Comments Add Comment

सप्तरीको चुनावः मधेसी दलका लागि प्रतिष्ठाको लडाइँ

१७ मंसिर, सप्तरी । २०६३ साल माघ ५ गतेदेखि प्रारम्भ भएको मधेस आन्दोलनलगत्तै भएको पहिलो संविधानभाको निर्वाचनमा सप्तरीको तत्कालिन ६ वटा निर्वाचन क्षेत्रमध्ये पाँच वटामा मधेसवादी दलले निर्वाचन जित्यो । एक क्षेत्रमा स्वतन्त्र उम्मेखवार विजयी बने ।

तर, २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा मधेसवादी दल जिल्लामा शून्य भयो । अर्थात् एक वटा पनि सिट जित्न पाएनन् ।

यद्यपि मधेस आन्दोलनका कारण जिल्लामा मधेसी दलकै बोलबाला रह्यो । २०७२ सालदेखि २०७३ फागुनको मलेठ घटनासम्ममा ११ जनाले ज्यान गुमाएका छन् । मलेठ घटनासम्म आएर आन्दोलन टुँगिदा सप्तरी मधेसी जिल्लाको गढजस्तै पनि बन्यो ।

मलेठ घटनाताका सम्पूर्ण मधेसको ध्यान सप्तरीमा जानु र ६ वटा मधेसवादी दल सप्तरीबाटै मिल्ने योजना बनाउनुले जिल्लामा मधेसवादी दलको दबदबा देखिएको छ । यो दबदबाकै कारण आगामी निर्वाचनमा जसरी पनि सबै क्षेत्रमा जित्नैपर्ने दबाव पनि छ उनीहरुमाथि ।

२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा एक्लै-एक्लै लडेका कारण पराजित हुनुपरेको मधेसी पार्टीबाटै चर्चा नभएको होइन् । तर, हालै भएको स्थानीय तहको निर्वाचनमा पनि एक्लै-एक्लै लड्दा धेरै ठाउँमा सिट गुमाउनुपरेको संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बताएका छन् ।

अब फोरम र राजपाको गठबन्धन समेत बनिसकेपछि के होला त मधेशवादीको अवस्था ?

यो प्रश्नको उत्तर खोज्दै मधेसवादी दल प्रतिनिधि र प्रदेशसभाको निर्वाचनलाई प्रतिष्ठाको लडाइँ बनाएका छन् । चार वटै प्रतिनिधिसभा र ८ वटै प्रदेशसभाको सिट आफ्नो पक्षमा पार्नका लागि पुरै शक्ति लगाएका छन् । ‘जिल्लाको सबै क्षेत्रमा विजय प्राप्त गर्नका लागि लागिपरेका छौं’ मधेसी गठबन्धनका युवा नेता किशोरकुमार यादव ‘केसी’ले भने, “जनताले जिताउनेमा आशावादी छौं ।’

हुन त स्थानीय चुनावले दोस्रो संविधानसभा निर्वाचनलाई बिर्साएको छ । स्थानीय तहको निर्वाचनमा जिल्लाको कुल १८ स्थानीय तहमध्ये १० वटा मधेसी दलले जितेका छन् । ‘यो जितले हामी उत्साहित छौं’ यादवले भने, ‘जनताले अबको चुनावमा त्योभन्दा राम्रो परिणाम दिनेमा हामी ढुक्क छौं ।’

स्थानीय तहको निर्वाचनमा छुट्टाछुट्टै लड्दा राजपा र फोरम नेपालले ५/५ वटा सिट जितेको थियो । तर, अब गठबन्धन बनाएर लड्दा परिणाम सकारात्मक आउने विश्वास मधेशवादी दलको छ ।

स्थानीय तहकै नतिजालाई हेरेर संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसहित कतिपय केन्द्रीय नेता यही जिल्लाबाट प्रतिस्पर्धा गरिरहेका छन् । राजपाका उपाध्यक्ष नवलकिशोर साह, महासचिव मनिष सुमन र राजकुमार लेखी यसै जिल्लाबाट निर्वाचन लडेका छन् ।

यद्यपि राजपा उपाध्यक्ष साह र महासचिव लेखीबाहेक उपेन्द्र यादव र मनिष सुमनलाई बागीको सामना गर्नु परेको छ । उपेन्द्र यादवबिरुद्व जयप्रकाश ठाकुर, सुमनबिरुद्व राजपाकै नेता लक्ष्मण यादवले उम्मेदवारी दिएका छन् ।

बागीले कुनै असर नपार्ने गठबन्धनको दाबी छ । फोरमका जिल्ला अध्यक्ष दिनेश यादव मधेशी दल मात्रै अधिकारका लागि लडेकाले जनताले मधेसी जनतालाई मत दिने बताउँछन् ।

उनी भन्छन्, ‘मधेसी जनताले सबैलाई चिनिसकेका छन् । अधिकार दिलाउने सवालमा मधेसी गठबन्धनबाहेक कसैले पहल नगर्ने भएकाले जनताले भारी मतले जिताउँछन् ।”

राजपाका अध्यक्ष मण्डलका संयोजक सुनिल झा पनि कसैले कुनै आश्वासन देखाएपनि जनता मधेसी दललाई नै जिताउने विश्वास व्यक्त गर्छन् । उनी अहिले गठबन्धनका नेताहरुको ध्येय नै चुनाव जित्ने रहेकाले एकले अर्कालाई सहयोग गर्दै अघि बढिरहेको बताए ।

चुनाव जित्नका निम्ति अहिले सबै तहका कार्यकर्तालाई मधेशी गठबन्धनले परिचालन गरेको छ ।

खासगरी मधेश आन्दोलनका क्रममा लिइएका भिडियो देखाएरै पनि भोट मागिरहेका छन् । यसबाहेक उपेन्द्र यादव, मनिष सुमनसहितका नेताले मधेसी गठबन्धनलाई मत नदिए संविधान संशोधन हुन नसक्ने, विकास हुन नसक्ने भन्दै गठबन्धनलाई मत दिन जनताहरुसँग आग्रह गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment