Comments Add Comment

माथिल्लो तामाकोशी जलविद्युतमा ‘ब्रेक थ्रू’, मुख्य सुरुङ खन्ने काम सकियो

३ मंसिर, दोलखा (तामाकोशी)। दोलखामा निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको सुरुङको आइतबार ‘ब्रेक थ्रू’ भएको छ । आयोजनाका लागि खनिनुपर्ने आठ दशमलव दुई किलोमिटरको मुख्य सुरुङ खन्ने काम सकिएकाले यसलाई ‘ब्रेक थ्रू’ भनिएको हो ।

ऊर्जासचिव अनुपकुमार उपाध्यायको निर्देशनपछि आइतबार बिहान साढे ८ बजे सुरुङमा ब्रेक थ्रू भएको हो ।

नेपालीको मात्रै लगानी भएको माथिल्लो तामाकोशी जलविद्युत आयोजना राष्ट्रिय गौरवको आयोजना हो । आयोजना प्रमुख विज्ञान श्रेष्ठका अनुसार सिभिलतर्फको काम करिब ९० प्रतिशत सकिएको छ । इलेक्ट्रोमेकानिकलका लागि सामानहरु आयोजना स्थलमा पुर्‍याउने काम भइरहेको छ । खाडीचौरदेखि सिंगटीसम्मको प्रवेश मार्ग कालोपत्रेको काम सडक विभागले अगाडि बढाएको छ ।

 

सोही कारण ‘हेभी इक्विपमेन्ट’ आयोजना स्थलसम्म  पुर्‍याउन कठीन भएको छ । अहिले विद्युतगृह जडानको काम अगाडि बढेको छ । कंक्रिटको काम द्रुत गतिमा अघि बढाउन रातदिन काम भइरहेको श्रेष्ठले जानकारी दिए । उनका अनुसार टर्बाइन र प्रसारणलाइन निर्माणको काम पनि जारी छ । प्रसारणलाइनका लागि ठड्याउनुपर्ने एक सय ४७ वटा पोलमध्ये १६ वटा मात्र बाँकी छन् ।

आगामी असार मसान्तसम्ममा सिभिलको काम सकेर विद्युत उत्पादन गर्ने आयोजनाको लक्ष्य छ । डिसेम्बर २०१८ देखि नियमित उत्पादन शुरु भए पनि सबै निर्माण सक्न थप ६ महिना लाग्ने छ ।

प्रभावित क्षेत्रका बासिन्दालाई दिनुपर्ने सेयर भने चुनावलगत्तै निष्कासन गर्ने तयारी छ । त्यसमा दोलखावासीले मात्रै आवेदन दिन पाउनेछन् ।

श्रेष्ठका अनुसार आयोजनाको लागत ३५ अर्ब ३० करोड रुपैयाँ छ । कर्मचारी सञ्चय कोषको १० अर्ब, नेपाल टेलिकमको ६ अर्ब, नागरिक लगानी कोषको दुई अर्ब र राष्ट्रिय बीमा संस्थानको दुई अर्ब रुपैयाँ लगानी छ ।

त्यसबाहेक मन्त्रिपरिषदले चैत ०६६ मा उक्त आयोजनाका लागि ११ अर्ब आठ करोड रुपैयाँसम्म लगानी गर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment