Comments Add Comment

चीन-पाकिस्तान आर्थिक करिडोरको नयाँ रुट प्रस्ताव

चिनियाँ राजदूतले अगाडि सारे नेपालबाट अर्को रुट

New Delhi: Chinese Ambassador to India Luo Zhaohui during an interview with the PTI in New Delhi on Tuesday. PTI Photo by Kamal Singh(STORY DEL 55)(PTI7_4_2017_000187B)

३ मंसिर, नयाँदिल्ली । भारतका लागि चिनियाँ राजदूत लुओ चाओन्हुइले चीन-पाकिस्तान आर्थिक करिडोर (सीपीईसी)मा भारतीय चासो सम्बोधन गर्न अर्को रुटको प्रस्ताव गरेका छन् ।

पाकिस्तान अधिनस्थ कश्मीर हुँदै अगाडि बढ्ने उक्त करिडोरप्रति भारतले आपत्ति जनाउँदै आएको छ । नयाँदिल्लीस्थित जवाहरलाल नेहरु विश्वबिद्यालयमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत लुओले भने, ‘नेपाल, जम्मु-कश्मीर या नाथुला पासबाट अर्को करिडोर निर्माण गर्न सकिन्छ, जसबाट भारतीय चासो सम्बोधन हुन सक्छ ।’

आफ्नै कार्यकालमा चीन र भारतबीच द्विपक्षीय मैत्री तथा व्यापार सन्धि गराउन आफू प्रयासरत रहेको पनि राजदूत लुओले बताए ।

दुवैतर्फका अपेक्षाहरुबारे उनले विस्तृत प्रस्तुती दिएका थिए । बेइजिङको मुख्य चासो दलाई लामाको भारतमा उपस्थिति र उनका गतिविधिमा केन्दि्रत रहेको उनले स्पष्ट पारे । यस्तै, नयाँदिल्लीले बेइजिङसँग सीपीईसी र आतंककारी संगठन जैस-ए-मोहम्मद प्रमुख मसुद अजहरबारे चासो देखाउँदै आएको राजदूत लुओले स्पष्ट पारे ।

दुवैतर्फका चासो सम्बोधन गर्न द्विपक्षीय संवादको विकल्प नरहेको पनि औंल्याए ।

‘अमेरिकामा डोनाल्ड ट्रम्प सत्तामा आएपछि विश्व राजनीतिको परिदृष्य फेरिएको छ,’ उनले भने । ट्रम्पको बेइजिङ भ्रमणपछि चीन अमेरिकाको विश्वसनीय साझेदार रहेको स्पष्ट भएको पनि प्रस्ट्याए ।

‘राष्ट्रपति ट्रम्पले आफ्नो भ्रमण क्रममा दुई खर्ब ५० अर्ब अमेरिकी डलरबराबरको व्यापार सम्झौता गर्नु भएको छ, यदि चीन अमेरिकाका लागि खतरा थियो भने यो कसरी सम्भव हुन्थ्यो,’ राजदूत लुओले प्रष्ट पारे ।

उदीयमान आर्थिक शक्ति भएकाले चीन र भारतबीच समन्वयमा उनले जोड दिए । र, दुवै पक्ष समन्वयको फराकिलो सम्भावनामा प्रवेश गर्नुपर्ने औंल्याए । ‘नयाँदिल्लीमा तुवाँलोले ढाकेको छ र बेइजिङमा पनि,’ उनले भने, ‘प्रदुषणको व्यापकता नियन्त्रणमा लिन दुवै पक्षले मिलेर काम गर्नु आवश्यक छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment