Comments Add Comment

उम्मेदारलाई बम कसले हान्दैछ ? विप्लवले कि अरूले ?

पूर्वमन्त्रीको ज्यानमाथि आक्रमण हुँदा गृहप्रशासन मौन

समाचार टिप्पणी

२ मंसिर, काठमाडौं । भोजपुरमा पूर्वमन्त्री शेरधन राईमाथि बम आक्रमण भएपछि एमाले अध्यक्ष केपी ओलीले वाम गठबन्धनका उम्मेदवारमाथि छानीछानी आक्रमण भएकाले यसमा सत्तापक्षकै हात रहेको हुन सक्ने आरोप लगाए ।

रोल्पामा वर्षमान पुनको चुनावी टोलीमाथि दिनहुँजसो बम र गोली प्रहार हुन थालेपछि माओवादी अध्यक्ष प्रचण्डले कांग्रेसका मन्त्रीहरुले नै यस्ता घटना गराएको हुन सक्ने आशंका व्यक्त गरे ।

शुक्रबार नुवाकोटमा कांग्रेस नेता डा. रामशरण महतलाई लक्षित गरी शक्तिशाली बम बिस्फोटन भयो । ‘भाग्यवस’ डा. महत चढेको गाडी एम्बुसमा परेन र अर्को गाडी पर्‍यो, जसमा रहेका ५ जना घाइते भए ।

बम विस्फोटनको घटनापछि कांग्रेस नेता डा. महतले यसको दोष निर्वाचन बहिस्कार गरेको विप्लव समूहलाई लगाएनन् । बरु, आफ्नै प्रतिद्वन्दी वाम गठबन्धनका उम्मेदवार हितबहादुर तामाङ्गले बम विस्फोटन गराएको हुन सक्ने आशंका व्यक्त गरे ।

निर्वाचनको तिथि नजिकिँदै जाँदा उम्मेदवारहरुलाई लक्षित गरेर विभिन्न जिल्लामा विस्फोटनका घटनाहरु भइरहेका छन् । कतिपय ठाउँमा निर्दोष मानिसहरु अनाहकमा बमको शिकार बनेर घाइते भइरहेका छन् । तर, यी घटनामा विप्लव समूहले जिम्मेवारी लिने गरेको छैन ।

र, आक्रमणको शिकार बन्ने नेताले पनि यसमा विप्लव समूहलाई भन्दा आफ्नै विपक्षीलाई औंलो ठड्याउने काम गरिरहेका छन् ।

आखिर बम कसले पड्काइरहेको छ ? कांग्रेसले ? वाम गठबन्धनले ? विप्लव समूहले ? या अरु कसैले ? आम जनमानसमा प्रश्न पैदा भइरहेको छ ।

विप्लव समूह के भन्छ ?

विप्लव समूहका नाममा दिनहुँ भइरहेको बम विस्फोटबारे बुझ्न हामीले सो पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई फोन गर्‍यौं । तर, उनको फोन स्विच्ड अफ थियो । त्यसपछि हामीले स्वयं विप्लव र अर्का नेता धर्मेन्द्र बास्तोलालाई फोन गर्‍यौं, उनीहरुको पनि फोन स्विच्ड अफ थियो ।

ठूला नेताहरु फोन अफ गरेर भूमिगत भएको थाहा पाएपछि हामीले केही मझौला नेतालाई सम्पर्क गर्ने पैयास गर्‍यौं । एकजना केन्द्रीय नेतासँग सम्पर्क भयो, तर उनले आफ्नो नाम ‘कोट’ नगर्ने शर्त तेस्र्याए ।

उनलाई हामीले सोध्यौं- ‘तपाईहरुलाई हेडक्वार्टरबाट के सर्कुलर आएको छ ? सेबोटेज मात्रै गर्ने नीति हो कि नेताहरुको हत्या नै गर्ने नीति हो ?’

जवाफमा उनले भने- ‘हाम्रो नीति यो चुनाव खारेज गर्ने भन्ने छ र यसका लागि तर्साउने भन्ने छ ।’

‘तर, तपाईहरुले बम बिस्फोट गराएपछि वक्तव्य निकालेर जिम्मेवारी किन नलिएको ? कुन घटना तपाइहरुले गरेको हो र कुन चाहिँ अरुले नै गरेको भनेर कसरी छुट्याउने ?’ हामाीले सोध्यौं,- जस्तै नुवाकोटमा डा. रामशरणमाथि कसले आक्रमण गरेको हो ? उहाँले त वाम गठबन्धनमाथि आरोप लगाउनुभएको छ नि ?’

जवाफमा विप्लव माओवादीका ती नेताले भने- ‘हाम्रा नेता कार्यकर्ताहरुलाई व्यापकरुपमा गिरफ्तार गरिएको अवस्था छ, त्यसैले हामीले कुनै पनि घटनाको जिम्मेवारी लिन सक्ने अवस्था छैन ।’

हामीले फेरि सोध्यौं- ‘जति पनि घटना भएका छन्, ती सबै विप्लव समूहका हुन् भनेर बुझ्दा के हुन्छ ?’

उनले भने- ‘कतिपय घटनाहरु कांग्रेसबाट पनि भएका छन्, कतिपय वाम गठबन्धन र कतिचाँहि राजावादीबाट पनि भइरहेका छन् । धेरैवटा समूह छन् यसमा ।’

हामीले थप प्रश्न राख्यौं- ‘तपाईहरुले घटनाको जिम्मा नलिँदा नगरेका कामको पनि अपजस तपाईहरुलाई नै जाने भयो नि हैन ? कतिपय ठाउँमा निर्दोष र अवोध मानिसहरु पनि घाइते भइरहेका छन्, यसको जिम्मेवारी कसले लिने ?’

विप्लवका ती कार्यकर्ताले भने- ‘हामीले चुनाव खारेज गर्ने भनेकै छौं । अरुले पनि हाम्रो काम गर्छन् भने जस अपजश त हामीले लिनैपर्छ ।’

हद दर्जाको गैर जिम्मेवारी

शुक्रबार साँझ बीबीसी नेपाली सेवामा विप्लव समूहका केन्द्रीय सदस्य ध्रुव घिमिरेले अन्तरवार्ता दिए । सो अन्तरवार्तामा उनले विस्फोटनका घटना आफूले गराएको स्वीकारेनन् । उनले भने- ‘यो हाम्रो पार्टीको भन्दा पनि जनताको आक्रोश हो ।’

तर, यस्तो गैरजिम्मेवार जवाफबाट विप्लव समूहका नेताहरु उम्किने अवस्था देखिँदैन । किनभने उनीहरुले बम विफोस्टन गराउने नीति लिएको देखिन्छ र यस्ता घटनाबारे मौनता साँध्ने काम गरेका कारण अरु तत्वहरुलाई चलखेल गर्न सजिलो भएको छ ।

तर, बिस्फोटनका घटनाबारे जिम्मेवारी लिँदाखेरि फौजदारी अभियोगमा समातिने डरले विप्लव समूहका नेताहरु फोन अफ गरेर बस्न थालेका छन् ।

आफ्नो नाममा जसले विस्फोट गरे पनि आफ्नो पार्टीको प्रचार हुन्छ भन्ने हेतुले सो पार्टीका नेताहरु जनताको जिउज्यानको सुरक्षाप्रति हद दर्जाको गैरजिम्मेवार देखिएका छन् । सो पार्टीले बम बिस्फोटनका घटनाबारे अहिलेसम्म एउटा पनि वक्तव्यसम्म निकालेको अवस्था छैन ।

चुनाव बिथोल्ने उद्देश्य ?

विप्लव समूहले विगतमा राजावादी तत्वसँग पनि साँठगाँठ गर्ने गरेको आरोप लाग्ने गरेको थियो । अहिलेको घटनाक्रममा निर्वाचनलाई समयमा सम्पन्न हुन नदिने र पछाडि धकेलेर संविधान कार्यान्वयनलाई असर पार्न खोज्ने तत्वहरुका लागि विप्लव समूह गतिलो रक्षाकवच बन्न लागेको देखिन्छ ।

अहिलेको परिवर्तनको प्रक्रियालाई निर्वाचनमार्फत संस्थागत हुन नदिने अन्तिम कसरतमा पुराना यथास्थितिवादी शक्तिहरुले हरसम्भव प्रयास गरिरहेको र कुनै ठूलो घटना गराएर चुनाव रोक्ने उद्देश्य राखेको त होइन ?

शुक्रबार राजधानीमा आयोजित एक अनौपचारिक कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीलाई सञ्चारकर्मीले सोधेका थिए- ‘कुनै उम्मेदवारको हत्या गरेर चुनाव रोक्ने उद्देश्यले पो यस्ता घटना भइरहेका हुन् कि ?’

जवाफमा ओलीले भने- ‘त्यसरी चुनाव रोक्न अव सम्भव छैन । चुनाव पनि रोकिँदैन र कसैमाथि केही हुँदैन पनि ।’

सरकारको कमजोरी र गैरजिम्मेवारी

निर्वाचनका बेलामा जनताको सुरक्षा र अधिकारमाथि विप्लव समूहका नाममा जसरी खेलवाड भइरहेको छ, सरकारले पनि उस्तै गैरजिम्मेवार एवं लापरवाह व्यवहार देखाइरहेको छ ।

जस्तो अहिले गृहमन्त्रीलाई जिम्मेवारीविहीन बनाइएको छ । चुनाव गर्नुपर्ने महत्वपूर्ण बेलामा गृहमन्त्रीको कुर्सी खाली छ । गृहमन्त्रालय सम्हालेका प्रधानमन्त्री आफू र आफ्नी पत्नीको चुनाव प्रचारमा व्यस्त छन् । केन्द्रीय प्रशासनको कमाण्ड कर्मचारीले सम्हालेका छन् ।

पूर्वअर्थमन्त्रीजस्तो मान्छेमाथि नुवाकोटमा त्यस्तो जघन्य हमला हुँदा गृहमन्त्रालयले एउटा सानो वक्तव्यसम्म जारी गरेको छैन । गृहमन्त्रालयले एउटा पत्रकार सम्मेलनसम्म गर्न सकेको छैन । मानिलिउँ देशमा सरकारै छैन, गृहमन्त्रालय नै छैन कि जस्तो अवस्था छ ।

शनिबारमात्रै कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलको ज्यानमाथि नै धावा बोलेर बम प्रहार भयो । तर, यसबारेमा सरकारले कहीँ कतै औपचारिक प्रतिक्रिया दिँदैन । कसैले दुःख व्यक्तसम्म गर्दैन ।
एउटा दुले चोर पक्राउ गर्दा गर्वका साथ पत्रकार सम्मलेन गर्ने प्रहरी प्रशासन पूर्वमन्त्रीहरुमाथि बम हान्ने व्यक्तिबारे कुनै सूचना सार्वननिक गर्दैन । उनीहरुको खोजी भइरहेको छ कि, उनीहरुको स्केच कस्तो छ, केही पनि बताइँदैन ।’

बम पड्काउने मान्छे बाटोबाट मास्तिर लाग्यो भनेर उसलाई नसमाती पन्छनु भनेको प्रहरीको हदैसम्मको लाचारी हो ।

सरकारको यस्तो मौनताले यी घटनाहरुमा विप्लव समूहको मात्रै हात छ या सरकार संरक्षित ठूलै गिरोहको हात छ भन्ने अन्यौल बढाएको छ । यो अन्यौल चिर्ने दायित्व सरकारकै हो ।

प्रहरीले अहिलेसम्म विप्लव समूहका १७५ जनालाई गिरफ्तार गरेको अनौपचारिकरुपमा जनाए पनि उनीहरु विस्फोटनका घटनामा संलग्न भएकाहरु हुन् या समर्थकहरुलाई मात्रै समातेर झारा टारिएको हो भन्ने स्पष्ट छैन ।

यदि सरकारले यी घटनामा संलग्नहरुमाथि गम्भीरतापूर्व नियन्त्रण गर्न सकेन भने निर्वाचनका बेला कुनै ठूलै अपि्रय घटना नहोला भन्न सकिँदैन ।

अब के गर्ने ?

लामो गृहयुद्धबाट शान्ति प्रक्रियामा आएको मुलुकमा अब बमको धुवाँ उडाउने छुट कसैलाई पनि दिइनुहुँदैन । त्यसैले यसबारे अब सरकारले सघनरुपमा कदम अघि बढाउनुपर्छ ।

सरकारले तत्कालै नेत्रविक्रम चन्दलाई समातेर रोध्नुपर्छ, बम तिमीले पड्काएको हो कि हैन ? हो भने उनी र उनको नेतृत्वमाथि कानूनले तोके अनुसारको कारवाही हुनुपर्छ । होइन भने कसले गरेको हो, त्यो पत्ता लगाएर उनीहरुलाई फौजदारी अपराध अन्तगत कारवाही हुनुपर्छ ।

अब कुनै पनि समूहले आफूलाई हातमा गि्रनेट बोकेर आफूलाई ‘राजनीतिक शक्ति हुँ’ भन्छ भने त्यसलाई संविधान, कानून र जनताले स्वीकार्ने स्थितिको तल्काल अन्त्य हुनुपर्छ । राजनीतिलाई पूर्णरुपमा हिंसामुक्त गर्न सरकारले तदरुकता देखाउन आवश्यक छ ।

डनलाई चुनावमा टिकट दिने र बमवालालाई चन्दा उठाउन छुट दिने दुबैखाले राजनीतिको अब समापन आवश्यक छ ।

०००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment