विस्तार गर्ने गरी टेण्डर प्रक्रिया अघि बढाइएको टेलिकमकी प्रवन्ध निर्देशक कामिनी राजभण्डारीले अनलाइनखबरलाई जानकारी दिइन् ।

‘अहिले हाम्रो ५ लाख फोरजी सस्क्राइबर हुनुहुन्छ । अब हामी चाँडै देशभर नै फोर-जी सेवा लैजान्छौं,’ प्रवन्ध निर्देशक राजभण्डारीले भनिन्,’हामीले फोर-जी सेवा विस्तारका लागि दुई वटा टेण्डर एकैपटक अघि बढाएका छौं ।’

गत कात्तिक १७ गते एलटीईको लागि टेण्डर गरेको टेलिकमले रेडियो एक्सेस नेटवर्कका लागि कात्तिक २२ गते दुईवटा बोलपत्र आह्वान गरिसकेको छ ।

भीओएलटीई र भीआईएलटीई पनि 

अब उपत्यकाबाहिर फोरजी सेवाका साथमा भ्वाइस फर एलटीई (भीओएलटीई) सेवा पनि सुरु हुनेछ । त्यसैगरी भिडियो ओभर एलटीई (भीआईएलटीई) सेवा पनि फोरजीको नेटवर्क विस्तारसँगै सुरु हुनेछ ।

भीओएलटीई र भीआईएलटीई तीव्र गतिको डाटासहितको भ्वाइस तथा भिडियो सेवा हो । यो आईपी मल्टिमिडिया सबसिस्टममा आधारित हुन्छ । यससको भ्वाइस र डाटाको क्यापेसिटी थ्रिजी भन्दा ३ गुणा बढी हुन्छ ।

यसका कारण दुर्गम क्षेत्रमा पनि उच्च गतिको मोबाइल डाटा चलाउन सकिन्छ  । टेलिकमले फोरजीलाई आफ्नो सेवाको सबैभन्दा माथिल्लो लेयर राख्दै यि सेवाहरु प्रदान गर्न लागेको राजभण्डारीले बताइन् ।

अन्य फ्रिक्वेन्सी पनि फोर-जीकै लागि 

प्रवन्ध निर्देशक राजभण्डारीले वाइफाइ कभरेज र क्यापेसिटी एक्सटेन्सनका लागि स्मल सेलको सेवा पनि ल्याउन लागिएको बताइन् । देशभर फोर-जी सेवा पुर्‍याएर हाई स्पीड डाटाका लागि १० मेगाहर्जमा १३० एमबीपीएसको पिक डीएल डाटा रेट लागू गर्ने प्रवन्ध निर्देशक राजभण्डारीको भनाइ छ ।

त्यसैगरी अहिले विभिन्न सेवाका लागि उपयोग भइरहेका ८५०, २३०० र १८०० मेगाहर्जको फि्रक्वेन्सी ब्याण्डमा क्यापेसिटी, कभरेज, हटस्पट सञ्चालन गर्ने योजना बनाइएको छ । यसले फोर-जी सेवालाई नयाँ उचाई दिने उनको विश्वास छ ।

‘अब वाइम्याक्स, सीडीएमए लगायतका लागि उपयोग भएका ब्याण्डको केही हिस्सा पनि टेक्नोलिजी न्युट्रल गरेर फेरजीमै प्रयोग गर्छौं,’ प्रवन्ध निर्देशक राजभण्डारीले भनिन् । टेकिलमले अहिले जिएसएम सर्भिसको फ्रिक्वेन्सीलाई नै न्युट्रल गरेर फोर-जी चलाइरहेको छ ।

टेलिकमले फोरजी सेवालार्इ नै विस्तार गरेर महंगो सावित भएको वाइम्याक्सलाई विस्तारै फेज-आउट गर्ने योजना बनाएको छ । बलपूर्वक सेवाग्राहीबाट सीडीएमए र वाइम्याक्स सेवा नखोसिने राजभण्डारीले बताइन् ।

६५ लाख ग्राहक समेटिने

अब टेलिकमले ६५ लाख ग्राहकलाई लक्षित गरेर फोरजी सेवा विस्तार गर्ने भएको छ । सात वटै प्रदशेका गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिकाहरुमा फोर-जी सेवा एकैसाथ विस्तार गर्ने योजनामा टेलिकम छ ।

यसका साथै हाल सञ्चालनमा रहेको टु-जी, थ्रि-जी नेटवर्कमा ‘ओभरले नेटवर्क’मा रुपमा फोर-जी सेवा सञ्चालनमा आउने प्रवन्ध निर्देशक राजभण्डारीले बताइन् ।

फोर-जी विस्तारसँगै भीओएलटीई सेवा सञ्चालन गरेर न्युन मूल्यमा भ्वाइस सेवा र सम्पूर्ण सेवाग्राहीलाई एलटीईमा रुपान्तर गर्ने लक्ष्य टेलिकमले लिएको छ ।

सेवा विस्तारमा ध्यान

टेण्डर प्रक्रिया सकिएर सम्झौता भएको अढाई वर्षभित्र देशभर एलटीई सम्बद्ध सबै योजना पुरा गर्ने राजभण्डारीले बताइन् ।
सम्झौताको अधिकांश स्थानमा ९ महिनाभित्र सेवा भने सञ्चालनमा आइसक्ने टेलिकमले जनाएको छ ।

‘हामीले ठूलो योजनाका साथ फोरजी सेवा विस्तार गर्दैछौं । टेण्डर हुनु भनेको सरकारी कम्पनीका लागि ५० प्रतिशत काम सकिनु जस्तै हो,’ प्रवन्ध निर्देशक राजभण्डारीले भनिन्,’हामी समानान्तर रुपमा फोर-जी सेवालाई विस्तार गर्दैछौं । यसको लाभ हाम्रा सेवाग्राहीले चाँडै लिन पाउनेछन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment